|

टर्कीले सिरियाको विद्रोहीको कब्जामा रहेको इड्लीब प्रान्तमा मङ्गलबार थप सैनिक पठाएको छ। अङ्कारा र मस्कोबीच इड्लीबमा तत्काल सैन्य कारबाही नगर्ने सहमति भएलगत्तै टर्कीले इड्लीबमा सैनिक तैनाथी बढाएको हो।

इड्लीबको दक्षिणमा रहेको साराकिब सहरको मुख्य सडकमा करिब ३५ वटा सैनिक गाडीहरु प्रवेश गरेका थिए। सैनिक सवारीलाई अङ्कारा निकटस्थ नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) समर्थक विद्रोहीले पनि सुरक्षा दिएका थिए। यी विद्रोहीले टर्कीसँगको सिमानाका केही सिरियाली क्षेत्रमा नियन्त्रण गरिरहेका छन्।

गत वर्षदेखि टर्कीले विद्रोही इलाकामा १२ वटा अनुगमन स्थलहरुमा सैनिक तैनाथ गरेको छ। टर्की, रसिया र इरानबीचको सहमतिमा टर्कीले यी पोष्टहरू राखेको छ।

गत साता, अङ्कारा र मस्कोले गैरसैनिक क्षेत्र निर्माण गर्नेसम्बन्धी सम्झौता गरेका थिए। सिरियाको पूर्व अलकायदासँग निकटस्थ जिहादी गठबन्धन हायात तहरिर अल–शामले विद्रोही क्षेत्रको आधाभन्दा बढी भूभाग कब्जामा राखेको छ भने एनएलएफका लडाकूले बाँकी क्षेत्रमा कब्जा गरेका छन्।

पछिल्लो सम्झौतामा विद्रोहीले अक्टोबर १० भित्रमा आफूसँग रहेका सबै भारी हातहतियार टर्कीलाई सुम्पने तथा अक्टोबर १५ भित्रमा सबै अतिवादी क्रियाकलाप बन्द गर्ने उल्लेख छ।

सम्झौतामा टर्की र रुसी सेनाले असैनिक क्षेत्रमा गस्ती गर्ने उल्लेख छ।

सन् २०११ मा शुरु भएको सिरियाको गृहयुद्धमा ३ लाख ६० हजारभन्दा बढी मानिस मारिनुका साथै करोडौं मानिस विस्थापित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.