थाहा संवाद

'होटलले नयाँ स्वाद दिनुपर्छ'
SHARES

असोज ८, २०७५

    बागलुङ : देशमा संघीय संरचना लागू भएपछि जिल्लाको सदरमुकामहरूमा रहेका बजारहरूमा प्रभाव देखिन थालेको। संघीयतासँगै स्थानीय तहमा केन्द्रित भएका सरकारी कार्यालयहरूका कारण स्थानीय तहका मुकामहरूमा बजार विस्तार भएका छन् भने जिल्ला मुकामका बजारहरूको कारोवार ह्वात्तै घटेको छ। मानिसको चहलपहल घटेका कारण जिल्ला सदरमुकाममा रहेका बजारहरू रहेका सबै व्यवसायहरूमा केही न केही रूपमा प्रभाव देखिएको छ।

    संघीयताको मारमा सबैभन्दा धेरै होटल व्यवसायीहरू परेको गुनासो सुनिन थालेको छ। जिल्लामा रहेका कार्यालयमा कामका लागि आउने सर्वसाधारणले जबर्जस्त लिने गरेको सेवाका कारण संचालनमा रहेका होटलहरू संघीयताको मर्मअनुसार आफूलाई परिवर्तन गर्न नसकेकै कारण धरासायी बनेका हुन्। गण्डकी प्रदेशमा होटल व्यवसायको अवस्था, होटल व्यवसाय र पर्यटन व्यवसायको सम्बन्ध, होटल व्यवसायमा देखिएका सुधार गर्नुपर्ने पक्ष र होटल व्यवसायीको आगामि रणनीतिको विषयमा होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालसँग थाहाखबरकर्मी तारानाथ आचार्यले गरेको कुराकानी प्रस्तुत छ।

    गण्डकी प्रदेशमा होटल व्यवसायको अवस्था कस्तो छ?

    देश संक्रमणकालबाट स्थिरतातिर लम्किएको छ तर हामी संक्रमणकालमा प्रवेश गरेका छौँ। प्रदेशभित्र रहेका ११ जिल्ला सदरमुकामहरूमा होटल व्यवसाय खस्कँदो अवस्थामा छ। तर संघीयतासँगै बनेका स्थानीय तहका मुकामहरूमा भने व्यवसायले केही गति लिएको छ। समयअनुसार चल्नुपर्ने हो तर हामीले तत्कालै देशको शासन व्यवस्थाअनुसार व्यवसायलाई स्थानान्तरण गर्नसक्ने कुरा भएन। बजारहरूमा मानिसहरूको आवतजावत निकै घटेको छ। एकातर्फ महँगीको मार, महँगिँदो घरभाडा, करको चाप र घट्दो व्यपारका कारण अहिले संचालनमा रहेका साना ठूला होटलहरू धान्न नसकिने अवस्थामा पुगेका छन्। 

    व्यवसाय धरापमा पर्नुको खास कारण के हो?

    पहिलो कुरा त हामीले जबर्जस्त व्यापारलाई मात्रै प्राथमिकतामा राख्यौँ। मानिसहरूको रोजाइ बन्न सकेनौँ। अर्को कुरा, सीमित ठाउँहरूमा केन्द्रित रहेको बजारमा हाम्रा व्यवसायहरू संचालनमा छन्। समयअनुसार स्थानान्तरण र परिवर्तन गर्न नसकेका कारण यो अवस्था आएको हो। धरासायी नै त नभनौँ तर व्यवसायमा ठूलो संकट पैदा भएको छ। यसलाई कम गर्नका लागि हामीले पहल थालिसकेका छौँ। केही वर्ष पहिला पाँच हजार रुपैयाँ व्यवसाय कर तिर्ने व्यवसायीहरूले अहिले १० हजार रुपैयाँ कर तिर्छन्। भाडा बढेको छ। खाद्य वस्तु, बिजुली, पानीलगायतको भुक्तानी गर्नुपर्ने दायित्व कायम नै छ। तर सोचेजस्तो व्यापार छैन। लाखौँ रुपैयाँ लगानी भएको व्यवसायमा मुनाफाको खोजी हुनु स्वाभाविक हो तर अहिले अधिकांश व्यवसायी मुनाफा गर्न सक्ने अवस्थामा छैनन्। व्यवसाय धरापमा परेको भन्दा पनि व्यवसायमा संकट आइलागेको हो। यो समस्या समाधान गर्न सकिन्छ भन्ने लाग्छ।

    व्यवसायीहरूले सुधार गर्नुपर्ने पक्ष केके हुन्?

