|

काठमाडौं : जहाँ सामाजिक विभेदले  मान्छेलाई मान्छेको व्यवहार गरिँदैन। जहाँ आवाजमा लगाम लगाइन्छ र वाक स्वतन्त्रतामाथि धावा बोलिन्छ। विभेदले ठूलो रूप लिन्‍छ। तब त्यहाँ सुरु हुन्छ क्रान्ति। हरेक क्रान्तिले परिवर्तन खोजेको हुन्छ। समाज रूपान्तरण होस् या देशको राजनीतिक तथा आर्थिक रूपान्तरणको  एक मात्र विकल्प क्रान्ति सुरु हुन्छ तब। 

नेपालमा पनि ठूलाठूला क्रान्ति भएका छन्। तिनैमध्येको एक तत्कालीन नेकपा माओवादीले सुरु गरेको 'सशस्त्र जनयुद्ध।' निरंकुश राजतन्त्रको अन्त्यका निम्ति, भूमिहीन, सर्वहारा, पिछडिएका वर्ग, दलित, जनजाति तथा पिछडिएका वर्गको सम्मानजनक रूपमा बाँच्न पाउने अधिकारका निम्ति २०६२/०६३ सालमा देशमा दोस्रो जनआन्दोलन भयो। सरकार र माअोवादीबीच शान्ति वार्ता भयो। सशस्त्र जनयुद्ध स्थगित भयो। शान्ति वार्तासँगै सरकारमा आएको माओवादी नेतृत्वले आफ्ना कार्यकर्ताको योगदान भुल्यो। आफ्नो मुद्दा र सपना भुल्यो।

जनताले समृद्धिका लागि, देशको आर्थिक रूपान्तरणका लागि हजारौँ मान्छेले जीवन समर्पण गरे। कति मान्छे अहिले पनि शारीरिक रूपमा अपा‌ग भएर अस्पतालको शैय्यामा छन्। कति मान्छे पारिवारिक बोझ भएर बस्नुपरेको छ। देश संघीयतामा पुगिसक्दा पनि ती कार्यकर्ताको उचित सम्मान हुन सकेको छैन। उनीहरूको परिवारमा परेको दु:खदायी पीडामा मह्लमपट्टी लगाउन सकेको छैन सरकारले।  

जुन सपना देखाएर युद्धभूमिमा होमिएका थिए उनीहरू, उनीहरूको सपनामाथि तुषारापात भएको छ आज। ऊर्जाशील समय मृत्युसित लुकामारी खेलेर बित्यो। गोलाबारी र बन्दुकको नालसँग बित्यो। क्रान्तिको नेतृत्व गरेका व्यक्तिले आफ्ना मुद्दाहरू भुल्दै गए। युद्धमा होमिएका योद्धाहरूलाई समेत बलिको बोको बनाएर अवमूल्यन गरियो। आज तिनीहरूको अवस्था कस्तो छ? उनीहरूको जीवनमा आएको दर्दनाक स्थितिलाई समेटिएको नाटक 'जनयुद्ध जारी छ' सर्वनाम नाटक घरमा मंचन भइरहेको छ।

नाटकमा शर्मिला नगरकोटी, कृष्ण खड्का,  सुजिता अधिकारी, सुदर्शन अर्याल, धीरज थापा मगर,  मनोज महर्जन, आशिष काफ्ले,  इन्द्रबहादुर चौधरी, नमराज पराजुली, मुकेश हमाल, पासलाक्पा शेर्पा, शोभा लिम्बू, मोहन श्रेष्ठको अभिनय रहेको छ भने नाटकका मुख्य पात्रको रूपमा राज शाह देखिएका छन्।

यो नाटकमा विशेष गरेर युद्धमा होमिएका योद्धाहरूको कथा छ। नाटक असोज ५ गतेदेखि २१ गतेसम्म चल्नेछ।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.