|

त्रिपुराकोट (डोल्पा) : मन्दिरको चारैतिर होचो भूभाग। चारैतिर विशाल नदीले घेरेको ठाउँ। बीचमा उठेको जमिन। त्यसैमा अडिएको विशाल संरचना। मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने भीर। प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिंगा। त्यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी नदी, मन्दिरको पारिपट्टि देखिने हिँउले सिँगारिएका मुकुटेश्वर, कागमारालगायतका प्रसिद्ध हिमाल, आँखैमा टाँसिएजस्तो देखिने सोत्तर उम्रेका उराठ नांगा डाँडापाखा। मन्दिर अवस्थित जमिनसँग जोडिएका सम्म परेको विशाल उब्जाउयोग्य फाँट।

सरर लाग्ने हावासँगै लहलह झुल्ने धान, मकै, गहुँ, जौलगायतका अन्नबाली। उब्जायोग्य जमिन मासेर बनाइएका रंगीचंगी जस्ताले छाइएका घरहरूको बस्ती।
मन्दिरको बाहिरी आकर्षणका केन्द्रबिन्दु हुन्। मन्दिर पुगेपछि देखिने यस्ता दृश्यहरूले मन्दिर पुग्ने जो कोहीको पनि मन लोभिने गर्छ।

डोल्पाको त्रिपुरासुन्दरी मन्दिरको बाहिरी संरचना र यहाँबाट देखिने दृश्यहरू यस्तै छन्। उक्त मन्दिर नेपालका प्रायः मन्दिरहरू भन्दा फरक शैली र आकारको भएको बताइन्छ।

मन्दिर अवस्थित भूगोल अनौठो रहेको छ। मन्दिरबाट देखिने गाउँबस्ती, हिमाल, पहाड, नदीनालाको दृश्य पूजाआजापछि भक्तजनको मुख्य रोजाइमा पर्ने गरेको मन्दिरका पुजारीहरू बताउँछन्। मन्दिरमा दर्शन गरिसकेपछि भक्तजनहरूलाई तस्बीर खिचाउन भ्याई नभ्याई हुने गरेको पुजारी निर्मलप्रसाद उपाध्यायले बताए।
चारैतिर होचो भूभागबीचको अग्लो टाकुरामा मन्दिर भएकाले त्यहाँबाट देखिने मनमोहक दृश्य अवलोकनका लागि मात्रै वर्सेनि हजारौँ भक्तजनहरू आउने गरेको उनको भनाइ छ।

मन्दिरमा पूआआजा गर्नेहरूको पनि दैनिक घुइँचो लाग्ने गर्छ। पहिलेको भन्दा मन्दिरमा व्यवस्थापकीय पक्षमा सुधार हुँदै गएपछि भक्तजनहरूको चाप पनि दिन प्रतिदिन बढ्न थालेको उनले बताए।

नेपाल मात्र नभई भारतमा समेत प्रसिद्ध उक्त मन्दिर ठूलो शक्तिपिठको रूपमा चिनिन्छ। उक्त मन्दिर निर्माणका लागि भारत सरकारले समेत तीन करोड ३३ लाख रुपैयाँ सहयोग गरेको थियो।

मन्दिर पुग्ने भक्तजनहरू आफ्ना फोटोको पछाडि नागबेली आकारको ठूलोभेरी नदी, हिँउले सेताम्य हिमाल, समथर फाँट अनि विशाल नांगा डाँडाकाँडालाई क्यामेरामा कैद गर्न आतुर हुन्छन्। अझ नयाँ वर्ष, दशैँ, तिहारलगायतका विशेष चाडपर्वहरूमा त फोटो खिच्नसमेत पालो पर्खनुपर्छ।

प्राचीन शैलीमा निर्माण गरिएको उक्त मन्दिर देशका प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरूको प्रमुख गन्तव्यस्थल बन्न थालेको छ।

पछिल्लो एक वर्षयता मात्रै त्रिपुरासुन्दरीमा नेपाली सेनाका प्रमुख, राजदूतदेखि प्रधानमन्त्रीसम्मले दर्शन गरिसकेका छन्। पंचायतकालदेखि राजा महाराजासमेत दर्शनका लागि यहाँ आउने गरेको बुढापाकाहरू बताउँछन्।

