चुहावट र महसुल असुलीमा सुधार

|

विराटनगर : नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरले विद्युत चुहावट नियन्त्रण र महसुल असुलीमा सुधार ल्याएको छ। आर्थिक वर्ष २०७३/०७४ को तुलनामा २०७४/०७५ मा राजश्व असुली र चुहावट नियन्त्रणमा सुधार आएको प्राधिकरणले जनाएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा प्राधिकरण क्षेत्रीय कार्यालयको विद्युत् चुहावट १७.६५ प्रतिशत थियो। गत आर्थिक वर्षमा २.७१ प्रतिशतले कम हुँदै चुहावटको प्रतिशत १४.९४ प्रतिशतमा झरेको छ। 

आर्थिक वर्ष २०७३/०७४ मा क्षेत्रीय कार्यालय (मेची र कोसीका १० जिल्ला)बाट बिक्री भएको विद्युतको मूल्य छ अर्ब ९६ करोड ६३ लाख ३१ हजार ९४६ रुपैयाँमध्ये छ अर्ब ७७ करोड ९५ लाख सात हजार ८१६ रुपैयाँ अर्थात् ९७.२० प्रतिशत असुली गरेको थियो। असुलीमा पनि सुधार हुँदै आर्थिक वर्ष २०७४/०७५ मा सात अर्ब ९४ करोड ५२ लाख ६४ हजार ७८८ रुपैयाँको विद्युत बिक्री हुँदा सात अर्ब ८३ करोड ५३ लाख ३३ हजार ४४२ रुपैयाँ अर्थात् ९८.६२ प्रतिशतले असुली गरेको क्षेत्रीय कार्यालयका प्रमुख सचितानन्द यादवले जानकारी दिए। 

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा असुली प्रतिशत १.४२ प्रतिशतले बढेको यादवले बताए। यादवका अनुसार विद्युत् प्राधिकरणको ग्राहक संख्या बढेर छ लाख २४ हजार ५६० पुगेको छ। विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष मात्रै हुकिङ गर्ने ४५१ जनालाई कारवाही गरेर ५४ लाख १७ हजार ५१३ रुपैयाँ राजश्व असुलीसमेत गरेको छ। 

यस्तै, मिटर चुहावट गर्ने ४७८ जनालाई कारवाही गरी एक करोड पाँच लाख ३६ हजार ३५५ रुपैयाँ राजश्व संकलन गरेको छ भने २१ करोड रुपैयाँ बाँकी बक्यौता पनि उठाउन सफल भएको छ। लो भोल्टेजको समस्या हल गर्न पनि कार्यालयले पहल गरिरहेको जनाएको छ। 

गर्मीको समयमा अत्यधिक विद्युत् माग हुने गरेको र त्यसलाई हल गर्न मुजफ्फपुर–ढल्केवर प्रसारण लाइन २२० केभीमा चार्ज भएपछि दुहबीमा लाइन जोडेका कारण लो भोल्टेजको समस्या अब हल हुने यादवले बताए। विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयका अनुसार मेची र कोसीमा हाल २२५ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ। यसमध्ये आन्तरिक उत्पादन ९५ मेगावाट छ भने अन्य भारतबाट आयात भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.