|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन्। राष्ट्रपति भण्डारीले मुख्य दिन सोमबार साँझ हनुमानढोका गद्दी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी हुन्।

त्यस अवसरमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरूकाे पनि सहभागिता थियो। इन्द्रजात्राको अवलोकन गर्नुअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ पनि गरेकी थिइन्।

शुक्रबारबाट सुरु भएको काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्राको मुख्य दिन आज (सोमबार) कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ। यसै दिन राष्ट्र प्रमुखको रूपमा राष्ट्रपतिले जात्राको अवलोकन गर्ने परम्परा रही आएको छ।

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर गत शुक्रबार इन्द्रजात्राको सुरुवात गरिएको थियो। भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन चलेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए। यो लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ। सात दिनसम्म मनाइने इन्द्रजात्रामा विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि नाच्ने गरिन्छ।

यसै अवसर पारेर सरकारले सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.