    अबको भनेको जसले नयाँ कुरा दिन सक्छ, उसैको व्यवसाय सफल हुन्छ। पोखरामा दालभात पाक्ने र बागलुङमा पनि दालभात नै पाक्न थाल्यो भने त्यो मानिसहरूको रोजाइमा नपर्न सक्छ। तनहुँमा फापरको ढिँडो पाक्दा नवलपुरमा मार्सी चामल पाक्नुपर्छ, म्याग्दीमा कोदो पाक्दा गोरखाले मकैको आटो पकाउन सक्नुपर्छ। अर्को कुरा होटल रेस्टुराँहरूले आफ्नो व्यवस्थापनमा पनि सुधार गर्न आवश्यक छ। गाउँघरमा कामको थकान मेटाउन बजार झरेको एक जना व्यक्तिले होटलमा पसेपछि आराम अनुभूति गरोस्। होटलमा बसेपछि उसलाई आवश्यक सबैखाले वस्तु तथा सेवाको उपलब्धता होस्, जसका कारण उसले खर्च गर्न सकोस् र खर्च बराबरको सन्तुष्टि लिन पाओस्।  

    पर्यटन व्यवसाय र होटल व्यवसायको बीचमा कस्तो सम्बन्ध हुन्छ?

    पर्यटकहरूसँग प्रतयक्ष जोडिने व्यवसाय हो होटल व्यवसाय। आन्तरिक तथा विदेशी सबैखाले पर्यटक घुम्नका लागि जहाँजहाँ जाँदा पनि खान, बस्नका लागि आवश्यक होटल व्यवसाय पर्यटनसँग निकै नजिक छ। पर्यटन प्रवर्द्धनका लागि सरकारले योजना बनाउँदा पनि पर्यटकीय स्थानहरूको पहिचान गरेर पर्यटकको चाहनाअनुसारका होटलहरूको व्यवस्थापन गर्ने योजना बनाएको हुन्छ। तर सरकारले अहिलेसम्म पर्यटकका लागि खान, बस्न र रमाउनका लागि तोकिएका स्थानहरूलाई हेर्दा होटल व्यवसायमा पनि सरकारी सिण्डिकेट जस्तो देखिन्छ।

    हाम्रोमा घुम्न आउनेहरूलाई हामीले खाना, खाजा खुवाउँछौँ, बास बसाल्छौँ र सोही सेवाअनुसारको सेवा सुल्क लिन्छौँ र पठाउँछौँ। तर हामीले कहिल्यै पनि जाने बेला उसले लिन चाहेको वस्तु तथा उत्पादनका बारेमा सोधेका छैनौँ।

    सीमित क्षेत्र तोकेर पर्यटकीय क्षेत्र भनिएको हुन्छ। जस्तो : पोखारको लेक साइड, चितवनको सौराहा। यस्तो सोचबाट अब हामी माथि उठ्न जरुरी छ। पोखरा घुम्न आएको पर्यटकलाई गोरखामा बास बस्ने वातावरण बनाउनुपर्छ। बागलुङ घुमेर पर्यटकहरू पोखरा बास बस्न जान सकून्। त्यसका लागि पूर्वाधार तयार गर्ने जिम्मेवारी राज्यको हो। अर्को कुरा पर्यटकीय क्षेत्र र पर्यटकले रुचाउने ठाउँहरूको पहिचान गरेर उनीहरूलाई सुविधा हुनेगरी होटल व्यवसायको व्यवस्थापन गर्न जरुरी छ। 

    यहाँका अन्य उत्पादन र पर्यटनलाई होटल व्यवसायीले कसरी जोड्न सक्छन्? 

