राजनीति

एकीकरण चाँडै टुंगिन्छ : प्रदेश इञ्चार्ज रावल
SHARES

मेरो गुनासो छैन : नेता भट्ट

असोज ८, २०७५

    धनगढी : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) प्रदेश ७ का इञ्चार्ज भीम रावलले जिल्ला र तल्लो तहसम्मको एकीकरणमा कुनै समस्या नरहेको बताएका छन्। सोमबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता रावलले जिल्ला र तल्लो तहसम्मको एकीकरण प्रक्रिया चाँडै टुंगिने बताएका हुन्।

    ‘प्रदेशअन्तर्गतका सबै जिल्लाहरूका विषयमा प्रतिवेदन हामीले पहिले नै बुझाएका छौँ। हाम्रोतर्फबाट गठन भए बराबरको काम भएको छ’, नेता रावलले भने। केन्द्रीय समितिबाट आएको सल्लाहअनुसार केही हेरफेर मात्रै गर्न बाँकी रहेको उनले बताए। प्रदेश कमिटीले पूर्णता पाएलगत्तै तल्ला कमिटी, विभाग, जनवर्गीय संगठनबीच पनि एकता प्रक्रिया अघि बढ्ने नेता रावलले बताए।

    फरक प्रसंगमा नेता रावलले संघीयता नयाँ प्रयोग भएकाले केही अलमल भए पनि यो अन्योल धेरै नरहने स्पष्ट पारे। ‘प्रदेश सरकार संरचना निर्माण गर्ने र कानुन बनाउने विषयमै केन्द्रित रहेको छ’, रावलले भने, ‘कानुन निमार्णले पूर्णता पाएपछि प्रदेश सरकारले पनि गति लिनेछ।’

    कंचनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणमा दोषी पक्राउ गर्न केन्द्र सरकारले पनि ठूलै बल प्रयोग गरिरहेको उनले बताए। दोषी पत्ता लगाई कारवाही गर्न पार्टी नेतृत्वले पनि सरकार र प्रहरी प्रशासनलाई कडा निर्देशन दिइसकेको नेता रावलले जानकारी दिए। सरकारको सक्रियताले दोषीलाई कारवाही हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।  ‘नेपालकै इतिहासमा यति धेरै प्रहरी निलम्बित र उच्चस्तरीय छानबिन भएका कमै घटना छन्, त्यस्ता घटनाहरूका दोषी पक्राउ परेकै छन्। निर्मला हत्या प्रकरणका दोषी पनि उम्कन पाउनै छैनन्’, नेता रावलले भने।

    पत्रकार सम्मेलनमा उपस्थित नेकपाका नेता लेखराज भट्टले आफूले प्रदेश कमिटीमा जिम्मेवारी नपाएकोमा कुनै गुनासो नरहेको बताएका छन्। उनले पार्टीले पद तथा जिम्मेवारी बाँडफाँटमा कुनै पक्षपात नगरेको समेत बताए। ‘पार्टीले गरेको निर्णयलाई हामीले मान्नुपर्छ। एकता प्रक्रियामा त झन् सबैको एकै स्थानमा व्यवस्थापन हुन सक्दैन। त्यसमा म असन्तुष्ट छैन’, नेता भट्टले भने। उनले तल्लो तहमा एकीकरण पनि विवादरहित ढंगले टुंग्याइने विश्वाससमेत व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]