|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दृश्य÷अदृश्य रूपमा छ नेता वरिपरिका गुट सतहमा देखिएका छन्। त्यसभित्र पनि अन्य उपगुट उत्तिकै छन्। प्रारम्भमा पूर्वघटकका अलग समूह र गुट देखिनु स्वाभाविक हो। तर पूर्वघटकभित्रैका पुराना गुटले एकतापछि समेत निरन्तरता पाइरहेका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गुट सबैभन्दा बढी बलियो छ। उनको गुटका नेताका अरुका तुलनामा एकढिक्का छन्। महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुवास नेम्बाङ, शंकर पोखरेल, प्रदीप ज्ञावाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू ओली ‘क्याम्प’का सारथि छन्।

सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी २८ पदाधिकारीमध्ये ओली पक्षका १० नेताले जिम्मेवारी पाएका छन्। यस हिसाबले पनि ओली पार्टीमा हाबी छन्।

ओलीपछि बलियो गुट छ, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को। तत्कालीन माओवादीका बहुमत नेताहरू उनीसँगै छन्। स्थायी समिति सदस्यहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, चक्रपाणि खनाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितराज पाण्डेलगायत नेता दाहाल वरिपरि छन्। दाहालको गुटभित्र पनि वर्षमान र जर्नादनका उपगुट शक्तिशाली रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

शक्ति अभ्यासमा माओवादी समूहभित्र खुल्ला रूपमै यी दुई नेताले अलग–अलग समूह चलाएका छन्। प्रदेश इन्चार्ज तथा पदाधिकारी चयन प्रक्रियामा अहिले दाहाल खेमाभित्र पनि वर्षमान पुन हाबी भएको चर्चा छ। प्रदेश कमिटी पदाधिकारीमा दाहाल पक्षका ८ नेताले जिम्मेवारी पाएका छन्।

तत्कालीन एमाले खेमाभित्र वरिष्ठ नेता माधव नेपालको अलग्गै गुट छ। पूर्वघटकभित्र बहुमत जिल्ला (४७ जिल्ला अध्यक्ष) को नेतृत्व यो समूहको थियो। स्थायी समिति सदस्य भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, लालबाबु पण्डित, जगन्नाथ खतिवडा, राजेन्द्र राईलगायत नेताहरू नेपाल ‘क्याम्प’मा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.