|

नवलपरासी : पश्चिम नवलपरासीमा गढेको धन निकाल्ने भन्दै खाडल खनि पूजा गरिरहेका प्रतापपुर ३ अमवामा रहेको गोल्डेन लाइफ इङ्गलिस स्कुल का संचालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्मासहित ५ जनालाई इलाका प्रहरी कार्यालय सेमरीले पक्राउ गरेको छ।

प्रतापुर गाउपालिका –३ धनेबा खोला नजिकै  शनिवारराति १० बजेतिर पिपलको बोटमा पुजागरेको  र त्यसको ५०० मिटर टाढा  खोलाको छेउमा खाडल खन्दै गरेको माछा मार्न गएका स्थानीयले देखेपछि  इलाका प्रहरी कार्यालय सेमरीमा खबर गरेका थिए। प्रहरीराति  १ बजेर ३० मिनेटमा सो स्थानमा पुग्दा बलिरहेको बत्ति, माटोको भाडामा खिर पकाएको, सानो खराउ र खाडल खन्न प्रयोग गरिएको फरुवा रहेको जनाएको छ। प्रहरी आएपछि पुजामा रहेका  ५ जना मध्ये प्रिन्सिपल हरेन्द्र बडै शर्मा र भानु मुसहर भागेका थिए भने प्रतापुर ३ का ५५ वर्षीय ठगईप्रसाद मुसहर, उनका छोरा १८ वर्षीय बलिराम मुसहर र गुल्मी जिल्ला अर्बाैनी घर भई हाल सुनवल नगरपालिका १२ भूमहिमा बस्दै आएका ३२ वर्षीय तिलक भट्टराईलाई सोही स्थानबाट पक्रउ गरिको इलाका सेमरीले जनाएको छ।  

प्रहरीले आइतबार बिहान प्रिन्सिपल हरेन्द्र बडै र भानु मुसहरलाई घरबाटै पक्राउ गरी पुजा कार्यमा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा चलान गरेको छ। प्रिन्सिपल बडैले यस अघि पनि विद्यालय प्राङ्गणमा गहिरो खाल्डो खनेर पुजा गरी महिलालाई बलि दिन लागेको आरोप लागेको थियो। असोज २ गते देखि पाल्हिनन्दन गाउपालिका–१ शंकरपुरका १२ वर्षीय बालक रोहित चौधरी हराइरहेको समयमा बडैले खाडल खनेर पहिले झैं पुजा गरेको देखेपछि गाउलेहरु ससंकित भएका हुन्।

साइकलमा साथीको घरमा गएको भनिएका रोहितको अहिले सम्म कुनै अत्तो पत्तो पाईएको छैन्। स्थानियले ५ महिना अघि गत जेठ १८ गते विद्यालय प्राङ्गणमै रातको समयमा विशेष पुजा लगाउदा महिलाको बलिदिने प्रयास भएको भन्ने आरोप लागेकोले पुजा पुरा गर्न अहिले दोश्रो पटक प्रयास गरेको हुनसक्ने बताएका छन्। गत जेठ महिनामा भएको घटनामा बलि दिन लागिएको भनिएकी प्रतापपुर ३ अमवाकी फुलमति मुसहरले आफुलाई बलि दिने प्रयास गरिएको भन्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। प्रहरीले घटनालाई गम्भिर रुपमा नलिएको र मिलापत्रमै टुंगाएकोले पनि दोश्रो पटक उस्तै प्रकृतिको घटना भएको स्थानियको भनाइ छ। 

हराइरहेको छोरो घरमा फर्किन्छकी भन्ने आसमा रहेको बाबु आमा अहिले निकै अतालिएका छन्। गत जेठ महिनामा भएको घटना र अहिले भएको घटनाको प्रकृति उस्तै भएकोले छोराको खोजी कार्यमा सहयोग गरिदिन भन्दै आइतबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा निवेदन दिएका छन्। घटनापछि प्रहरीले बालकको खोजी कार्यका लागि तिब्रता दिएको छ। 

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सम्बन्धित ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेकोले दोषी ठहर भए कडा भन्दा कडा कारबाही हुने बताएका छन्। घटनाको विषयमा गम्भिर रुपमा अनुसन्धान अगाडी बढाइएकोले सत्य तथ्य पत्ता लाग्ने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए। 

शिक्षा क्षेत्रका ब्यक्तिले नै अन्धविश्वासको पछि लागेर विशेष पुजाको नाममा शंकास्पद तरिकाले पुजा आजा गर्दा गाउबासीमा त्रास फैलिएको स्थानियको भनाइ छ। बालबालिकाहरु घर बाहिर पठाउन पनि आफुहरुलाई डर लागिरहेको एक स्थानियले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.