|

कंचनपुर : महेन्द्रनगर नगर विकास समितिको जग्गामा धमाधम अवैध संरचना निर्माण गरिएका छन्। निर्मला पन्त हत्या प्रकरणमा चर्किएको आन्दोलनको मौका छोपेर होटल ओपेरा, पुरानो बसपार्क र खोका छाप्रा क्षेत्रमा धमाधम अवैध निर्माण कार्य थालिएको हो।

आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालयका अधिकार र सुरक्षा अधिकारी फेरिएपछि एकाएक अवैध कब्जा गरी संरचना निर्माण गरिएका हुन्। नगर विकास समिति स्रोतले केही कर्मचारीको मिलेमतोमा अवैध रूपमा निर्माण गरिएको बताएको छ। ‘यो सरासर मिलेमतोमा अतिक्रण गरिएको हो नत्र आफ्नो जग्गा कब्जा हुँदासमेत मौन किन बसेका होलान्? मिलेमतोबिना यसरी कब्जा हुनै सक्दैन’, नगर विकास समितिका एक कर्मचारीले भने। यसअघि जिल्ला प्रशासन कार्यालयले प्रहरी लगाएर अवैध निर्माण रोक्का गर्दै आएको थियो।

नगर विकास समितिको जग्गामा अवैध संरचना निर्माण गरिएको बाहिर आएपछि भीमदत्त नगरपालिकामा सर्वदलीय बैठक गरिएको छ। बैठकले भीमदत्त नगरपालिकालाई अवैध संरचना निर्माणका लागि पहल गर्न आग्रह गरिएको छ। सर्वदलीय बैठकको आग्रहपछि नगरपालिकाले अवैध संरचना निर्माण रोक्न जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयसित आग्रह गरेको नगर प्रमुख सुरेन्द्र विष्टले बताए।

नगर विकास समितिको अवैध रूपमा जग्गा कब्जा गरी निर्माण गरिएका संचरना र कब्जा गरिएको जग्गासम्बन्धी छानविन समिति गठन गरिएको थियो। गत वर्ष समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि नगर विकास समितिले प्रतिवेदन कार्यान्वयनका लागि तत्कालीन नेकपा एमालेका नेता रणबहादुर महराको संयोजकत्वमा राजनीतिक दलसहितको समिति गठन गरेको थियो। समितिले गत वर्ष समितिलाई अवैध निर्माण गरिएको जग्गा र संरचनाको सूचीसहित प्रतिवेदन बुझाएको थियो।

समितिको सिफारिसका आधारमा प्रतिवेदन कार्यान्वयनका लागि नगर विकास समितिका अध्यक्ष विष्टको संयोजत्वमा दुई सदस्यीय कार्यविधि निर्माण समिति गठन गरिएको थियो। समितिमा नगर विकास समितिका सदस्य सचिव शहरी विकास तथा भवन निर्माण डिभिजन कैलालीका इन्जिनियर मोहनदेव अवस्थी सदस्य छन् ।

सुरुमा १५ दिनभित्र प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको समितिले तयार पारेको प्रतिवेदन पारित नभएपछि फेरि म्याद थप गरिएको थियो। त्यसपछि अहिलेसम्म प्रतिवेदन पेस गरिएको छैन।

 नगर प्रमुखप्रति कांग्रेस आक्रामक

प्रमुख प्रतिपक्षी कांग्रेस आफैँले नेतृत्व गरेको महेन्द्रनगर नगर विकास समितिको अवैध जग्गा कब्जामा समेत भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टप्रति आक्रामक भएको छ। कांग्रेस कंचनपुरले केही दिनअघि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी अवैध रूपमा जग्गा कब्जा गरी निर्माण गरिएका संरचना माग गरेको थियो।

पत्रकार सम्मेलनमा कांग्रेस नेताहरू अवैध जग्गा कब्जामा नगर विकास समितिका अध्यक्ष कांग्रेस नेता सुरेन्द्रबहादुर विष्टभन्दा भीमदत्त नगरपालिका नगर प्रमुख विष्टप्रति आक्रामक देखिएका थिए। कांग्रेस जिल्ला नेतृत्व नगर प्रमुख विष्टलाई अवैध जग्गा कब्जामा विवादमा तान्ने खोजिएको स्पष्ट देखिएको थियो।

कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट अध्यक्ष रहेको महेन्द्रनगर नगर विकास समितिमा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्ट पदेन सदस्य छन्। समितिका जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिसहित भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय पदेन सदस्य हुन्छन्।

समितिमा आफ्नो पार्टीको अध्यक्ष भएको कांग्रेस जिल्ला नेतृत्व अध्यक्षलाई अतिक्रमण रोक्न निर्देशनसम्म दिन नसक्ने गरी राजनीतिक प्रतिरोध साँध्नका लागि नगर प्रमुख विष्टविरुद्ध उभिएको छ। कांग्रेसले हालसम्म नगर विकास समितिको अवैध जग्गा कब्जामा नगर विकास समितिका अध्यक्ष विष्टसँग सल्लाहसमेत नगरेको नगर विकासका कर्मचारीहरू बताउँछन्।

कांग्रेसले पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा अवैध जग्गा कब्जामा नगर प्रमुख र नगरपालिका कार्यालय मौन बसेको आरोप लगाएको थियो।

अवैध संरचना निर्माण रोक्न पत्राचार

भीमदत्त नगरपालिकाले महेन्द्रनगर विकास समितिको जग्गामा निर्माणाधीन संरचना निर्माणको कार्य रोक्न नगरविकास समितिलाई पत्राचार गरेको छ। भवन आचारसंहिताविपरीत संरचना निर्माण हुन थालेपछि रोक्नका लागि पत्राचार गरिएको हो। 

नगर विकास समितिलाई पठाएको पत्रको बोधार्थ नगरपालिकाले शहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ। नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले नगर विकासको जग्गामा मापदण्डविपरीत संरचना निर्माण गरिएको जानकारी आएपछि रोक्नका लागि नगर विकासलाई पत्रचार गरेको बताए।

संरचना निर्माण रोक्का गर्न नगर विकास समिति बेवास्ता गरेमा स्थानीय प्रशासनको सहयोगमा मापदण्डविपरीत निर्माण गरिएका संरचना भत्काइने उनले बताए। स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २७ मा नगरपालिका क्षेत्रमा घर निर्माणका लागि नक्सा पास गर्नुपर्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.