|

पर्वत : पर्वत सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा बिहान ७ बजेबाट ९ बजेसम्म दुई घण्टा एउटा कक्षा संचालन हुन्छ। कक्षामा कहिले पाँच-छ जना विद्यार्थी हुन्छन् भने कहिलेकाहीँ २३ जनासम्म पनि पुग्छन्। कारण हो- उक्त कक्षामा उपलब्ध हुने नि:शुल्क खाजा। भोलिको कक्षामा खाजा पाइन्छ कि पाइँदैन? विद्यार्थीहरूले आज नै थाहा पाउँछन्। खाजा पाइने भए आउँछन्, नपाउने भए कता जान्छन् कता।

यो कक्षा भने विद्यालय तहमा चलिरहेको औपचारिक तहगत कक्षा होइन। उक्त कक्षामा पढ्न आउने बालबालिकामध्ये धेरैजसो सडक बालबालिका छन्। विभिन्न कारणले बाबुआमाबाट अलग भएका, सँगै भएर पनि विद्यालयमा जान असमर्थ रहेका तथा होटल, सवारी साधनलगायतका ठाउँमा श्रमिक बन्दै आएका र सडक बालबालिकाहरूले यो कक्षामा अध्ययन गर्छन्। 

यो कक्षामा पढ्ने विद्यार्थीहरूका लागि रोट्र्याक्ट क्लब अफ पर्वत, लायन्स क्लब र अन्य केही सामाजिक व्यक्तिहरूले समय समयमा खाजाको व्यवस्था गरेका छन्। रोट्र्याक्ट क्लब अफ पर्वतका अध्यक्ष गणेश पौडेल भन्छन्, ‘हामीले यहाँ पढ्ने बालबालिकाहरूका बारेमा थाहा पायौँ। उनीहरूले दिउँसो र रातमा नालीमा फालेको खानेकुरा टिपेर खाएको पनि देख्यौँ। त्यसैले हामीले खाजाको व्यवस्था गर्न थालेका हौँ।’ 

अध्ययनका लागि आउने बालबालिकाहरू तीन वर्षदेखि १५ वर्षसम्मका रहेका शिक्षिका पार्वती सापकोटा पौडेलले बताइन्। उनका अनुसार कक्षामा आउने केही विद्यार्थीहरूले अहिले पनि कुश्माकै होटलहरूमा भाँडा माझ्ने काम गर्दै आएका छन्। त्यसबाहेक कतिपयका बुबाआमा मजदुर भएकाले बिहानदेखि बेलुकासम्म काममा हुन्छन्। त्यो अवधिमा आफ्ना सन्तान कहाँ छन्, उनीहरूलाई नै पत्तो हुँदैन। कतिपयले भने शिवालय चोकमा रहेको बसपार्कमा आउने यात्रीसँग केही रकम र खानेकुराका लागि भिक्षा मागिरहेका हुन्छन्।  

कक्षाको सुरुवात गरेको एक वर्षको अवधिमा केही बालबालिकाहरूले कक्षा छाडेका छन् भने कतिपय नयाँ पनि थपिएका छन्। कुनै सामाजिक संस्थाले खाजा सहयोग गरेर खान पाए उनीहरू नियमित आउँछन् भने खाजा सकिएको थाहा पाएपछि उनीहरूलाई फेला नै पार्न सकिँदैन। शिक्षक पौडेलले थपिन्, ‘खाजा दिएर खुसी पार्न सके आउँछन् नत्र कहिलेकाहीँ त विद्यार्थी नै हुँदैनन्।’ उनीहरू कक्षामा नआउँदाको दिनमा शिक्षक पौडेल खोज्दै घर र टोलसम्म पुग्छिन् तर उनीहरू त्यहाँ हुँदैनन्। 'कोही काममा गएका हुन्छन् त कोही पेट पाल्ने खर्च जुटाउन सडकमा फलिएका खानेकुरा टिप्दै गरेका हुन्छन्', उनले भनिन्।