पूर्वराजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रदेखि जगतगुरु शंकराचार्य, पुरीनाथ बाबालगायतका प्रसिद्ध साधु महाराजहरूको प्रमुख रोजाइ बन्न पुगेको छ त्रिपुरासुन्दरी मन्दिर।
दुर्गम तथा विकट जिल्लामा अवस्थित ठूलो शक्तिपिठ भएकाले अझ यसको महत्त्व दुनियाँले थाहा पाउन नसकेको पुजारी रविप्रसाद न्यौपानेले बताए। ‘यो मन्दिर नेपालमै त्रिपुरासुन्दरी देवीका मन्दिरहरूमध्ये प्रमुख शक्तिपिठ हो। त्रिपुरासुन्दरी देवीहरूको उत्पत्तिस्थल, सतीदेवीको कन्ड्यौलो पतन भएको ठाउँ र दश महाविद्यासमेत उत्पत्ति भएकाले यस मन्दिरको महत्त्व अनौठो छ’, उनले भने। उचित प्रचार प्रसार हुन नसक्दा प्रचुर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको उनको भनाइ छ।

मन्दिरको तलपट्टि खाली समथर जमिन भएकाले प्रायः भिभिआइपीहरू हेलिकोप्टरमा आएर त्रिपुरासुन्दरी देवीको पूजाआजा गर्ने गर्छन्। गत चैत ३० मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिपुरासुन्दरीमा पूजाआजा गरेका थिए।

पहिलो पटक वहालवाला प्रधानमन्त्रीको रूपमा ओलीले त्रिपुरासुन्दरी मन्दिरमा पुगेर पूजाआजा गरेको पुजारीहरूले बताए। यसअघि पनि यो मन्दिर राजा महाराजा साधु सन्तको प्रमुख गन्तव्य बन्दै आएको उनीहरूले बताए। प्रधानमन्त्रीको दर्शनले भए पनि मन्दिरको प्रचार प्रसारमा सघाउ पुगेको पुजारीहरूको भनाइ छ।
त्यस्तै, गत चैत २९ मा पनि भारतीय तीन पूर्वराजदूुतहरूले त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरेका थिए। १५ दिने डोल्पा पदयात्रा बनाएका नेपालका लागि भारतीय पूर्वराजदूतहरूको पहिलो गन्तव्य त्रिपुरासुन्दरी बनाएका थिए। पूर्वराजदूत रंजीत राय, श्यामशरण, देव मुखर्जीसमेत डोल्पा पुगेका थिए।

डोल्पासम्म पुग्ने हवाई र सडक यातायातको विकास भए डोल्पाले धार्मिक पर्यटन विकासमा फड्को मार्ने राजदूतहरूले टिप्पणी गरेका थिए।

यस्तो छ त्रिपुरासुन्दरी मन्दिरको इतिहास

वि.सं. १११४ मा स्थापना भएको बताइने यो मन्दिर भौगोलिक रूपमा पनि पृथक छ। यस मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगालगायतका प्रसिद्ध तीर्थस्थलहरू रहेका छन् भने बीचको टाकुरामा यो मन्दिर अवस्थित छ। 

परापूर्वकालमा डोल्पाको त्रिपुराकोट गाविसको कोटगढीमा विक्रम शाही महाराजको दरबार थियो। शाहीले यसै कोटगढीका १४ घर विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए।

अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो। त्यस दरबार नजिकै एउटा धान कुट्ने ओखल थियो। ओखलमा धान कुट्ने गरिन्थ्यो। धान कुट्दै जाँदा एकाएक यस ओखलमा अनौठा क्रियाकलापहरू देखिन थाले।

धान कुट्न जाँदा कहिले चार पाथी धान कुट्दा आठ पाथी चामल हुने र कहिले दुई पाथी धान कुट्दा दुई माना चामल हुने गर्थ्यो। यस्ता अचम्मका कुराहरू देखिन थालेपछि यो कुरा मन्त्री विष्टका कजेनीहरूले आफ्ना काजी विष्टहरूलाई बताए।

