दुईतिहाइको दम्भमा सरकार उल्टो बाटो हिँडेको आरोप

|

पर्सा : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम घडी आइसकेको बताएका छन्। जिल्ला कार्य समिति पर्साले बुधबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले यस्तो बताएका हुन्।

‘हामी यतिखेर वेट एन्‍ड वाचको अवस्थामा छौँ। नेपाल सरकारलाई दिएको समर्थन छोड्न व्यापक दबाब आउन थालेको छ। ‘हामी कुनै पनि वेला सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको घोषणा गर्न सक्छौँ' उनले भने। सरकारलाई हाम्रो पार्टीको समर्थन राम्रो कामको लागि मात्र हो। यो अहिले सम्मकै यति शक्तिशाली सरकार हो। संविधान संशोधनदेखि जे पनि राम्रा काम गर्न सक्छ। तर, सरकार दुईतिहाइको दम्भमा उल्टो बाटो हिँड्दै छ। महिला हिंसाको सवालमा त सरकार रक्षकको रुपमा नभएर भक्षकको रुपमा देखा पर्दैछ। के जनताले दुईतिहाइको सरकार यसैका लागि बनाएको हो? उनले आफ्नै समर्थनमा रहेको सरकारको कडा आलोचना गरे।

टीकापुर घटनाका मुख्य योजनाकारका रूपमा राज्यले हेरिरहेको रेशम चौधरीलाई निर्वाचन जितेपछि प्रमाण पत्र नदिएको र शपथग्रहण नगराएको भनी सरकारसँग रुष्ट हुँदै आफ्ना अभिव्यक्ति दिन थालेका अध्यक्ष मण्डलका सदस्य महतोले संसददेखि सडकसम्म जाने अवस्था बन्दै गरेको दाबी गरे। 'जुन कामको लागि बन्द हडताल र नाकाबन्दीसम्म गरियो अझै संविधान संशोधन भएको छैन त्यसैले पनि सरकारलाई समर्थन गरिरहनुको खासै अर्थ छैन' उनले तर्क गरे।

 मधेसमा बन्न लागेको निजगढ अन्तराष्ट्रिय एयरपोर्ट पनि नबनाउने नियतले जंगलको विनास गरी पर्यावरणमा आँच पुग्ने विवाद खडा गरिँदै छ। यो २ नम्बर प्रदेशमा अन्तरार्ष्ट्रिय राष्ट्रिय एयरपोर्ट नबनाउने षड्यन्त्र हो। इमान्दार भएर काम गरे हाल पहिचान गरिएको ठाउँभन्दा ८/१० किलोमिटर दक्षिण वा पूर्वतर्फ सारनाथ वन परियोजनाको हजारौँ बिघा खुला जमिनमा एयरपोर्ट बनाउन सकिने उनले बताए।

फरक अर्को प्रसंगमा नेता महतोले तीनै तहका सरकारले अत्याधिक करको दर बढाएर संघीयतामाथि नै खतरा हुनेगरी कार्य सम्पादन गर्न थालेको भन्दै संघीयता असफल भए मुलुक नै असफल हुने दाबी गरे। संघीयता नचाहनेले त संघीयता मजबुत बनाउन चाहेकै छैनन्। त्यसैले प्रान्तलाई अधिकार दिने कुरामा केन्द्र सरकार मानिरहेकै छैन।

देशको सुरक्षा, विदेश नीति र मौद्रिक नीतिमात्र केन्द्र सरकार र बाँकी सबै प्रदेश सरकारलाई दिएर अधिकार सम्पन्न प्रदेश बनाए मुलुक र संघियता बाँच्ने नेता महतोको तर्क छ। पाएको अधिकार प्रयोग गर्न नसक्ने प्रदेशहरु, त्यसमा पनि २ नम्बर प्रदेशले आफ्नो अधिकारको काम नगरी केन्द्रलाई देखाएर पन्छिन मिल्छ? भनी सञ्‍चारकर्मीले राखेको जिज्ञासामा नेता महतोले कर्मचारी नै नदिएर काम हुन नसकेको जिकिर गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.