|

दमक(झापा) : पूर्वको पर्यटकीयस्थलका रुपमा परिचित झापाको सतासीधाम धार्मिक स्थलमा केन्द्रीय विद्युत प्रशारण लाइन पुगेको छ। विद्युत सेवाको आइतबार उद्घाटन गरिएको हो। 

शिवसताक्षी नगरपालिका ११ मा पर्ने सतासीधाम मन्दिर परिसरमा भएको कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा, जिल्ला र नगरका जिम्मेवार पदाधिकारीको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको हो। जडित विजुलीको झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सदस्य एलपी साँवा, प्रदेशसभा सदस्यहरू झलकसिंह दर्लामी, हिरा थापा, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका हुन्। 

नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तगर्त ती क्षेत्रमा विजुली सञ्चालनमा ल्याइएको हो। उर्जा मन्त्रालयबाट प्राप्त २७ लाखको लागतमा हालै सतासीधाममा विजुली जडान गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले जानकारी दिएको छ। शिवसताक्षी नगरपालिका ११ मा अवस्थित सतासीधाम तीर्थस्लथमा हालसम्म विजुली पुगेको थिएन। 

विजुली नहुँदा त्यस क्षेत्रमा साँझपख तीर्थालु समस्यामा पर्दै आएका स्थानीयले बताएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत रहेको झिलझिले चाेकदेखि साढे ५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने सतासीधाममा विजुली पुगेपछि स्थानीय बासिन्दा र तीर्थालु समेत हर्षित भएका छन्। विद्युत विस्तारले झापाको परिचित पर्यटकीयस्थल शिवसतासीधामको थप विकास हुने स्थानीय बासिन्दाले बताएका छन्।

पर्यटन प्रवर्द्धनमा जोड

झापाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको सतासीधामको थप प्रवर्द्ध नका लागि पर्यटन प्रवद्र्धनको खाँचो रहेको वक्ताहरुले औंल्याए। सांसद साँवाले शिवसातासी धामदेखि गाउँ जोड्ने सडक, सतासी र दूधे खोलाको संगममा जल कुण्ड, सतासीधामदेखि दोमुखासम्म बाटो र सो क्षेत्रभित्र फाल्गुनन्द पार्क, मुक्तिनाथ धाम लगायतका पर्यटकीय आकर्षणकास्थल निर्माणमा योजना अघि सार्न स्थानीय निकायलाई आग्रह गरे। 

सांसद साँवाले स्थानीय निकायबाट पर्यटकीय क्षेत्रको लागि योजना ल्याए साधान स्रोत जुटाउँन आफू तयार रहेको बताए। कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामीले विकासका लागि ऐतिहासिक महत्व बोकेको सतासीधामको क्षेत्रको मात्र विकास नभई झापाको पर्यटकीय क्षेत्रको विकास भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.