|

संस्कृतिकर्मी र धर्मशास्त्रीहरूको भनाइ उद्धृत गर्दै कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिका पाँच दिनलाई सञ्चार माध्यममा ‘यमपञ्चक’ भन्ने गरिएको छ। पञ्चाङ्ग निर्णायक समितिले निकालेको पञ्चाङ्गमा समेत तिहारमा ५ दिन हुने उल्लेख गर्दै यमपञ्चककै संज्ञा दिइएको पाइन्छ तर, तिहारको प्रसङ्ग आउने विभिन्न पुराणमा यमपञ्चक शब्दको उल्लेख पाइँदैन। 

यमपञ्चकलाई पुष्टि गर्न नेपाली समाजमा विभिन्न कथाको प्रसंग चलेको पाइन्छ। मृत्युदेव यमराजलाई बहिनी यमुनाले ५ दिनसम्म आफ्नो अतिथि बनाएको, यमसँग सम्बन्धित भएकाले उनका दूत मानिएका कुकुर र कागको पूजा गरिएको प्रसङ्गहरू लौकिक रूपमा चलेको बुझ्न सकिन्छ। तिहारलाई ‘दीपावली’ वा ‘दिवाली’ का रूपमा मनाउने भारतका अधिकांश स्थानमा यमपञ्चकको उल्लेख पाइँदैन। राणाकालमा बनेको मुलुकी ऐनमा भने यमपञ्चक उल्लेख गरिएको थियो। राणाकालमा यमपञ्चकका ५ दिनसम्म जुवा खेल्न छुट थियो। 

यमपञ्चक शब्दको शास्त्रीय आधार भने पाइँदैन। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई तिहार भनिए पनि तीन दिनमात्र विशेष रहेको बुझिन्छ। शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तकमा उल्लेख भएअनुसार पौराणिक ग्रन्थहरूमा चतुर्दशी, औंसी र प्रतिपदा गरी तीन दिनलाई तिहार मानिएको छ। 

कृषिकर्म वा गौपालनमा आधारित जनजीवनमा उत्सवको रूपमा यी तीन दिनलाई लिइएको पाइन्छ । यस्तै लगत्तै आउने कार्तिक शुक्ल द्वितीयामा मनाइने भ्रातृद्वितीया दिदीभाइ वा दाजुभाइबीचको प्रेम र सम्मानको पर्व मानिन्छ।

श्रीमद्भागवतलगायतका पुराणमा दानवराज बलिका विभिन्न सन्दर्भ आउँछन्। त्यसमध्ये वामनरूपी भगवान् विष्णुले तीन पाउ जमिन माग्दा दिन नसकी दानी मानिएका दानवराज बलि पाताल भासिनुपरेको सन्दर्भ चर्चित छ। तीन पाउ जमीन दिन नसकी पाताल जान निर्देशन दिएपनि विष्णुले वर्षको तीन दिन बलिलाई दिएको बताइन्छ। यसको पुष्टि पुराणहरूमा कार्तिक कृष्ण चतुर्दशीदेखि शुक्ल प्रतिपदासम्मका तीन रात्रिलाई ‘बलिराज्यत्रिरात्र’ भनिएबाट पनि हुन्छ। 

त्रिरात्रबाट अपभ्रंश भई तिहार बनेको अनुमान गर्न गाह्रो छैन। यी तीन तिथिमा शासकले देशका नागरिकलाई खेल, नाचगान र उत्सवका लागि अनुरोध गर्ने त्यसका लागि वातावरण मिलाइदिएर उत्साहित पानुपर्ने बताइएको छ। राणाकालमा जुवा फुकाउने गरेको यसैको एक रूप होला। यसैगरी सर्वसाधारणले पनि घरघर र देवालयहरूमा दीपावली गर्ने बताइएको छ। तिहारमा देखिने झिलीमिली, उत्सव, द्यौसीभैलो र तिनमा आउने बलिराजाको प्रसंगले पनि यस पर्वको रूपलाई उजागर गरिरहेको हुन्छ।

बोलीचालीमा यमपञ्चक भनिँदै आएको पहिलो दिन कागको पूजा गर्ने चलन छ। यसरी कागको पूजा गर्नाले र भात तरकारी लगायतका पदार्थ खान दिनाले नराम्रा खबर सुन्नु नपर्ने विश्वास गरिन्छ। यसैगरी दोस्रो दिन चतुर्दशीमा कुकुरको पूजा गर्ने, खानेकुरा ख्वाउने गर्नाले यमद्वारको यात्रा सहज हुने बताइन्छ। तर शास्त्रमा तिहारमा काग तथा कुकुरको विशेष पूजा गर्ने विधान कतै पाइँदैन।

पौराणिक मान्यताअनुसार काग र कुकुरलाई प्रत्येक दिन घरमा पाकेका खानेकुरा ख्वाउनुपर्छ। पहाडी भेगतिर अझै पनि बिहानको खाना पाकेपछि भात, दाल तरकारी पात वा दुनामा राखी काग र कुकुरलाई छुट्याएर बाहिर राख्ने चलन छ। यसैले पनि तिहारमा कुकुर र कागको विशेष पूजा गर्ने विधि बताइएको छैन। यो लौकिक परम्परा हो।

