|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढी चुनौती रहेको बताएका छन्। सोमबार काठमाडौंमा भएकाे एक कार्यक्रममा केसीले कांग्रेसले आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चुनौती रहेकाे बताएका हुन्।

मुलुक संघीय संरचनामा गइसकेकाले अब विधान बनाउन मस्यौदा समिति गठन भएको र समितिले प्रारम्भिक मस्यौदा तयार पारेको केसीले सुनाए। उनले भने, ‘अब सातवटै प्रदेशमा १२ वटा भेला हुँदै छन्।’ कांग्रेसका लागि अहिलेसम्मकै जटिल एवं चुनौतीपूर्ण कालखण्ड भएकाले पार्टी अब नेतामुखी नभएर जनतामुखी र संस्थामुखी हुनुपर्ने पनि केसीले बताए। उनले भने, 'पार्टीलाई सामूहिक नेतृत्व पद्धतिमा लैजानुपर्छ। निर्वाचन पद्धतिबाट पदाधिकारी नियुक्त गर्नुपर्छ। अब पनि पार्टी हुकुमी शैलीबाट चल्न सक्दैन। गुट/उपगुट, गिरोह/उपगिरोहको अब काम छैन। पार्टीभित्र १५ प्रतिशत मात्रै मनोनीत गर्नुपर्छ। अरू सबैमा निर्वाचन पद्धतिबाट टुंगो लगाउनुपर्छ।’

१२औँ महाधिवेशन हुँदै गर्दा आफू पार्टीको सहमहामन्त्री र प्रवक्ता रहेको उल्लेख गर्दै नेता केसीले त्यति बेलाको कुरा सुनाए, ‘सभापति गिरिजाबाबुले सबैभन्दा पहिले भाषण गरेर नै उद्घाटन गर्नुभयो। त्यो बेलामा पनि मैले यो पार्टीलाई सामूहिक नेतृत्वबाट नै लैजानुपर्छ भनेको थिएँ। तर गिरिजाबाबुले विपीले बनाएको विधान हो, सभापति पद्धतिबाटै पार्टीलाई लैजानुपर्छ भन्नुभयो। फेरि पनि मैले असहमति राखेको थिएँ।’ 

नेकपामा पदाधिकारी मात्रै नभएर निर्वाचन समिति र अनुशासन समितिमा पनि निर्वाचनमार्फत् पदाधिकारी चयन गरिने गरिएको उनले बताए। ‘हामीभन्दा धेरै पछाडि स्थापित भएको नेपाल कम्युनिस्ट पार्टी, जो सर्वहारा अधिनायकवाद स्थापनाका निम्ति गठन भयो, जुन पार्टी स्वयं लोकतन्त्रका लागि होइन, लोकतन्त्रको विकल्पको रूपमा स्थापित भएको थियो', उनले भने, 'त्यो पार्टीभित्र २०७१ सालको विधानले उनीहरू सम्पूर्ण पदाधिकारी निर्वाचन गर्छन्।' अनुशासन आयोग, निर्वाचन आयोग पनि नेकपाले निर्वाचित गर्ने उनको भनाइ थियो। 'नेकपामा १० प्रतिशत मात्रै मनोनीत हुन्छ। त्यो पनि केन्द्रीय कार्यसमितिले मनोनित गर्छ', नेता केसीले भने, 'हामी लोकतान्त्रिक पार्टीमा भने एउटा व्यक्तिले मनोनीत गर्छ।'

शक्ति धेरै भयो भने मान्छे अन्धो हुने भन्दै केसीले अत्यन्तै धेरै शक्ति भयो भने त महाअन्धो हुने बताए। 'त्यसैले अब पार्टीको अनुशासन समितिका सदस्यहरू पनि निर्वाचनमार्फत् नै चयन गर्नुपर्छ', उनले भने, 'निर्वाचनदेखि किन डराउने? जनप्रतिनिधिको मत लिन किन डराउनु?’

एउटा व्यक्तिलाई सिँगारेर बलियो बनाउने पद्धति लिनु सर्वथा गलत हुने उनको तर्क छ। लोकतन्त्रलाई अझै मजबुत र सशक्त बनाउने प्रक्रियामा पार्टीको विधानमा निर्वाचन गर्ने र निर्वाचित प्रतिनिधिबाट (महाधिवेशनबाट) नै पदाधिकारी, संसदीय समिति र अनुशासन समिति जस्ता समितिहरू निर्माण हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको केसीले बताए। 

अधिकार नभएर काम गर्न सकिएन भनेर सभापतिले भनेको आफूले सुनेको बताउँदै उनले भने, ‘गर्न खोज्ने सभापतिलाई अधिकारले रोक्दैन। कम्युनिस्ट पार्टीमा अहिले पनि १० प्रतिशत मनोनीत हुन्छ, त्यो पनि केन्द्रीय कार्यसमितिबाट तर पनि खोई काम गर्न त रोकिएको छैन?' धेरै व्यक्ति, धेरै विचार हुने र विचारको घर्षणबाट लोकतन्त्र चल्ने भन्दै केसीले भने, 'त्यस कारण निर्वाचन पद्धति मात्रै उपयुक्त पद्धति हो। यसले मात्रै पार्टीभित्र अहिले देखिएका चुनौतीको समाधान गर्न सक्छ। अहिलेका अप्ठ्याराहरूलाई पार गर्न सक्छ। त्यसले मात्रै युवा प्रतिनिधि र युवा नेतृत्वको विकास हुन सक्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.