|
फाइल फोटो

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा कति वन्यजन्तु थेग्ने क्षमता छ। अहिलेसम्म कुनै लेखाजोखा छैन। हालैको गणनाले दुर्लभ पाटे बाघको संख्यामा कमि देखिएपछि निकुञ्ज अधिकारीहरू तरंगित छन्। त्यसैले यहाँ अब बाघ र गैंडाको संख्या बहन गर्नसक्ने क्षमताको अध्ययन गरिँदै छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको बहन गर्नसक्ने क्षमता(क्यारिङ क्यापासिटी) कति छ भनेर अध्ययन गर्न लागिएको जानकारी दिए। 'आन्तरिक तयारी सबै पुरा भैसक्यो, अब अक्टोवरबाट अध्ययन टोली फिल्डमा खटिन्छन्,' महानिर्देशक खड्काले भने।

बाघ अनुगमनपछि शनिवार सार्वजनिक भएको प्रतिवेदनअनुसार पाँच वर्षमा २७ बाघ घटेको देखिएपछि निकुञ्जमा यसरी अध्ययन गर्न लागिएको हो। यद्यपि बाघको घनत्वमा भने कमि नदेखिएको निकुञ्ज अधिकारीहरूले दावी गर्दै आएका छन्।

निकुञ्जमा अध्ययनका लागि छुट्टाछुट्टै दुई टोली खटाइने छ। चितवन राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्नसक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन। चितवन निकुञ्ज करिव ९५३ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँको मध्यवर्ती क्षेत्र भने करिव ७२९ वर्ग किलोमिटरमा फैलिएको छ।

सन् २०१३ को अनुगमनमा चितवन निकुञ्जमा १२० बाघ थिए। यसपटक ९३ मात्रै बाघ पाइएको छ। सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य रहेकाले पनि क्षमताको अध्ययन जरुरी रहेको निकुञ्ज विभागको भनाइ छ।

पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैंडा रहेको तथ्यांक छ। निकुञ्ज हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्त्वपूर्ण वासस्थान हो।

हाल सार्वजनिक भएको तथ्यांक नै वैज्ञानिक भएको भन्दै निकुञ्ज विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलले बहन गर्नसक्ने क्षमताको अध्ययनपछि संरक्षणका रणनीति बनाएर अघि बढ्न सजिलो हुने प्रतिक्रिया दिए।

नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैंडाको सबैभन्दा ठूलो वासस्थान भएको क्षेत्र हो। गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैंडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई समेत दुई जोडी गैंडा उपहार दिइएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा सूचना अधिकारी नुरेन्द्र अर्याल बाघ र गैंडाको संख्या बहन गर्न सक्ने क्षमताको अध्ययन विशिष्ट प्रकृतिको अध्ययन भएको बताउँछन्।

अध्ययनका क्रममा बाघ, गैंडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौति, चरीचरण भौगोलिक अवस्थालगायत सबैकुराको विष्लेषण हुनेछ। अर्यालले अध्ययनको उपयुक्त समय आगामि कतिक र मंसिर भएको बताए।

चितवनका संरक्षणकर्मीहरूले भने वासस्थान नास हुँदै गएकाले वन्यजन्तुहरू बस्तीमा आउने, सामुदायिक वनमा वासस्थान बनाउने र अर्को क्षेत्रमा सर्ने गरेको दावी गर्दै आएका छन्। बाघ संरक्षण उपसमिति रत्ननगरका संयोजक जीतु तामाङ वासस्थानमा ध्यान दिन नसकेकाले पनि समस्या आएको उल्लेख गर्छन्।

बाघ पारिस्थितिकीय प्रणालीको उच्चस्थानमा रहने जनावर हो। लजालु प्रजातिमा पर्ने बाघ मिश्रित खालको जंगलमा बस्छ। चुरे क्षेत्रमा आराम गर्न पुग्छ। आहारा प्रजाति र पानीको श्रोत भएको आसपासमा बढी सक्रिय हुन्छ। दिउँसो आरामगर्ने र साँझ बिहान सक्रिय हुने जनावर हो बाघ। 

दिउँसो शितल ठाउँमा बस्ने गर्मीमा शान्त वातावरण भएको नदीमा पौडी खेल्न रमाउँछ। बाघको वासस्थानका लागि चुरे, नदी तटिय क्षेत्र र साल फरेष्ट  चाहिन्छ।

घाँसे मैदानमा चित्तल, जरायो, बँदेललगायत वन्यजन्तुहरू हुने भएकाले शिकारका लागि त्यहाँ पुग्छ। दुर्लभ एकसिंगे गैंडा भने घाँसे मैदान र नदी तटिय क्षेत्रमा बस्छ। गैंडा, बाघ जतिमाथि चुरे क्षेत्रमा नजाने जनावर हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.