|

काठमाडौं : केही समयअघि मात्र रिलिज भएको नायिका स्वस्तिमा खड्का र निश्चल बस्नेत अभिनित म्युजिक भिडियो ‘नाच फिरिरी’ आमनेपाली संगीतप्रेमीमाझ लोकप्रिय बनेको छ। विभिन्न उमेर समूहका व्यक्तिको मुखमुखमा झुण्डिएको छ उक्त गीत। सामाजिक संजालमा यत्रतत्र र म्युजिकल्लीमा पनि यस गीतको क्लिपमा अभिनय गर्नेको संख्या उस्तै छ।

युट्युवमा आएदेखि कम समयमा नै ‘नाच फिरिरी’ एक करोड पटक हेरिने गीतको सूचीमा समेत परेको छ। यस गीतका गायक, संगीतकार तथा गीतकार महेश काफ्ले हुन्। काफ्ले नेपाली लोक तथा दोहोरी क्षेत्रमा स्थापित र चर्चित गायक भोजराज काफ्लेका कान्छा छोरासमेत हुन्। कुनै समय ‘सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा’, ‘जुवा तासैले’, ‘सडक बालक’ जस्ता सामाजिक सन्देशमूलक गीत गाएर लोक संगीतका क्षेत्रमा आएका उनी अहिले फरक जनराको गीतबाट सांगीतिक क्षेत्रमा स्थापित हुँदै छन्।

प्रतिस्पर्धी सांगीतिक बजारमा फरक खालको गीत लिएर बजारमा आउन पाए दर्शक/श्रोताको माया पाइन्थ्यो भन्ने लाग्थ्यो उनलाई। दर्शक/श्रोताको मन जित्नका निम्ति तीन वर्ष यो गीतलाई मिहिनेत गरेको काफ्ले बताउँछन्। कला, साहित्य र संगीतमा लाग्नका निम्ति रहरभन्दा पनि मिहिनेत र समर्पण हुन जरुरी रहेको उनको तर्क छ।

करिव तीन वर्ष पत्रकारिता गरेको अनुभव पनि उनमा छ। पत्रकारितामा भविष्य नदेखेर उनी यस क्षेत्रमा आएका होइनन। पत्रकारिता र संगीत क्षेत्र उनका लागि उस्तै प्रिय लाग्छन्। तर परिवार नै संगीत क्षेत्रमा लागेको र पहिले पनि आफूले गीत गाएर थोर बहुत अनुभव लिएका कारण संगीत क्षेत्रमा नै लाग्छु भनेर उनी यसतर्फ लागेका हुन्। उनी भन्छन्, 'दुवै पेसालाई एकैचोटि अगाडि बढाउन नसकेकाले पत्रकारिता छाडेको हुँ।'

नेपाली सांगीतिक क्षेत्र पूर्ण रूपले व्यावसायिक हुन नसके पनि आफूले राम्रो गर्न सके विस्तारै त्यसतर्फ पनि नेपाली सांगीतिक क्षेत्रले फड्को मार्ने उनको आशा छ। भन्छन्, 'गीत गाएर पनि बाँच्न सकिने केही आधार बनेका छन्। अब आफ्नो कला, कौशल, मिहिनेत र भाग्यले पनि यस क्षेत्रमा टिक्न सक्ने आधार निर्माण हुने न हो।'

बच्चैदेखि पढाइ सगँसँगै गीत लेख्न, गाउन, कम्पोज गर्न मनपराउँथे उनी। विस्तारै पढाइलाई महत्त्व दिँदै गायन क्षेत्रबाट पर सरे उनी। तर गीत लेखन र कम्पोज गरिरहन्थे। करिव तीन वर्षअघि असारको मध्य दिनमा झरीको आनन्द लिएर बाहिर टोलाएर बसेका थिए उनी। यस्सै झरीमा मान्छे घरभित्र बस्न रुचाउँछन्। यही बेला हरेक युगल जोडीहरूलाई अलिक बढी स्वतन्त्रता हुन सक्छ होला भन्ने कल्पना गरे उनले। त्यही कल्पनाको उडानलाई उनले शब्दमा उने।

'बुबाले सुन्नुभयो तर प्रतिक्रिया दिनुभएन सायद मेरो सिर्जना उहाँलाई मन नपरेको पनि हुनसक्छ।'

यो गीत लेखेर उनी गुनगुनाउदै हिँड्थे। हरेक  व्यक्तिका जीवनमा कोही त्यस्तो साथी हुन्छ, जसले साथीको दु:खलाई आफ्नो पनि दु:ख सम्झन्छ। साथीको सुख देख्दा आफूलाई सुखको अनुभूति भएको महसुस गर्छ। राम्रोलाई राम्रै भनिदिन्छ। खराबलाई खराब भनिदिन्छ। यस्तै काफ्लेको एउटा मिल्ने साथी आकाश, जो मिडियामा आवद्ध छन्, उनलाई एक दिन काफ्लेले यो गीत सुनाइदिए। साथीलाई काफ्लेको गीत एकदम मनपरेछ। आकाशले यो गीत आसिफ शाहलाई  सुनाएछन्। शाहले पनि त्यो गीत मनपराए। आसिफबाट उक्त गीत चलचित्र निर्देशक निश्चल बस्नेतले सुनेछन्। बस्नेतले पनि यो गीत मनपराएको प्रतिक्रिया दिएछन्। 'जसको म ठूलो फ्यान थिएँ, उहाँले मेरो सिर्जना मनपराइदिनुभयो। यो मेरा लागि एकदम ठूलो उपलब्धि लागेको कुरा थियो', काफ्ले उत्साहित हुँदै भन्छन्, 'मौकामा चौका हानौँ न भनेर दाइलाई प्रस्ताव राख्यौँ। दाइले नाइँनास्ती गर्नुभएन।'

आज यो गीतको जति चर्चा छ, उस्तै चर्चा यस गीतमा अभिनय गरेका बस्नेत र स्वस्तिमा खड्काको पनि छ। काफ्ले भन्छन्, 'संयोग, मैले गीत दाइ र दिदीका लागि नै गरेको रहेछु कि भन्ने भ्रमले खुसी हुन्छु म।' यो गीत सुनेर बुबाले चाहिँ कस्तो प्रतिक्रिया दिनुभयो त भन्ने प्रश्नमा उनी भन्छन्, 'बुबाले सुन्नुभयो तर प्रतिक्रिया दिनुभएन सायद मेरो सिर्जना उहाँलाई मन नपरेको पनि हुनसक्छ।' तर मौन बस्नुको अर्थ नराम्रो छ भन्ने नै आशय हुन्छ भन्नेचाहिँ आफूलाई नलागेको बताउँछन् उनी।

एउटा स्थापित गायकको छोरा भन्दा पनि उनी आफ्नै मिहिनेतले स्थापित हुन चाहन्छन्। 'बुबाको नामबाट एक समयसम्म बाँचियो। सन्तानले सधैँभर माता-पिताको नामको विरासतमा बाँच्नुहुँदैन। सन्तानले आफूले मिहिनेत गर्न जरुरी छ', उनी भन्छन्, 'बुबाको शान, इज्जत र मिहिनेतबाट म प्रभावित छु। बुबाजस्तै मिहिनेत गर्छु र आफ्नो मिहिनेतले स्थापित हुन चाहन्छु।'

हेर्नुहोस् गीत

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.