|

विराटनगर : उद्योगी विकास चौधरीले मोरङको बुढीगंगा गाउँपालिका-३ बाँसवारीमा सञ्चालन गरेको ‘हाइलाइफ’ चप्पल उद्योगमा श्रमशोषण हुने गरेको पाइएको छ। करिब २०० जना मजदुर कार्यरत रहेको उद्योगमा वर्षौदेखि श्रमशोषण हुने गरेको अनुगमनको क्रममा फेला परेको हो।

श्रम कार्यालय विराटनगर र ट्रेड यूनियनहरूले आइतबार गरेको अनुगमनमा उद्योगले श्रमिकलाई न्युनतम् वेतन नदिएको र श्रम सम्झौतासमेत नगराई काममा लगाएको पाइएको हो। उद्योगमा अनुगमन टोली आएको थाहा पाएपछि मेनेजर कैशाल मण्डलले श्रमिकलाई आफ्नो पोल खोल्न सक्ने भन्दै एउटा कोठामा थुनेर राखेका थिए। श्रमशोषण गरेको पोल खुल्ने डरले करिब ५० श्रमिकलाई कोठामा थुनेर राखेको पाइएको अनुगमनमा सहभागी नेपाल समाजवादी ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले बताए।

उद्योगले वर्षौदेखि श्रमशोषण गरेको विषय सार्वजनिक हुने त्रासले मजदुरलाई थुनेको थियो। उद्योगले श्रमिकहरूको व्यापक रुपमा शोषण गर्ने गरेको फेला परेको श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले बताए। अनुगमन टोलीले उद्योगका मेनेजरसँग उद्योगमा कार्यरत कर्मचारीहरूको हाजिर खाता र तलवी भर्पाइसमेत लिएको छ। 

मजदुरले काम गरेको ५ वर्षदेखि ६ वर्षसम्म पुगेको भए पनि उद्योगले प्रतिघण्टाको ३० रुपैयाँको दरले मात्रै पारिश्रमिक दिने गरेको पाइएको छ। श्रमिकहरूको व्यापक रुपमा श्रमशोषण गर्ने गरेको फेला परेको भन्दै कारबाहीका लागि आवश्यक प्रक्रिया सुरु गरिने श्रम कार्यालयले जनाएको छ। उद्योगले ठेकेदार खडा गरेर मजदुरलाई काममा लगाएको पाइएको छ। 

गत वर्ष साउन २९ गते सामाजिक सुरक्षा ऐन २०७४ र भदौ १९ गते श्रम ऐन २०७४ जारी भएको थियो। श्रम ऐनको दफा (५२) मा सञ्यकोष, दफा (५३) उपदान, दफा(५४) औषधि उपचार खर्च, दफा (५५) मा दुर्घटना बिमा र दफा (१० र ११) मा रोजगार सम्झौताको स्पष्ट प्रावधान उल्लेख छ। तर हाइलाइफ उद्योगले यी कुनै पनि कुरा कार्यान्वयन नगरेको फेला परेको हो। 

अनुगमन टोलीले १५ दिनभित्र सबै समस्याको हल गर्न निर्देशन दिएको छ। श्रम ऐनले तोके जति तलब नदिए उद्योग नै बन्द गर्ने चेतावनी गोपले दिए। अनुगमनमा नेपाल समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्ण, जिफन्ट नेपालका प्रदेश अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश उपाध्यक्ष उपेन्द्र राय र नेपाल ट्रेड यूनियन मोरङका अध्यक्ष शुशिल कोइरालको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.