अञ्चल अस्पतालका दुई चिकित्सकलाई कारबाही गर्न सिफारिस

|

जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालले प्रस्तुत गरेको बलात्कृत बालिकाको स्वास्थ्य जाँच प्रतिवेदन नै शंकाको घेरामा परेका छ। अञ्चल अस्पातलले दिएको र सिरहा जिल्ला अस्पतालबाट अाएको प्रतिवेदन फरक–फरक भएपछि चिकित्सकको कार्यमा श‌ंका उत्पन्न भएको हो। 

बलात्कारको जाँचसम्बन्धी प्रतिवेदन स्वास्थ्य संस्थाले तत्काल दिनुपर्ने व्यवस्था छ तर जनकपुर अञ्चल अस्पतालमा कार्यरत दुई चिकित्सकले बलात्कृत बालिका स्वास्थ्य जाँच प्रविदेन ११ दिनपछि दिएका थिए। अस्पतालले प्रतिवेदन दिन ढिलो गरेपछि प्रतिवेदनमाथि शंका उत्पन्न भएको थियो।

अञ्चल अस्पतालको प्रतिवेदन सन्तोषजनक नभएपछि प्रहरीले बलात्कृत १२ वर्षीय बालिकालाई १६ दिन पछि सिरहा जिल्ला अस्पतालमा पुनः जाँच गराउँदा फरक प्रतिवेदन आएको हो। 

धनुषाकी १२ वर्षीया एक बालिका गत भदौ राति ८ गते आफ्नै घरमा सुतिरहँदा छिमेकीबाट बलात्कृत भएकी थिइन्। आमाको मृत्यु भएको र बुवा रोजगारीका लागि भारत गएपछि काकीको घरमा भाइसँगै बस्दै आएकी १२ वर्षीया बालिकालाई गत भदौ ८ गते राति साढे १० बजे घरमा सुतिरहेको वेला २३ वर्षीय मण्डलले बलात्कार गरेको पीडित परिवारले आरोप लगाएको छ।

अबेर राति घटना भएकाले भदौ ९ गते पीडित परिवारले इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी गरेका थिए। भोलिपल्ट नै जनकपुर अञ्चल अस्पतालमा प्रहरीले स्वास्थ्य जाँच गराएको थियो। अञ्चल अस्पतालमा कार्यरत डा.रम्भा गोइत र डा.भीके सिंहले गरेको स्वास्थ्य जाँचमा सबै 'नर्मल' देखाएको प्रतिवेदन भदौ २० गते दिएको थियो।

चिकित्सकद्वयले स्वास्थ्य परीक्षणमा भेजिना नर्मल र ह्युमेन नर्मल देखाएको छ। तर भदौ २५ गते सिरहा जिल्ला अस्पतालका डा.राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा 'बाइट मार्क', 'भजिना क्नगेसन' र 'ह्यमेन रुप्टुरेड' देखाएको छ।   

बालिका बलात्कार आरोपमा पक्राउ परेका आरोपित २३ वर्षीय करण खत्वे मण्डलले बलात्कार गरेको स्वीकारेको, सिरहा जिल्ला अस्पतालको स्वास्थ्य जाँच प्रतिवेदनले बलात्कार भएको, घटना मुचुल्काले समेत बलात्कार ठहर भएको घटनामा केही नदेखिएको प्रतिवेदन दिनेमाथि कारबाही गर्न सरकारी वकिलको कार्यालय धनुषाले पत्रचार गरेको छ। 

दुई आधिकारिक स्वास्थ्य संस्थाको स्वास्थ्य जाँच प्रतिवेदन फरक परेपछि दुवै प्रतिवेदनको प्रतिलिपि र सीडी अनुसन्धानका लागि स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल पठाइएको जानकारी प्राप्त भएको छ। यसैगरी महान्यायधिवक्ताको कार्यालय, प्रहरी महानिरीक्षक प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयलाई समेत परीक्षण रिपोर्ट दिने, अपराध लुकाउन खोज्ने चिकित्सकलाई कारवाही सिफारिस गरेको छ। 

बलात्कार आरोपितलाई इलाका प्रहरी कार्यालय खजुरीले भदौ ११ गते नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक शेषराज थान्दारले बताए। बालिका बलात्कारको स्वास्थ्य जाँच रिपोर्ट समयमा नआउँदा २० दिन पछि कारवाहLका लागि असोज २ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश भएको प्रहरी निरीक्षक थान्दारले बताए। 

पीडित बालिकाको अनुहार, घाँटी र शरीरका विभिन्न भागमा टोकेको घाउ सहजै देखिएको थियो, तर जनकपुर अञ्चल अस्पतालको स्वास्थ्य जाँच प्रतिवेदनमा घाउ नदेखिएको प्रतिवेदन आएपछि सिरहा जिल्ला अस्पतालमा पुनः स्वास्थ्य परीक्षण गराएको प्रहरी निरीक्षक थान्दारले बताए। 'अञ्चल अस्पतालको स्वास्थ्य परीक्षणमा विश्वास नलागेपछि अर्को सरकारी अस्पतालमै स्वास्थ्य जाँच गराउदा प्रतिवेदन फरक पाइएको हो', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.