|

भक्तपुर : सरकारले परिकल्पना गरेको सुखी र समृद्धि नेपालको अभियानलाई सफल पार्न नागरिक समाज र स्थानीय सरकार बीचको सहकार्य अत्यावश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

आइतबार भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)ले आयोजना गरेको ‘वर्तमान परिप्रेक्षमा नागरिक समाज तथा स्थानीय सरकार बीचको सहकार्यका अवसर र चुनौती’ विषयक कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन्। कार्यक्रममा पूर्वउद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले अहिले राज्यलाई एकदमै बलियो र सशक्त बनाउँने बेला आएको बताए।

‘देशलाई कमजोर बनाउन केही देशी र विदेशी शक्तिहरू सक्रिय छन्, त्यसलाई केही मिडियाले साथ दिइरहेका छन्, नेपाली टोपी लाएर मधेश जान डराउँने बेला आएको छ, जनतालाई फुटाउने र भ्रम फैलाएर फेरि अशान्ति फैलाउन केही तत्त्व सक्रिय छन्, यस्तो बेलामा राज्यलाई एकदमै बलियो र शसक्त बनाउनुपर्छ’ उनले भने।

केही तत्त्व मधेश फुटाउँने षड्यन्त्रमा लागेको र मधेशलाई पहाडियाविरुद्ध भड्काउँने प्रयास भइरहेको बताउँदै उनले भने, ‘विदेशी तत्त्वहरूसँग साँठगाँठ गरेर देशलाई विखण्डनमा पुर्‍याई विखण्डनकारी तत्त्वहरू सक्रिय भइरहँदा राज्य निरीह बन्नुपर्ने अवस्था सृजना गरिदैछ, देशमा फेरि आतंकवाद भित्र्याउँन खोजिँदैछ, यस्तो अवस्थामा सबै मिलेर आतंकवादलाई जरैदेखि उखेल्ने र विधिको शासनलाई व्यवस्थित बनाउन सबै लाग्नु पर्नेछ।’

सिके राउत मधेश टुक्राउँने षड्यन्त्रमा लागेको जिकिर गर्दै पहाडी मूलकाले मदेशमूलकालाई शोषण गरेको भ्रम फैलाउने र टुक्राउने षड्यन्त्र भइरहेको बताए। उनले भने 'पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउनुपर्छ, चालकले जथाभावी मान्छे मार्न पाउनुपर्छ, टयांकर चालकले तेल चोर्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने गरेका छन्।’

प्रतिनिधिसभाका सदस्य बस्नेतले जनताले आफ्नो माग सहज ढंगले पुर्‍याउँन स्थानीय सरकार नै भएकाले स्थानीय सरकार र नागरिक समाजको सहकार्य भएमा जस्तोसुकै चुनौतीलाई पनि अवसरका रूपमा लैजान सकिने बताए। उनले विगतको जस्तो नभई अब नयाँ ढंगले विकासलाई लैजानु पर्नेमा जोड दिदै विकासको पद्धतिलाई सुधार्दै लैजानु पर्ने भनाई राख्दै विकासको नाममा हुने आर्थिक अराजकतालई रोक्नु पर्ने औँल्याए। उनले भक्तपुरलाई अब सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर, अपराध मुक्त भक्तपुर बनाउने अभियान साकार पार्नुपर्ने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवरले जिल्ला समन्वय समितिलाई भूमिकाविहीन बनाउँदा स्थानीय सरकारहरू बीच समन्वयमा कठिनाइ आएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.