प्रहरी स्कटिङमै तस्करी भइरहेकाे अाराेप

|

नवलपरासी : पश्चिम नवलपरासीमा गोरु तस्कर गर्ने समूह सक्रिय बनेको छ। तस्करहरुले रातको समयमा ट्रकमा गोरु लोड गरेर पूर्वका विभिन्न जिल्लाहरुमा लैजाने गरेका छन्। आइतबार राती पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१५ डिगोलमा गोरु लोड गरी हेटौँडा लैजाँदै गर्दा रामग्राम ६ पोखरापालीमा वाइसिएल र युवा संघले १९ वटा गोरु सहितको ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

स्थानीयका अनुसार तस्करहरुले महिनाको २ पटक ट्रकमा लोड गरी गोरु तस्करी गरी पूर्वका जिल्लामा लैजाने गरेको बताएका छन्। प्रहरी प्रशासनले ध्यान नदिएका कारण तस्करहरुले निर्धक्क रूपमा गोरु तस्करी गर्दै आइरहेको स्थानीयको भनाइ छ।

आइतबार राती प्रहरीको गस्तीमै रहेको भ्यान ना१ख १२५५ ले स्कटिङ गरेर गोरुको तस्कर गरिरहेको वाइसिएलका रामप्रसाद पाण्डेले बताए। ना६ख ६५७२ नम्बरको ट्रकमा गोरु लोड भएको प्रहरीलाई जानकारी दिए पनि प्रहरीले चासो नदिएको वाइसिएल कार्यकर्ताले बताएका छन्।

तस्करहरुले कृषि फर्मको निकासी पुर्जी देखाएर तस्कर गर्ने गरेका छन्। आइतबार राती ना६ख ३८४१ नम्बरको ट्रकमा लोड गरेका गोरु सुनवल आदर्श कृषि फर्म एण्ड कम्पनी प्रालि सुनवल ३ को शाखा कार्यालय सोमनीको चलानी पुर्जीबाट लुम्बिनी सप्लायर्स आशाराम श्रेष्ठ हेटौँडा ८ को नाममा लाँदै गर्दा पक्राउ गरी प्रहरीलाइ बुजाएकाे हाे।

दुईवटा ट्रकमा ४३ वटा गोरु लोड गरेर हेटौँडातर्फ लैजाँदै गर्दा ना६ख ३८४१ नम्बरको ट्रक र ना६ख ६५७२ नम्बरको ट्रक नियन्त्रणमा लिन खोजे पनि एउटा मात्र ट्रक समातेर राती १२ बजे प्रहरीको जिम्मा लगाएको वाइसिएल जिल्ला अध्यक्ष हरि भण्डारीले जानकारी दिए।

जिल्ला पशुसेवा कार्यालयको कृषि प्रयोजनका लागि भनेर भेटेरीनरी प्रमाणपत्रसमेत दिने गरेको भेटिएको छ। आइतबार राती तस्करले हेटौँडा लैजान लागेको गोरुको पशु सेवा चिकित्सक डाक्टर पर्शुराम फुँयालले भेटेरीनरी प्रमाणपत्र दिएका छन्। जिल्ला पशुसेवा कार्यालयले विभिन्न फर्महरुको मिलेमोतोमा हचुवाको भरमा भेटेरीनरी पत्रमाणपत्र दिने गरेको आरोप लागेको छ।

सोमबार वाइसिएल जिल्ला अध्यक्ष हरि भण्डारीको टोली जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा पुगेर प्रहरी उपरीक्षक राजेन्द्र भट्टलाई भेट गरी तस्करी नियन्त्रण गर्न आग्रह गरेको छ। गोरु तस्करी पहिलेदेखि नै हुने गरे पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्रन नसकेकोले आफूहरू बाध्य भएर तस्करलाई समात्न रातको समयमा खटिएको वाइसिएल अध्यक्ष भण्डारीले बताए।

वाइसिएलले भेटेरीनरी प्रमाणपत्र उपलब्ध गराउने पशुसेवा डाक्टर पर्शुराम फुँयाललाई पनि कारबाही हुनुपर्ने र तस्करमा संलग्न प्रमोद यादवलाई पक्राउ गरी कारबाही गर्न माग गरेको वाइसिएलले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.