|

विराटनगर :  देशलाई सातवटा प्रदेशको खर्च धान्न सकस भएको भनेर अर्थविद्हरूले आलोचना गरिरहेका बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ११ प्रदेश नभएसम्म आफूहरूको आन्दोलन जारिरहने बताएका छन्। विराटनगरमा मंगलबारदेखि सुरु भएको संघीय समाजवादी फोरम नेपालको प्रदेश १ स्तरीय पहिलो भेलालाई उद्घाटन गर्दै यादवले पार्टी सरकारमा रहे पनि आन्दोलन जारी रहेको बताएका हुन्।

अहिले कायम रहेको ७ वटा प्रदेशको कुनै पनि संरचना नमिलेको दावी गर्दै यादवले जनचाहना अनुसार संविधान संशोधनको माध्यामबाट प्रादेशिक संरचना नयाँ बनाउनुपर्ने जिकिर गरे। यादवले भारतमा १३ बाट सुरु भएको प्रदेश ३२ वटा पुगेको र अमेरिकामा १२/१३ वटाबाट सुरु भएको प्रादेशिक संरचना ५० वटाभन्दा बढी पुगेको उदाहरण पेस गर्दै नेपालमा पनि प्रदेशको संख्या बढ्नसक्ने दावी गरे।

संविधानमा धेरै त्रुटि रहेकोले यादवले संविधानमा रहेका मौलिक हकको कार्यान्वयनका लागि कानुन निर्माण भइरहेको जानकारी दिए। संविधान संशोधन गरेर मात्रै अगाडि बढ्न सकिने बताउँदै उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा आफूहरूको जोड रहेको जानकारी दिए। समाजवाद संविधानमा लेखेर आउन नसक्ने बताउँदै यादवले समृद्धि र समानता नआएसम्म समाजवाद आउन नसक्ने दावी गरे।

कांग्रेसले बिपी कोइरालासँगै समाजवाद छोडेको र नेपालका कम्युनिस्ट पार्टीहरूको पनि समाजवादी मुद्दा नरहेको उनको भनाइ छ। विभेद र समानताको कुरै सुन्न नसक्ने पार्टी कम्युनिस्ट हुन नसक्ने उनले बताए। भेलालाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयन गर्न  प्रशासान संयन्त्रले नदिएको आरोप लगाए। कर्मचारी प्रशासनमा अझै पनि केन्द्रीकृत मानसिकता रहेको बताउँदै उनले कर्मचारीको यथास्थितिवादी सोचमा परिवर्तन ल्याउनु आवश्यक रहेकोमा जोड दिए। 

फोरम नेपालको पहिलो प्रदेशस्तरीय भेला दुई दिनसम्म चल्नेछ। भेलाले प्रदेशको अधिवेसन आयोजक समिति निर्माण गर्नुको साथै संगठन निर्माण र पार्टीले लिनुपर्ने आवश्यक रणनीतिक योजना निर्माण गर्ने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.