|

संखुवासभा : छिमेकी जिल्ला भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा कृषकले रुद्राक्षको निगरानी गर्ने बगानमा सिसी क्यामरा जडान गरिएको छ। एउटा बोट लाखौँ मूल्यमा किनबेच हुने रुद्राक्षको चिचिला लागेदेखि नै कृषकहरू रुखको फेदमा  बसेर सुरक्षा गर्ने गरेका छन्।

सुरक्षाका लागि तलब दिएर कुरुवा राख्दा पनि राम्रो रुद्राक्षको दाना हराउने गरेकोले विकल्पमा सीसी क्यामेरा जडान गरिएको कृषक एकराज जिसीले बताए।

केही वर्ष अघि सम्म दिङलाका कृषकहरुले सुरक्षाका लागि रुखको फेदमा बसेर सुरक्षा दिँदै आएका थिए भने अहिले सीसी क्यामेरा जडान गरेर घरैमा बसेर कृषकले रुदाक्षको निगरानी गरिरहेका छन्। रुद्राक्ष कुर्नका लागि मान्छे राखे पनि भरपर्दो नभएपछि यो वर्षदेखि सीसी क्यामरा जडान गर्न थालिएको जिसीले बताए।

सीसी क्यामेरा जडान गरेपछि रुद्राक्ष चोरी हुन छोडेको षडानन्द नगरपालिका–५  सुरेन्द्र राईले बताए। 'अघिल्लो वर्षसम्म रुद्राक्षको सुरक्षा गर्ने  ठाउँ बनाएर रातदिन बोटमुनि  बस्दै आएका थियौँ', उनले भने, 'तर अब यो वर्षदेखि सीसी क्यामेराले गर्दा घरैमा बसेर निगरानी हुने भएकाले खुसी लागेको छ।' सीसी क्यामेरा जडान गर्दा कम खर्चमा सुरक्षा पनि भरपर्दो हुने राईको भनाइ छ। 

रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुर र संखुवासभा जिल्लामा पछिल्लो समय रुद्राक्षको एउटा बोट लाखौँ रकममा बिक्री हुने गरेको छ। भोजपुर र संखुवासभा जिल्लामा रुद्राक्षको व्यापार खेतीपाती अन्य रोजगारीभन्दा राम्रो आम्दानीको स्रोत बनेको छ। अन्य व्यवसायभन्दा रुद्राक्षको व्यापार राम्रो र छोटो समयमा धेरै आम्दानी दिने भएकाले धेरै युवाहरू आर्कर्षित भएका छन्।

नगरपालिकाको दिङला, चिउरीबोट, मूलपानी रुद्राक्ष उत्पादनका हिसाबले निकै राम्रो क्षेत्र मानिन्छ। कृषकले एउटा बगानबाट एक लाखदेखि करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। भोजपुरको दिङला बजार र संखुवासभाको खाँदबारी बजारमा रुद्राक्षको २१ मुखे एउटा दानालाई न्यूनतम पाँच लाखदेखि ३९ लाखसम्म किनबेच हुने गरेको रुद्राक्ष व्यवसायी संघका संखुवासभाका अध्यक्ष चक्र विसुन्केले बताए। 

कुनै बेला भारतमा मात्रै निकासी हुने गरेको रुद्राक्ष  अहिले इण्डोनेसिया, चीनमा  समेत निकासी हुने गरेको छ। अहिले चिनियाँ व्यापारी रुद्राक्षको  बगानमै पसेर खरिद हुने थालेपछि यसको मूल्य र माग ह्वात्तै बढ्न थालेको छ। पछिल्लो समय चिनियाँ व्यापारीहरू संखुवासभाको सदरमुकाम खाँदबारी, तुम्लिङटारका होटल र ब्यक्तिका घर भाडामा लिएर बस्ने गरेका छन्। चिनियाँ व्यापारीहरूले रुद्राक्षको गुणस्तर र बनोट हेरेर मात्र लाने गरेको भोजपुरका कृषक सुरेन्द्र राईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.