काजीहरूले यो कुरा थाहा पाएपछि आफ्ना राजा विक्रम शाहीलाई सुनाए। शाहीले यस्तो अचम्मको कुरा थाहा पाएपछि तत्काल आफ्ना प्रजाहरूलाई बोलाएर यो ओखल उत्खनन् गर्ने सल्लाह गरे।

ओखलमुनि के रहेछ भन्ने अनौठो कुरा हेर्न राजा र प्रजा आतुर देखिन्थे। सल्लाह भएअनुसार भोलिपल्ट बिहानैदेखि सबै गाउँलेहरू बोलाएर त्यो ओखल उत्खनन् गर्न लगाए।

ओखल उत्खनन् सुरु गरियो, उत्खननका लागि सयौँ मान्छे लगाइयो। ओखल उत्खनन् बिहानैबाट सुरु गरेर बेलुकी काम गर्दासमेत ओखल निकाल्न सकिएन, थोरै बाँकी रह्यो। सबै थाकेका थिए। बाँकी रहेको काम भोलि पूरा गर्ने शर्तमा सम्पूर्ण टोली घर फर्किए।

भोलिपल्ट बिहानै सबै जना बाँकी रहेको ओखल उत्खनन् गर्न आउँदा त ओखल जस्ताको तस्तै उत्खनन् नगरेको जस्तो देखिएपछि सबै चकित परे। यो कुरा राजाले थाहा पाएपछि विभिन्न गाउँबस्तीहरूबाट हजारौँ मान्छेहरू बोलाएर रातदिन लगाएर ओखल उत्खनन् गर्न लगाए। लगातार दुई दिनसम्म काम गर्दा त्यो ओखल उत्खनन् भयो।

त्यो अचम्मको ओखलभित्र अनौठा दृश्यहरू देखिए। ओखल तलपट्टि तामाको ओदान, ओेदानमाथि घिउको कराहीमाथि तामाको थाली, थालीमाथि षटकोणयन्त्र, त्यसमाथि कँुडेस र त्यसभित्र नव दुर्गा भगवतीका नौ बहिनीका स्वरूप देखिए।

खन्दै गर्दा बाउसोको टुप्पो तामाको षट्कोण लिखित यन्त्रमा लाग्यो। खन्ने काजी बेहोस भए। पुतलीरूपी देवीहरू उडेर विभिन्न ठाउँमा विराजमान भए। देवीको रूप लिएका पुतलीहरू बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाङ, बैतडीको रणसैनी त्रिपुरेश्री, बाजुराको बडिमालिकालागायतका नामले प्रसिद्ध छन्। बाँकी चार बहिनी देवी बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा विराजमान छन्। विराजमान चारवटा देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले डोल्पामा प्रसिद्ध छन्।

त्रिपुरासुन्दरीबाट पुतली रूपमा उडेका देवीहरू देशका विभिन्न ठाउँमा रहेका मन्दिरमा स्थापना भएर प्रख्यात भएकाले त्रिपुरासुन्दरीलाई मन्दिर जन्माउने मन्दिरको रूपमा चिनिन्छ। परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन्।

बहादुर शाहको टोली चकित

नेपालका बाइसे चौबीसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाको शहरतार गाउँ पुग्यो। डोल्पाका नौ राज्य एकीकरण गर्न आउँदा डोल्पाको शहरतारा गाविसको बाँदर फड्का भन्ने खोलामा पुल आइपुग्यो।

त्यहाँ एउटा खोला थियो। खोलामा पुल थिएन। असार–साउनको वर्षातले खोलाको पानी बढेर तर्नै नसकिने थियो। खोला तर्न नसक्दा बहादुर शाहको टोली खोलावारि नै रोकियो। डोल्पामा भएका नौवटा टुक्रे राज्य एकीकरण गर्ने उक्त टोलीको लक्ष्य थियो। खोलामा पुल लगाएर पार गर्ने बहादुर शाहको टोलीले लक्ष्य बनायो। लक्ष्यअनुरूप काठहरू जम्मा गरेर पुल लगाउन तयार भयो शाहको टोली। तर खोलामा कसैगरी पुल लाग्न सकेन।

