|

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जनकपुरमा संचालित जनकपुर सेन्ट्रल इन्जिनियरिङ कलेजका छ जना विद्यार्थीले आइतबारदेखि आमरण अनसन सुरु गरेका छन्। विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको गेट अगाडि विद्यार्थीले आमरण अनसन सुरु गरेका हुन्। 

परीक्षाका लागि तोकिएको केन्द्रमा विद्यार्थीमाथि दुर्व्यवहार भएको भन्दै परीक्षा दिनै छाडेर विद्यार्थी विराटनगर आएका हुन्। परीक्षा नियन्त्रण कार्यालयले जनकपुर सेन्ट्रल इन्जिनियरिङ कलेजका विद्यार्थीका लागि भदौ २६ गतेदेखि मोडल पूर्वाञ्चल कलेज जनकपुरमा केन्द्र तोकेको थियो। दोस्रो सेमेष्टरका विद्यार्थी २६ गतेको परीक्षामा सहभागी भए पनि त्यसपछिका कुनै पनि परीक्षामा आठवटै सेमेस्टरका विद्यार्थी सहभागी भएका छैनन्। 

तोकिएको केन्द्रका केन्द्राध्यक्ष वीरेन्द्र साहले विद्यार्थीलाई सानातिना प्राविधिक कुरामा दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन्। केन्द्र परिवर्तन गर्नुपर्ने माग लिएर आठौँ सेमेष्टरका विद्यार्थी दीपक यादव, अमीत साह, जयप्रकाश नारायण ठाकुर, मुकेशकुमार सिंह, छैटौँ सेमेस्टरका पुष्पेन्द्र यादव र चौथो सेमेस्टरका प्रकाश साहले आमरण अनसन सुरु गरेका हुन्।

अनसनमा बसेका विद्यार्थी जयप्रकाश नारायण ठाकुरले परीक्षा केन्द्रका केन्द्राध्यक्षले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका छन्। अनसनमा छ जना विद्यार्थी बसेको भए पनि साथ दिन कलेजका ६० भन्दा बढी विद्यार्थी पोका पन्तुरा बोकेर पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि बसेका छन्। अनसनमा बसिरहेका विद्यार्थीहरू आफूहरूको अनसन परीक्षा केन्द्र नसारिएसम्म जारी रहने बताउँछन्। विद्यार्थी सरोज यादवले पैसाको भरमा सम्बन्धन दिने र कुर्सीमा बसेर मनपरी गरिरहेको बताए। उनले परीक्षामा कडाइ गर्दा विद्यार्थीले चिट चोर्न नपाएर आन्दोलन भने नगरेको दाबी गरे।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक सूर्यप्रसाद संग्रौलाले आमरण अनसनमा बसेका विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयलाई नै अस्वीकार गरेका कारण माथिल्लो निकायमा जानकारी दिएको बताए। परीक्षा संचालन सुरु भइसकेको परिस्थितिमा केन्द्र सार्न नकिने उनको भनाइ छ।

विद्यार्थीले यसअघि बैशाखमा संचालित परीक्षा पनि एक दिन बहिष्कार गरेका थिए। कलेजका ५०० बढी विद्यार्थीले परीक्षा बहिष्कार गरेसँगै उनीहरूको भविष्य पनि अन्धकार बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.