|

जनकपुरधाम : भारतमा जसरी ताजमहल प्रख्यात छ। त्यसरी नै नेपालको ताजमहलको नामले जानकी मन्दिर विख्यात छ। त्यसो त मिथिलाञ्चल स्वयं नै मन्दिर रूपी पवित्रस्थलको रूपमा परापूर्वकालदेखि नै प्रसिद्ध छ।

यहाँको धर्तीको भूमिमा माता जानकीको उत्पति भई यहाँको माटोको कणकणमा लडिबुडी गरी बालसमय विताउनु तथा योवनावस्थामा भगवान् राम राजा जनकको दरवारमा आई परशुरामको शिव धनुष भङ्गगर्नु जस्ता दार्शनिक तथा किम्वदन्तीले मिथिला प्रख्यात छ। धार्मिक, सांस्कृति, ऐतिहासिक तथा पूरातात्विकस्थल आरम्भदेखि नै सम्मानित,पूजनीय एवं आस्था र विश्वासका प्रतीकका रुपमा रहेको जानकी मन्दिरलाई सरकारको वेवास्ता गरिरहेको आरोप लाग्दै आएको समयमा प्रदेश सरकारले सौन्दर्यीकरण अभियान अन्तर्गतको योजना अघि सारेको छ।  

किम्बदन्ती अनुसार भारतका टिकमगढका निः सन्तान राजा नरेशप्रताप सिंहले शिकार खेल्न आएका समयमा यहाँको ख्याति सुनी आफ्नी रानीलाई तीर्थ गर्न भनी आएको बेला भाकल गरेबमोजिम रानीले पुत्र प्राप्त गरेमा ९ लाख रुपैयाँ लगाई भव्य मन्दिर बनाउने बाचा अनुरुप जानकी मन्दिरको निर्माण भएको मानिन्छ। सोही समयदेखि नौंलखा भनिएका जानकी मन्दिर सरकारको उपेक्षामा परेको गुनासोका सामु प्रदेश सरकारले पर्यटकीय रुपमा विकासका लागि सौन्दर्यीकरण गर्न ७ करोड बजेट दिने भएको हो।

मन्दिरको निर्माण र राजा नरेशप्रताप सिंहकी पत्नी वृषभानु कुँवरीले ९ लाख लगाएर १२ वर्षसम्म मन्दिर निर्माण गर्न लागाएको किम्वदन्ती छ। मन्दिरको शिलालेख अनुसार विसं १९५२ माघ २८ गते शिलान्यास र विसं १९६७ माघ २८ गते मूर्ति प्रतिष्ठा भएको हो। अहिलेको मन्दिरको आफ्नै मौलिकता हराउँदै गएको समयमा विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रतिक्षामा रहेको जानकी मन्दिर परिसरमा स्वच्छ, सुन्दर, रमणीय स्थलहरुको निर्माण, सरसफाइ, बगैंचा निर्माण गर्ने अभिप्रायले सौन्दर्यीकरण गर्ने योजना सुरुवात गर्न लागिएको हो।

मुख्यमन्त्री मो. लालबाबु राउतले विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाका रुपमा विश्वभर चिनाउन मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर सौन्दर्यकरण परियोजना सुरु गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। पौराणिक कथन अनुसार मन्दिरको निर्माणमा बेलायती महारानीका चाँदीका सिक्काहरू तीनदेखि चार लाख खर्च भएको भनिन्छ। त्यो समयमा मन्दिर बनाउन नौ लाख संकल्प गरिए पनि करिब १५ लाख खर्च भएको पूरातत्वविद्हरूको कथन छ।

मुगल वास्तुशैली र हिन्दू वास्तुशैलीको अनुपम संगमबाट बनेको यो मन्दिरले हेर्दा वास्तु कलाकारिताको विलक्षण प्रतिभालाई उजागर गर्दछ। ४९ हजार ५५५ वर्गफिटमा फैलिएको सो मन्दिर ५० फिट अग्लो रहेको छ। पूर्वतर्फ मुख्यद्वारा रहेको मन्दिरको शोभा चारैतिरका ठूला र साना गुम्बजहरूले सजाइएको छ भने, चारैतिर विभिन्न रङ्गका रङ्गीचङ्गी फूलबुट्टाले सिङ्गारिएको छ। मन्दिरमा ६० वटा कोठा रहेका छन्। यी मध्ये शिश गर्भगृह विशेष महत्वपूर्ण छन् भने मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त कलात्मक र आकर्षक छ। जहाँ प्रायः सबैलाई जान निषेध गरिएको छ। 

सोही विश्वविख्यात जानकी मन्दिर परिसरमा आकर्षक भौतिक संरचना निर्माणका लागि प्रदेश २ सरकारको मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत पहिलो चरणमा ७ करोड लगानीमा भौतिक संरचना निर्माणपछि विश्वभरका पर्यटकलाई जनकपुरधाम आउने वातावरण सिर्जना गर्ने लक्ष्यसहित काम अघि बढाइएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनका लागि केही दिनभित्रै टेन्डर प्रक्रिया सुरु हुने मुख्यमन्त्री राउतले प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरको मुटु जानकी मन्दिरबाटै मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ गरेका थिए। यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकी मन्दिरलाई उज्यालोयुक्त बनाउन लाइटिङ सिस्टमका लागि तीन करोड ५० लाख लगानी गर्ने मन्दिर व्यवस्थापन सित सम्झौता गरी काम सुरु गरिसकेको छ। एनआरएनले मन्दिरभित्र चारैतिर अत्याधुनिक बत्ती जडान गर्न लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.