|
फाइल फोटो

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ। ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन्।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर लामो सडक भासिएको हो। सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो। करीब २० सेन्टिरमिटर भासिएको छ। सडक विस्तार गर्दा छेउपट्टीबाट पर्खाल लगाइएको थियो। फेदबाट त्रिशूलीको बहाबले धक्का दिइरहेकाले भासिनुका कारण थाहा हुन सकेको छैन।

सोही सडकको १७ किलोमा ४० मिटर भासिएको छ। सो ठाउँमा विसं २०६० मा ‘स्वायल रक एङ्करिङ्ग’ गरिएको थियो। एङ्करिङ्गले काम गर्न छाडेपछि भासिएको अनुमान गरिएको छ। सडक छ मिटर चौडाइ र दुई मिटर गहिराइ भासिएको छ। वर्षात्को समय भएकाले अहिले नै के गर्ने भन्ने विषयमा निर्णय लिन नसकिएको बिसुरालले बताए।

नारायणगढबाट आठ किलोमिटरको दूरीमा रहेको भतेरीमा ५० मिटर सडक भासिएको छ। सो ठाउँमा एक दशमलब पाँच मिटर चौडा सडक भासिएको छ। ‘ग्याभिनवाल’ लगाएर सडक विस्तार गरिएको थियो। पर्खालसमेत लच्किएर बसेको छ। माटो भरेका कारण पुनः तलबाटै बनाउनु पर्ने सुझाव प्राविधिकले दिएका छन्। तीनवटै ठाउँमा ठेकेदार कम्पनीको बीमा हुने भएकाले काम सुरु भएको छैन।

परामर्शदाता कम्पनीका विज्ञ समूहले सडक भासिनुका कारण अध्ययन गरिरहेको बिसुरालले बताए। सडक निर्माणको कार्य हालै सम्पन्न भए पनि एक वर्षसम्म बिग्रे भत्केमा निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ।

सो सडकलाई तीन भागमा विभाजन गरेर ठेक्का दिइएको थियो। तीनवटै ठेकेदार कम्पनीका क्षेत्रमा सडक भासिएको हो। ती ठाउँ र भासिएका ठाउँमा एकतर्फी मात्रै सवारी गुडेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.