|

सिन्धुपाल्चोक : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माणका लागि ल्याइएको ३४० बोरा सिमेन्ट गायब पारिएको छ। आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सिएमसी र आयोजनाका कर्मचारीको संलग्नतामा सिमेन्ट स्थानीय पसलमा बिक्री गरिएको हो। 

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री भएको हो। राष्ट्रिय गौरवको आयोजना निर्माण गर्नका लागि ल्याइएको सिमेन्ट खानेपानी विकास समिति र सम्बन्धित ठेकेदारको कम्पनीको मिलेमतोमा बिक्री गएकोमा खानेपानी मन्त्री बीना मगरले पनि गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति जारी गरिसकेकी छन्। 

खानेपानी आयोजनाको काम समयमै सक्न र घटनामा संलग्न दोषीललाई कार्वाही गरी आगामी दिनमा यस्तो घटना दोहोरिन नदिने निर्देशन दिइएको विज्ञप्तिमा भनिएको छ। तर खानेपानी आयोजनालाई प्राथामिकताका साथ मन्त्री मगरले हेरिरहेकी छन्। ठेकेदारकै कारणले मेलम्ची खानेपानी आयोजना कहिले सम्पन्न हुने भन्नेमा यकिन हुन सकिरहेको छैन। 

घटनाको बारेमा जानकारी लिन खानेपानी आयोजनाको सूचना अधिकृत राजेन्द्र पन्तले यस विषयमा समितिको कुनै दोेष नभएको जनाए। ‘हामीले काम सकेर आएपछि बिल भर्पाइ गर्ने हो। सबै जिम्मा ठेकेदार कम्पनीकै हो', उनले भने। यस विषयमा आफूलाई कुनै जानकारी नै नभएको उनले बताए। ठेकेदार कम्पनी र आयोजनाको कर्मचारीको मिलेमतोमा आयोजनाको सिमेन्ट अन्यन्त्र बिक्री भएको स्रोतको दाबी छ। 

सिमेन्ट झारेको ना५ख १०२७ नम्बरको ट्रक बल्खुबाट पक्राउ गरिको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले जानकारी दिए। ट्रक बल्खुमै छाडेर चालक फरार भएका छन्। संलग्नको खोजी गरी दोषीमाथि कानुनी कारवाहीको प्रक्रिया अगाडि बढिसकेको उनले जनाए। 

यसरी पारियो गायब

असोजको २ गते अम्बाथान सुरुङ निर्माणका लागि ३४० बोरा सिमेन्ट ल्याइएको थियो। सिमेन्ट आयोजनाको भण्डारमै नलगी तालामाराङको स्थानीय पसलमा बिक्री गरिएको थियो। घटनामा सवारी चालकलाई मुख्य दोषी देखाउन खोजिएको छ तर २ गते सिमेन्ट तालामाराङमै झारेपछि आयोजनाको तर्फबाट बिल भर्पाइ सबै तयार भएसँगै घटनामा आयोजनाकै उच्च पदस्थ कर्मचारीकोे संलग्नता रहेको आशंका गरिएको छ।

स्रोतका अनुसार चालकलाई फरार बनाएर कर्मचारीहरू र ठेकेदारको मिलेमतोमा घटनालाई गुपचुप बनाएर टुंग्याउने खेल भइरहेको छ। ठेकेदार कम्पनीको स्टोर किपरले ३४० बोरा सिमेन्ट स्टोर नै नगरी बिल मिलाएर बाहिर पठाएको बताइएको छ।

स्थानीयले सिमेन्ट बिक्री भएकोे खबर प्रहरीलाई खबर गरेपछि आयोजनाको सिमेन्ट बाहिर बिक्री भएको खुलेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.