कात्तिक शुक्ल त्रयोदशीका दिन साँझपख ‘यमदीपदान’ गर्नाले अपमृत्यु नाश हुने पुराणहरूमा बताइएको छ। त्रयोदशीकै दिन आयुर्वेदका विद्यार्थीहरू धनवन्तरीलाई सम्झिने गर्छन्। यसैगरी चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पनि छ। यसलाई नरक चतुर्दशी वा बोलीचालीमा ‘नरके चतुर्दशी’ भनिन्छ। 

तिहारका तीन रातमध्ये पनि कार्तिक कृष्ण अमावस्या (औंसी) लाई विशेष मानिएको छ। साँझ लक्ष्मीपूजा गर्ने विधि पुराणहरूमा पाइन्छ। लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि वा दीपमालिका वा दीपावली भनिन्छ। लक्ष्मीपूजामा गरिने उत्सवलाई ‘कौमोदिनी–महोत्सव’ भनिन्छ। लक्ष्मीपूजाको दिन बिहान गाईलाई लक्ष्मीका रूपमा पूजा गर्ने चलन पनि छ। लौकिक चलनअनुसार श्रावण पूर्णिमाका दिन हातमा बाँधेको डोरो गाईको पुच्छरमा बाँध्ने गरिन्छ। 

फोहोर ठाउँमा लक्ष्मीको बास नहुने मान्यताअनुरूप घर र वरिपरि सफासुग्घर राख्ने लिपपोत गरिन्छ। पुराणमा ‘लक्ष्मीर्वसति पुष्पेषु...’ अर्थात् लक्ष्मी फूलमा बस्छिन् भन्ने प्रसंग आउँछ। लक्ष्मीपूजा, भ्रातृपूजा आदि हरेक कार्यका लागि फूलकै आवश्यकता पर्दछ। चलेको चलनअनुसार घरका झ्यालढोका सिंगार्नेदेखि पौराणिक मान्यताअनुरूप बाटाघाटा सिंगार्ने, तोरण आदि बनाउने कार्यमा फूलको प्रयोग हुन्छ। रात्रिमा समेत चल्ने उत्सव भएकाले बत्तीको आवश्यकता पर्ने भयो। सफासुग्घर भएको ठाउँ मानिसदेखि देवतासम्मलाई मन पर्छ नै।

प्रतिपदाका दिन प्रातःकालमा गोबर्धनको प्रतिमा बनाएर पूजा गर्ने, देवालय भएका वा अन्य बाटाहरूमा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने विधान छ। यस्तै गाई, गोरुका जीउमा राता सेता रंगले छाप लगाई सिंगार्ने पनि चलन छ। उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ। पुराणहरूमा यस दिन उत्सव गरी राम्रो लगाउने, मीठो खानेजस्ता कार्य गर्नुपर्ने बताइएको छ। 

रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने सन्दर्भ आउँछ। यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ। तिहारका तीनदिन विभिन्न प्रकारका उत्सव गर्ने नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नै द्यौसीभैलोको परम्परा चलिहेको बुझिन्छ। 

द्यौसीभैलोसँगै स्थान विशेषअनुसार बालन, खैंजडी भजनजस्ता संस्कृति चलिरहेका छन्। यसको विभिन्न पक्ष भएपनि प्रमुख उद्देश्य मनोरञ्जन गर्ने र गराउने नै हो। लोकव्यवहारमा भने गोवर्धनको प्रतीक बनाएर पूजा गर्ने र गोरुको पूजा गरी उनीहरूको अनुकुलको पदार्थ खुवाउने, उनीहरूलाई खुल्ला छोडिदिने चलन छ। गोक्रिडाअन्तर्गत सुरु भएको तिहार पर्वमा गाईगोरुप्रतिको सम्मान पनि सान्दर्भिक मान्न सकिन्छ।        

कार्तिकशुक्ल द्वितीयाका दिन यमुना वा पवित्र नदीमा स्नान गरी यमराजको पूजा गर्ने विधान पाइन्छ। पुराणहरूमा यमुनाले यम(राज)लाई स्वागत गरी यसै दिन आफ्नो घरमा भोजन गराएको  र यमले पनि लुगा गहना उपहार दिएर यमुनाको सम्मान गरेको प्रसंग पुराणमा आउँछ। 

स्कन्दपुराणमा दिदीबहिनीको निम्ता पाएर वा आफैं उनीहरूको घर जाने, दिदीबहिनीले दाजुभाइको शिरमा तेल घसी सिंगारेर माला लाइदिने, आफ्ना हातबाट बनेका भोजन गराउने, पानमसला आदि सगुन दिने सन्दर्भ आउँछ। यसैगरी दाजुभाइले गच्छेले भ्याएअनुसार लुगाफाटा, अलङ्कार आदि उपहार दिनुपर्ने बताइएको छ।

पुराणमा भ्रातृद्वितीयालाई दाजुबहिनी र दिदीभाइबीचको स्नेहको छुट्टै पर्व मानिएपनि मखमली माला र सप्तरंगी टिकाको प्रसङ्ग कतै पाइँदैन। स्थान विशेषमा चलेको मखमलीको माला र सप्तरंगी टीका लगाउने चलन भाइटीकाको पर्याय बनिसकेका छन्। यससँगै ‘दिदीबहिनीले लगाइदिएको मखमलीको माला नओलाएसम्म, तेलको धारा नसुकेसम्म यमदूतले पनि लान नसक्ने’ विश्वास चलेको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.