देशैभर सरकारविरुद्ध दबाव र्‍याली

|

काठमाडौं : पछिल्लो समयमा बढ्दै गएको महिला तथा बालिका बलात्कार घटनाका पीडितले न्याय नपाएको भन्दै आइतबार देशका विभिन्न जिल्लामा दबाव र्‍याली निकालिएको छ। देशमा महिला तथा बालिकामाथि बलात्कारका घटना बढ्दै गएको तर पीडितले न्याय नपाए र प्रहरी प्रशासनले यस्ता घटनामा गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै विभिन्न जिल्लाका अधिकारकर्मीले विरोध स्वरूप दबाव र्‍याली निकालेका हुन्।

यसैक्रमा सिन्धुलीको सिन्धुलीमाढीमा पनि अधिकारकर्मीले पीडकलाई कानुनी दायरमा ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। महिला मानवअधिकार रक्षक संजाल सिन्धुली र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीले उक्त र्‍यालीको आयोजना गरेका हाे। सिन्धुलीको बुद्धनगर चोकबाट सुरु भएको र्‍याली सिन्धुलीमाढी बजार, बसपार्क हुँदै शान्तिनगर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

मौन रुपमा गरिएको उक्त र्‍यालीमा सहभागीले बलात्कार हुने समाज सभ्य समाज हुन सक्दैन, सरकार देखाऊ इच्छा खै त महिलाको सुरक्षा? बलात्कारीलाई संरक्षण कहिलेसम्म?, मैले कहिले न्याय पाउँछु?, चुप लागेर नबसौँ न्याय मर्न नदिऊँ, स्टप रेप जस्ता नारासहितका प्रिन्ट कार्डहरू बोकेर सहभागिता जनाएका थिए।

र्‍यालीपछि गरिएको कोणसभालाई सम्बोधन गर्दै जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीका संयोजक द्वारिका काफ्लेले सिन्धुलीसहित देशभर मानव अधिकार हननका घटना बढेको र बलात्कारजन्य अपराधमा पीडितले न्याय पाउन नसकेको बताए।

कोणसभालाई सम्बोधन गर्दै अन्य सहभागीहरूले राज्यले पीडितलाई कानुनबमोजिम न्याय दिनु पर्नेमा जोड दिएका थिए। साथै उनीहरूले पछिल्लो समयमा १८ वर्ष मुनिका बालिका बलात्कारमा अत्याधिक पर्ने गरेको र उचित न्याय पाउन नसकेको भन्दै सरकारले यसको निराकरण गर्ने तर्फ गम्भीर हुन अाह्वान गरे।

जिल्लामा क्रियाशील मानवअधिकार तथा महिला तथा बालबालिका अधिकारका सवालमा काम गर्ने निकायका व्यक्तिहरूको प्रत्यक्ष सहभागितामा भएको दबाव र्‍यालीसँगै सञ्जालले हस्ताक्षर संकलनसमेत गरेको छ। संकलित हस्ताक्षर समय मिलाएर प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई बुझाइने आयोजकले जनाएको छ।

हत्यारालाई कारबाहीको माग गर्दै संखुवासभामा पनि प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका  हत्यारालाई कारबाहीको माग गर्दै नेपाल महिला संघ संखुवासभाले पनि विरोध प्रदर्शन गरेको छ। पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बित्न लाग्दासमेत हत्यारालाई प्रक्राउ गर्ने नसक्नु लज्जास्पद भएको  बताउँदै उनीहरूले सरकारलाई दबाव दिन विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले वर्तमान सरकार हत्यारालाई कारबाही गर्नुको सट्टा बलात्कारी जोगाउन लागेको भन्दै सरकारीविरुद्ध चर्को नारावाजी गरेका थिए। प्रदर्शनकारीले  कञ्चनपुर घटनाका अपराधीलाई  मृत्यु दण्डको  मागसमेत गरेका छन्।  हत्यारालाई  पक्राउ गरी कारबाही गर्ने नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामासमेत मागेका छन्। 

प्रदर्शनकारीले सरकारविरुद्ध चर्का नारा लगाउँदै पोखरी बजार, देवकोटा चोक हुँदै नयाँ बजार पगेपछि कोणसभामा परिणत भएको थियो। दिनानुदिन बलात्कार, हत्या, हिंसा, अराजकता, आकाशिदो महँगी, प्रेसमाथिको आक्रमण बढ्नुले सरकारको आयु घटेको समेत बताए। 

प्रदर्शनकारीले हत्यारालाई कारबाहीको माग गर्दे संखुवासभाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।

सल्यानमा पनि प्रदर्शन

निर्मलाका हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै नेपाल महिला संघ सल्यानले पनि आइतबार र्‍यालीसहितको विरोध प्रदर्शन गरेको छ। पन्तको बलात्कार गरी हत्या गरेको दुई महिना पुग्नलाग्दा पनि दोषी पत्ता गलाउन नसकेको भन्दै नेपाल महिला संघले खलंगामा विरोध प्रदर्शन गरेका थिए।

यसैबीच नेपाल महिला संघ सल्यानले निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानमार्फत् प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारी कमलराज ढकालमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो। पन्तको हत्यारा पत्ता लगाउनुको साटो हत्यारालाई बचाउन अभियानमा सिंगो राज्य नै लागेको र एउटा देशको सरकार नै अपराधीको संरक्षणमा जुटेपछि नागरिकले न्याय पाउन नसक्ने ज्ञापनपत्रमा भनिएको छ।

प्रदर्शनकारीले दुई तिहाईको आडमा बनेको सरकारले कालो बजारी, भ्रष्टहरूको साथमा मिलेर नाटक मन्चन गरिरहेको र पाँच महिनाको अवधिमा पटक-पटक पेट्रोलिय पदार्थ र  दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढाएर गरीब निमुखा जनताको ढाड सेक्न व्यस्त रहेको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.