|

काठमाडौं : सूचना प्रविधि तथा अाउट साेर्सिङमा ८५ हजार थप राेजगारी सिर्जना हुने अध्ययन प्रतिवेदनले देखाएकाे छ। सूचना प्रविधिको क्षेत्रमा रोजगारीका अवसरहरूको अध्ययनका लागि गठित कार्यदलले अाइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाएकाे हाे।

प्रतिवेदनअनुसार  हाल करिव १४ हजार ५०० जनशक्ति सूचना प्रविधिको क्षेत्रमा कार्यरत छन्। अहिले देखिएका समस्या समाधान भएमा र थप उपयाेग गरिरहेमा ८५ हजार रोजगारी सिर्जना हुन सक्ने आँकडा प्रस्तुत गरिएको छ।

सूचना प्रविधिको क्षेत्रमा ठूलो संख्याको रोजगारी सिर्जना गर्न सकिने अवस्था रहेकामा त्यसको विस्तृत अध्ययन गरी सुझाव पेस गर्न गत साउन ९ गते मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोजकत्वमा एक कार्यदल गठन गरेकाे थियाे। उक्त कार्यदलले सूचना प्रविधि र विजनेस प्रोसेस आउट सोर्सिङका क्षेत्रमा रोजगारीका अवसरहरूको प्रतिवेदन तयार गरेकाे हाे। 

उक्त प्रतिवेदनमा सूचना प्रविधिका क्षेत्रमा रोजगारी सिर्जना गर्नेसम्बन्धमा हालका नीतिगत तथा संस्थागत व्यवस्थाको अध्ययन, रोजगारी सिर्जनामा रहेका मुख्य समस्याहरू, रोजगारीका सम्भावित अवसरहरू र रोजगारी सिर्जनाका लागि सुझावहरू समेटिएको छ।

अहिले नेपालमा एक हजार बढी दर्ता गरिएका सूचना प्रविधि कम्पनी रहेकाे उल्ख गरिएकाे छ। अध्ययन समितले सूचना प्रविधिलाई थप फस्टाउन दिन र राेजगारी सिर्जना गर्नका लागि १० वर्ष करमा छुट दिनुपर्नेलगायतका सुझाव दिएकाे छ।

प्रतिवेदन बुझ्ने क्रममा मन्त्री विष्टले यास क्षेत्रमा रोजगारी सिर्जनाको ठूलो संभावना रहेकाले त्यसतर्फ मन्त्रालयको ध्यान केन्द्रित रहेकाे बताए। उनले सरकारले देशभित्र विभिन्न क्षेत्रमा अधिकाधिक रोजगारी सिर्जनाका लागि प्रतिबद्ध भई तयारी गरिरहेको बताए।

सरकारले पाँच वर्षभित्र कामका लागि विदेश जानु नपर्ने वातावरण तयार गर्ने प्रतिवद्धता जनाएकाे छ। यसै वर्षबाट संविधानमा उल्लेखित माैलिक हकअन्तर्गत राेजगारी नपाउने नागरिकका लागि जीवन निर्वाह भत्ता दिने तयारी सरकारकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.