|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या घटेको छ। गत माघमा क्यामेरा ट्रयापिङको सहायताले गरिएको गणनामा पाटेबाघको संख्या १६ रहेको पाइएको छ।

आइतवार सार्वजनिक गणनाअनुसार पाटेबाघको संख्या गत वर्षको तुलनामा घटेको पाइएको छ। सन् २०१७ मा निकुञ्जमा १७ वटा वयस्क पाटेबाघ फेला परेका थिए।

क्यामेरा ट्रयापिङमा १६ वटा पाटेबाघको तस्वीर फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरे बताए। उनले भने, ‘संख्या घटेको देखिए पनि औषतमा पाटेबाघको संख्या १५ देखि २१ को हाराहारीमा रहेको छ।’ क्यामेरा ट्रयापिङमा परेका पाटेबाघमा नौ भाले र छ वटा पोथी रहेको उनले बताए।

भाले बढी हुँदा प्रजननका लागि पोथीलाई तयार गर्न डमरुलाई मार्ने, भालेभालेबीच संघर्ष हुने र निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्ने भएकाले बाघले सीमा वारपार गर्ने भएकाले पनि संख्या घटेको हुन सक्ने उनको भनाइ रहेको छ।

निकुञ्जमा पाटेबाघको चोरी शिकारी भएको निकुञ्जसँग कुनै रेकर्ड छैन। गत जेठमा निकुञ्जमा एउटा पोथी पाटेबाघे र दुई वटा डमरु मृत फेला परेका थिए।

कुल पाँच हजार ५०० किलोमिटर क्षेत्रभित्र बाघ गणना गरिएको हो। प्रत्येक पाँच वर्षमा गरिने गणनामा सन् २००९ मा १० र सन् २०१३ मा १७ वटा पाटेबाघ रहेको तथ्यांक छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् १९७४ देखि मात्रै बाघ संरक्षणको कार्य गरिँदै आइएको हो। बाघ गणनाको कार्य भने सन् १९९९ देखि निरन्तर रुपमा प्रतिवर्ष हुँदै आएको छ।  निकुञ्जको ३०५ वर्ग किलोमिटर क्षेत्र पाटेबाघको मुख्य वासस्थानका रुपमा रहेको छ। सन २०१० मा रसियाको सेन्टपिर्सवर्गमा भएको बाघ सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा नेपालले सन २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.