|

काठमाडौं : युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दिगो विकासको लक्ष्य पुरा गर्न विकृति र विसंगतिको विरुद्धमा सरोकारवाला निकायहरु एक ढिक्का हुनुपर्ने बताएका छन्। नेपालमा राजनीतिक परिवर्तन भएपनि अझै सामाजिक, सांस्कृतिक रुपान्तरणको आवश्यकता भएको उनले बताए।  

आफू मन्त्री भएपछि केही कुराहरुमा परिवर्तन ल्याउदै आएको भन्दै मन्त्री विश्वकर्माले अपांगता भएका खेलाडीहरुको सम्मानका निम्ती प्रकृया शुरु भएको बताए। 'ओलम्पियन खेलाडीहरुलाई राज्यले सम्मान भत्ता दिँदै आएको छ। तर त्यसमा पारा ओलम्पियनहरु छुट्नुभएको रहेछ', मन्त्री विश्वकर्माले भने 'म आइसकेपछि सबैलाई समान हुनुपर्छ भनेर काम अगाडी बढाउन निर्देशन दिएको छु। अब अपांगता भएका खेलाडीहरुले पनि राज्यले दिने सुबिधा पाउनुहुन्छ।'

अझै विभेदकारी व्यवहारको अन्त्य हुन नसकेको भन्दै मन्त्री विश्वकर्माले यसलाई बदल्न आवश्यक रहेको बताए। अपांगता भएका देशभरको युवारुको सहभागीतामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आयोजना गरेको 'राष्ट्रिय युवा सम्मेलन २०७५'लाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले वर्तमान सरकार दृढतापूर्वक अघि बढिरहेको बताए।

'कसैलाई पनि नछोड्ने–सबैलाई समेट्ने' मुल नारा दिइएको सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली समाजमा रहेको पुरातन सोच र चिन्तनलाई बदल्न देशभर शसक्त अभियान नै सञ्चालन गर्नुपर्ने बताएका हुन्। एकात्मक सामन्तवादी सोचका कारण अपाङ्ग, दलित, जनजाती लगायतका समुदायहरु शोषण तथा उत्पिडनमा परेको मन्त्री विश्वकर्माले बताए।

नेपालको संविधान अनुसार अपाङ्गता तथा अपाङ्गता नभएका व्यक्तिहरुलाई क्षमता तथा योग्यताको कदर गर्दै आर्थिक रुपान्तरणसँगै समतामुलक समाज निर्माण गर्नुपर्नेमा उनको जोड थियो। अपाङ्गता भएका व्यक्तिको हकहितको संरक्षणका लागि वर्तमान सरकार पूर्वरुपमा प्रतिवद्ध रहेको उनले बताए। अपाङ्गता प्राकृतिक कुरा भएकोले संविधानले त्यस्ता वर्ग वा समुदायलाई सार्वभौम अधिकार सम्पन्न गराएको बताउदै मन्त्री विश्वकर्माले अपाङ्गता तथा सपाङ्गता समान भएकाले सबै नागरिकले अपाङ्गता भएकालाई आत्मासम्मानको वातावरण सिर्जना गरिदिनुपर्ने बताए। 'संविधान, कानुनले सबैलाई समान अधिकार दिएपनि हाम्रो समाज, व्यवहारका कारण अझैपनि हामी कस्टकर परिस्थतितीमा छौ', उनले भने 'तर हामी यसका विरुद्ध समानताका लागि लडिरहन आवश्यक छ। अहिले पनि हाम्रो समाजले हामीलाई जस्ताकै तस्कै स्विकार गर्न सकेको छैन।'

कार्यक्रममा युएनडिपीको नेपाल आवासीय संयोजक भेलरी जुलियनले अपाङ्गता र रोजगारी दिगो विकासको केन्द्र भएको बताइन्। दिगो विकासले गरिबीको अन्त्यसँगै न्यायोचित समाज निर्माण तथा समानताको लक्ष्य वोकेको उनले बताइन्। विश्व स्वास्थ्य संगठन तथा विश्व बैंकको सन २०१० को तथ्याङ्कका अनुसार विश्वमा एक करोड भन्दा वढी अपाङ्गता भएका व्यक्तिहरु हरेको जनाएता पनि विश्वमा करिव २० करोड भन्दा वढी रहेको उनले दाबी गरिन्। अपाङ्गता भएका जम्मा जनसंख्यामा दक्षिण एसियाका करिव ८० प्रतिशत भन्दा वढी व्यक्तिहरु शिक्षा तथा रोजगारीबाट वञ्चित रहेको उनले बताइन।

महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता पहिचान गरी सरकारले उसको क्षमताको कदर गर्नुपर्ने बताए। राजनैतिक रुची भएका युवाहरुलाई मात्र प्राथमिकता दिने गरेको भन्दै उनले विशेष अवस्थाका युवारुलाई समेत ध्यान दिन उनले आग्रह गरे। 'काम गर्न आउनुहोस् भनेर मात्र नहुने र त्यसलाई व्यवहारमा लागु गर्नुपर्छ', उनले भने।

महासंघकी उपाध्यक्ष तथा युएन ओमेनकी सल्लाहकार टिका दाहालले कार्यक्रममा रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, लैङ्गिक हिंसाको अन्त्य, अपाङ्गता मैत्री संरचनाको निमार्ण जस्ता कुराहरु सरकारले व्यवस्था गर्नुपर्नेमा जोड दिए। सरकारले सामाजिक सुरक्षाको ग्यारेन्टिको गर्नुपर्ने भन्दै त्यसको कार्यान्वयन गर्न उनले माग गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.