|

काठमाडौं : गीतकार तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायद्वारा रचित एवम् संगीतकार सन्तोष श्रेष्ठद्वारा संगीतवद्ध आधुनिक गीत-गजलहरूको एल्बम 'जुहार' तथा बाल उपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित 'पञ्चमणि' उपन्यास काठमाडौंमा सार्वजनिक गरिएको छ।

एल्बममा रमेश सुवेदीको 'अप्ठेरोमा नडराऊ देशको माया गर्नेहरू' बोलको गीत मनोजराजले गाएका छन्। 'दुनियाँले तेर्साएर हातै थाप्दोरहेछ' बोलेको गजल बानिका प्रधान तथा प्रकाश रेग्मीले छुट्टाछुट्टै गाएका छन्। दामु मर्सिफुलको 'हजार जन्मजन्ममा समीप बन्न पाऊँ म' बोलको गजल श्रेयसी चेम्जोङले गाएकी छन् भने कविता उपाध्यायको 'ईश्वर साक्षी छन्' बोलको गजल गायिका चेम्जोङले नै गाएकी छन् ।

यसैगरी बाल उपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित 'पञ्चमणि' उपन्यास भने उनको पहिलो साहित्यिक कृति हो। १२ वर्षको उमेरमा लेखिएको नेपालको यो पहिलो कृति हुनसक्ने वक्ताहरूले बताए।

उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापित्व तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा सोमबार भएको कार्यक्रममा विमोचित उपन्यासको समीक्षा निबन्धकार युवराज नयाँघरेले र एल्बमको समीक्षा गजलकार ज्ञानुवाकर पौडेल र संगीतकार शक्तिबल्लभले गरेका थिए ।

साँस्कृतिक सँस्थान राष्ट्रिय नाचघरमा सम्पन्न उक्त विमोचन कार्यक्रम राप्ती साहित्य परिषद् दाङ्, रापती समाज काठमाडौं तथा उपन्यास जमाज काठमाडौंले संयुक्त रूपमा आयोजना गरेका थिए ।

कार्यक्रममा गायक मनोजराज, प्रकाश केसी तथा गायिका श्रेयसी चेम्जोङले गीत-गजल गाएर दर्शक श्रोतालाई मनोरंजन दिएका थिए। 

नेपाली साहित्य र संगीत क्षेत्रमा क्रियाशील रोल्पा गजुलका एकै परिवारका यी गीतकार-गजलकारहरूका संयुक्त एल्बम तथा फुटकर गीत-गजलहरू एवम् पुस्तकाकार कृतिहरू यसअघि पनि प्रकाशन भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.