    हाम्रो अहिलेको होटल व्यवसाय भनेको खाने, बस्नेको व्यवस्थापन गर्ने मात्रै बनेको छ। तर यही व्यवसायसँग अन्य व्यवसायलाई पनि जोड्न सकिन्छ। हाम्रोमा घुम्न आउनेहरूलाई हामीले खाना, खाजा खुवाउँछौँ, बास बसाल्छौँ र सोही सेवाअनुसारको सेवा सुल्क लिन्छौँ र पठाउँछौँ। तर हामीले कहिल्यै पनि जाने बेला उसले लिन चाहेको वस्तु तथा उत्पादनका बारेमा सोधेका छैनौँ। हामीसँग खानासँगै बेच्न सकिने कयौँ स्थानीय उत्पादनहरू हुन सक्छन् तर त्यसको व्यवस्थापन हामीले कहिल्यै गरेनौँ। अबको व्यवसायमा नयाँपन दिनका लागि गर्नुपर्ने त्यही हो।

    होटल व्यवसायसँगै हाम्रा स्थानीय उत्पादनको विषयमा कम्तीमा पर्यटकहरूलाई होटलमा बसिरहेकै अवस्थामा जानकारी होस्। उसले लिन वा खरिद गर्न चाहेको उत्पादन व्यवसायीले तत्कालै उपलब्ध गराउन सक्ने वातावरण होस्। यदि यस्तो भयो भने हामीले स्थानीय उद्यमबाट उत्पादन भएका वस्तु तथा सेवाको सहज निर्यात गर्न सक्छौँ। 

    प्रदेश सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउँछौँ भनेको छ। २० लाख पर्यटक राख्न सक्ने क्षमताका होटल प्रदेशमा छन्?

    हामी हाम्रो व्यवसायसँगै सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सहयोग गर्ने जिम्मेबारीबाट पनि उम्किन सक्दैनौँ। अहिले गण्डकी प्रदेशमा साना रेस्टुराँदेखि तारे होटलसम्म गरेर १० हजारभन्दा धेरै होटलहरू हामीसँग छन्। सरकारले अहिलेको जस्तै सीमित क्षेत्रलाई तोकेर मापदण्ड बनाउने र तिनै क्षेत्रहरूको विकासमा ध्यान दिने हो भने त हामीले पर्यटक धान्न सक्दैनौँ किनभने अहिले पर्यटकका लागि बस्न मिल्ने मापदण्ड पुगेका सीमित होटलहरू र सीमित क्षेत्र हामीसँग छन्। तर सरकारले फराकिलो सोच बनाएर व्यवसायीलाई प्रोत्साहन हुने खालका कार्यक्रमहरू तय गर्ने, व्यवसायीको पेसागत हितको संरक्षण गर्ने हो भने हाम्रा व्यवसायीहरू तयार नै छन्।

    सरकारबाट कस्तो खालको सहयोगको अपेक्षा गर्नुभएको छ?

    हामीले व्यवसाय संचालन गरेवापत निकै महँगो कर तिरिरहेका छौँ। राज्यले कर तिरेअनुसारको सेवा दिन सक्नुपर्छ। व्यवसायीहरूको क्षमता विकास, व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माण, तालिम, गोष्ठी, सेमिनारमार्फत् व्यवसायीहरूलाई सक्षम बनाउने काममा सरकार लाग्नुपर्छ। अर्को कुरा होटल व्यवसायमा दक्ष जनशक्तिको पनि अभाव छ। जनशक्ति उत्पादनका लागि पनि राज्यले सोच्नुपर्ने बेला आएको छ। राज्यले बनाएका कतिपय विधि र प्रक्रियाका कारण व्यवसायीले झन्झटिलो महसुस गरिरहेका छन्, त्यसमा सुधार हुनुपर्छ। राज्यले होटल व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सुधार आउनुपर्छ। 

    तपाईं एउटा व्यावसायिक संगठनको अध्यक्ष हुनुहुन्छ। आफ्नो कार्यकालका योजना कस्ता छन्?

    हामीले व्यावसायिक हितका लागि होटल व्यवसायी संघ बनाएर संगठित भएका छौँ। मेरो कार्यकालको पहिलो काम मैले प्रदेशभित्रका साना ठूला सबै होटल तथा रेस्टुराँ व्यवसायीहरूलाई दर्ता गर्ने काममा लाग्नेछु। यसका कारण हाम्रो व्यवसायको अवस्थाका विषयमा जानकारी हुनेछ। अर्को कुरा नयाँ व्यवसायीलाई भित्र्याउने र पुराना व्यवसायीको व्यवसाय सुरक्षाका लागि पहल हुनेछ। प्रदेशभित्रका हरेक ठाउँको पहिचान झल्किने खालको सेवा दिन व्यवसायीलाई प्रेरित गर्नेछौँ। व्यवसायीको क्षमता विकासमा अझै धेरै समय खर्चिने सोचमा छु।

तारानाथ आचार्य

पत्रकार आचार्य थाहाखबरका बाग्लुङ संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]