|

रौतहट : गत भदौ २७ गते चन्द्रपुर नगरपालिका ६ बजारटोलमा एसिड प्रहारबाट घाइते भई उपचारका क्रममा १८ वर्षीया सम्झना दासको निधनले चन्द्रनिगाहपुरबासी पूरै शोकमा डुबेको छ। १५ वर्षीया बहिनी सुस्मिता दाससँगै आफ्नो घरमा सुतिरहेको अवस्थामा मध्यरातमा दुवै दिदीबहिनीमाथि एसिड आक्रमणपछि गम्भीर घाइते सम्झनाको कीर्तिपुर अस्पतालमा सोमबार निधन भएको थियो।

उनको शवलाई मंगलबार आफ्नै परम्पराअनुसार चन्द्रनिगाहपुरमा ल्याएर दाहसंस्कार गरिएको छ। सम्झनाको निधनले चन्द्रपुरबासी नै शोकमा डुबेको छ। निर्दोष किशोरीमाथि एडिस प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने स्थानीय युवा सहदेव केसीले माग गरेका छन्।

एसिड प्रहार गरेको आरोपमा उनकै छिमेकी रामबाबु पासवाललाइ प्रहरी नियन्त्रण लिएर आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको छ। आफ्ना दुई छोरीमाथि आफ्नै छिमेकी ५० वर्षीय पासवानले राति सुतिरहेको बेलामा एसिड प्रहार गरेको सम्झनाका बाबु जादोलाल दासले बताए।

एसिड प्रहार गर्नेलाई यस्तो छ सजाय

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १९३ मा तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने भनिएको छ। सो दफाको उपदफा १ मा कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन भनिएको छ।

त्यसैगरी उपदफा २ मा  उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ भने उपदफा (२) बमोजिम जरिबानाबापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्तिबापत दिनु पर्नेछ भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.