|

चितवन : चितवनको रत्ननगर नगरपालिकाले मंगलबारदेखि विभिन्नस्थानमा निःशुल्क वाइफाई सेवा सुरु गरेको छ।

सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पुर्‍याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाइफाइ सेवा सुरु गरेको नगरप्रमुख नारायण वनले जानकारी दिए। उनले नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यस्वरूप मंगलबारदेखि वाइफाईसेवा सुरु गरिएको उल्लेख गरे।

पहिलो चरणमा रत्ननगरको सौराहा, कृष्णप्रणामी मन्दिर, बसपार्कलगायतका स्थानमा वाइफाई सेवा सुरु गरिएको छ। इन्टरनेटसेवा प्रदायक कम्पनी टेकमाइन्डस् नेटवर्कसँगको सहकार्यमा सुरु भएको वाइफाई सेवाको प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले मंगलबार उद्घाटन गरे।

सो क्रममा उनले नगरपालिकाले सूचना प्रविधिलाई प्रयोग गर्ने प्रयास गरेको भन्दै प्रशंसा गर्दै ईन्टरनेटबाट सर्वसाधारणले धेरै कुरा सिक्न सकिने औँल्याए।       इन्टरनेटको सही सदुपयोग हुनसके बालबालिकाकाको क्षमता विकासमा ठूलो सहयोग गर्ने उनको धारणा थियो। प्रदेश ३ का प्रदेशसभा सदस्यद्वय कृष्ण खनाल र कञ्चन खनालले नगरपालिकाले सूचना र प्रविधिको क्षेत्रमा गरेको प्रयास महत्वपूर्ण रहेको उल्लेख गरे।

यसैबीच मंगलबार रत्ननगर १० मा रहेको वैरीया माध्यामिक विद्यालयले प्राविधिक शिक्षाको पढाइ सुरु गरेको छ। रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा सो विद्यालयले पशु विज्ञानको तीन वर्षे स्नातकतहको कक्षा सुरु गरेको हो।

मंगलबार प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र रत्ननगर नगरपालिका प्रमुख नारायण वनले प्राविधिक शिक्षाको उद्घाटन गरेका थिए। यसअघि पञ्चकन्या माध्यामिक विद्यालयमा इलेक्टोनिक्स इन्जिनियर र जनजागृति माध्यामिक विद्यालयमा सिभिल इन्जिनियरको पढाइ सुरु भइसकेको छ।

रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत विभिन्न क्षेत्रमा जग्गा संरक्षण गरी रत्ननगरको सौराहाचोकमा बसपार्कसमेत सञ्चालनमा ल्याइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.