अन्ततः मुस्ताङ हुँदै डोल्पा पुगेको बहादुर शाहको टोली एकीकरण नगरी फर्किने निश्चित भयो। बहादुर शाहको टोली धार्मिक विश्वास खोतल्न थाल्यो। त्यहाँका स्थानीयसँग तपाईंहरू कुन देवता मान्नुहुन्छ भनेर सोध्यो।

स्थानीयबासीसँग सोध्दा ‘त्रिपुराकोट भन्ने ठाउँमा त्रिपुरासुन्दरी देवी हुनुहुन्छ, यी देवीलाई हामी पनि वर्सेनि पूजाआाजा गर्छौं’ भनेर बताए। त्यसपछि बहादुर शाहले पुल लागोस्, आफ्नो एकीकरण गर्ने योजना सफल होस् भन्दै देवीको भाकल गरे।

स्थानीयका अनुसार उनले भनेका थिए– ‘हे भगवती! यो खोलामा पुल लागोस्, हाम्रो डोल्पा एकीकरणको काम सफल होस्। हामीले हजुरलाई यस ठाउँमा पर्ने खानी र बैजिबाडा गाउँ त्रिपुरासुन्दरीको गुठिका रूपमा चढायौँ’ भनेर माटो समातेपछि पुल लागेको थियो। यो किंवदन्ती यहाँ रहेको छ।

खानी र बैजीवाडा गाउँ नयाँ संरचनाअनुसार काइके गाउँपालिकामा पर्छ।

सतीदेवीको अंग पतन भएको ठाउँ त्रिपुरासुन्दरी

यस मन्दिरमा सत्य युगमा महादेवले हिमालय पर्वतकी पुत्री सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा सतीदेवीको कन्ड्यौलो (ढाड) पतन भएको कुरा हिन्दुहरूको प्रसिद्ध ग्रन्थ श्री स्वस्थानीमा उल्लेख गरिएको छ। त्यसैले यस पवित्र भूमिलाई नेपालकै प्रसिद्ध  शक्तिपिठको रूपमा मान्ने गरिएको छ।

यस मन्दिरको महत्त्वलाई हिन्दु धर्मका विभिन्न ग्रन्थमा उल्लेख गरिएको र यदि जो कसैले यस मन्दिरमा आएर दर्शन मात्र गरे भुक्ति र मुक्ति मिल्ने पुजारी देवीकृष्ण उपाध्यायले बताए।

उनका अनुसार अहिलेसम्म उनले घुमेका मन्दिरहरूमध्ये यस मन्दिरको भौगोलिक अवस्था पृथक रहेको छ। यस मन्दिरमा भाकल गरेको सम्पूर्ण कुरा पुग्ने भएकाले देशका उच्च पदस्थ व्यक्तित्वहरू पूजाआजाका लागि आउने गरेको बताए।

यस मन्दिरमा सत्यदेवीको कन्ड्यौलो पतन हँुदा यस स्थानमा वर्षाका देवता मेघ वर्षा भएर विभिन्न आराधना गरेर देवीकोे पूजाआजा गरेकाले इश्वरी प्रसन्न भएर यस क्षेत्रमा महाखडेरी परेको बेला पानी पार्न सफल भएस् भनेर वरदान दिएकाले यस क्षेत्रमा महाखडेरी परेपछि सम्पूर्ण गाउँबासी आएर पूजाआजा गरे पानी पर्ने जनविश्वास रहेको छ। यसै बखतमा भैरवेश्वर महादेव पनि उत्पत्ति भएको मन्दिर पनि यहाँ रहेको छ।

डोल्पामा खडेरी परेको बेला सम्पूर्ण गाउँबासी आएर विधिविधानका साथ पूजाआजा गरे पानी पर्ने डोल्पालीको विश्वास छ। 

डोल्पा जानका लागि नेपालगंज विमानस्थलबाट जुफाल विमानस्थलका लागी जहाज चढ्न सकिन्छ भने पैदल यात्राबाट पनि डोल्पा पुग्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.