अनौपचारिक शिक्षाअन्तर्गत प्राथमिक विद्यालय शिक्षा कार्यक्रम लागू भएपछि २०७४ असारबाट यो कक्षा संचालन गरिएको हो। नेपाल सरकारले सबै बालबालिकालाई शिक्षाको मूल धारमा ल्याउने उद्देश्यअनुरूप संचालन भएको यो कक्षाको उद्देश्य विद्यार्थीहरूलाई जुनकुनै तरिकाले पनि विद्यालय जाने बानीको विकास गर्नु हो। शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईं भन्छन्, ‘यिनीहरूलाई बानीको विकास गर्नका लागि यो कक्षा संचालन भएको हो। यिनीहरूमा विद्यालय जाने बानीको विकास भएपछि औपचारिक रूपमा विद्यालय तहको शिक्षामा समावेश हुन्छन्।’ 

विद्यार्थीको सपना : प्रहरीदेखि डाक्टरसम्म

त्यही कक्षामा पढ्ने लक्ष्मी नेपाली उमेरले नौ वर्ष पुगिन्। उनले बिहान दुई घण्टा कक्षा लिएपछि आफ्नी दिदीसँगै भाँडा माझ्नका लागि होटलमा जान्छिन्। उनका बुबा कामकै खोजीमा पोखरा छन्। घरमा आमा, काका, दुई भाइ र दुई बहिनी छन्। उनको घरमा खाने खर्च पाउन नै मुस्किल छ। भुजा चपाउँदै गरेकी लक्ष्मी भन्छिन्, ‘मेरा बा पोखरा ग'का हुन्। कोठामा अंकल, ममी, दुई भाइ र दुई बहिनी छन्।’ आफूलाई पढ्न लागेकै कारण कक्षामा आएको उनले सुनाइन्।

सोही कक्षामा कुश्मा नगरपालिका नौ कटुवाचौपारी घर भएका विशाल परियार पनि छन्। उनको सपना छ प्रहरी बनेर चोर समात्ने। पढ्यो भने मात्र प्रहरी बन्न पाइन्छ भन्ने उनको मनोविज्ञान छ। विशाल भन्छन्, ‘म त पुलिस बन्ने हो। सिसी क्यमेरामा हेरे'सि चोर देखिन्छन्। तिनलाई समात्ने।’ प्रहरी बन्नकै लागि अहिले अभ्यास गरिरहेको सुनाउँदै १३ वर्षीय परियारले थपे, ‘अहिले भीरभीरमा दगुर्छु। पुलिस भ'सि चोर समात्न भीरमा जानपर्छ अनि त्यही भ'र भीरमा दगुरेको।’

उनको घरमा नौ जनाको परिवार छ। उनका बाबुआमालाई परिवार धान्न नै मुस्किल छ। आर्थिक अभावकै कारण उनलाई विद्यालय पठाउन समस्या थियो। विशेष कक्षा सुरु भएपछि उनी बिहान पढ्न आउन थाले। अहिले उनको विद्यालय आउने बानी परिसकेको छ। त्यही कारण आजभोलि दिउँसो तहगत शिक्षा लिनका लागि पनि उनी विद्यालय आउँछन्।   

गोरखा घर भएकी १० वर्षीया मनिका गुरुङको सपना डक्टर बन्ने छ। उनका बुबा विदेशतिर छन् भने आमाले गाडीबाट इँट्टा झार्ने र पर्वत भित्रिएका ट्रकबाट सामान ओसार्ने काम गर्छिन्। उनका दाइ गोरखामै छन् भने यहाँ ममी, बहिनी र मनिका बस्छन्। मनिकाको धोको भने डक्टर बन्ने छ। उनले अध्ययनमा पनि राम्रो गरेकी छन्। पहिले पहिले कत्ति पनि नजानेकी उनले अहिले ए देखि जेडसम्म फाट्टफुट्ट अक्षर बिराउँदै भन्छिन् अनि अंग्रेजीमा वानदेखि इलेभेनसम्म भन्न जानेकी छन्। मनिका भन्छिन, ‘ठूलो भए'सि डाक्टर बन्ने हो।’ डाक्टर किन बन्ने? भन्ने प्रश्नमा उनले फर्काइन्, ‘डाक्टर बनेपछि दाँत निकाल्न पाइन्छ, काटेको ठाउँमा सिलाउन पाइन्छ। अरूलाई औषधि नि दिन्छन् डाक्टरले।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.