पूर्वाधारविना महिला प्रहरी पठाउन सकिन्न : डिएसपी शाही

|

अछाम : ‘महिलालाई पछ्याउन थाल्यो भने मान्छेले अनर्थ सोच्छन्, मदिरा ओसार पसारमा महिला नै बढी संलग्न छन्’ इलाका प्रहरी कार्यालय विनायकका इन्चार्ज धनबहादुर चन्दले भने, ‘महिला प्रहरी भएको भए मदिरा नियन्त्रण गर्न सजिलो हुन्थ्यो।’ पञ्चदेवल विनायक नगरपालिका ६ तोलीमा शनिबार अवैध मदिरा ओसारपसार गरिरहेका महिलाहरुले प्रहरी गस्ती टोली देख्नासाथ भारी छोडेर भागे।

प्रहरीले ती महिलालाई पक्राउ गर्न प्रयास गर्‍यो तर विभिन्न समस्याले महिलालाई समात्न सकेन। महिलाले बोकिरहेको मदिरा भने प्रहरीले बरामद गर्‍यो। मदिरा नष्ट गर्दा गरिने मुचुल्कामा बेवारिसे अवस्थामा फेला परेको भन्ने शब्द उल्लेख गर्‍यो। केही समयपहिले विद्यालयमा पठनपाठन गर्न गएका २ जना बालकलाई अभद्र व्यावहार गर्दै गरेकी एक युवतीलाई समात्न प्रहरीलाई अर्को दिन नै पर्खिनुपर्‍यो। 

महिला प्रहरी नहुँदा महिलाका मुद्‍दामा असहज

जिल्लाको पूर्वी क्षेत्रका प्रहरी चौकीमा महिला प्रहरी नहुँदा दैनिक कामकाज गर्न प्रहरीलाई समस्या भएको छ। इप्रका कमलबजार र विनायक लगायतका प्रहरी चौकीहरुमा महिला प्रहरी नहुँदा महिलासँग सम्बन्धित मुद्धाहरुमा काम गर्न प्रहरीलाई असहज भएको हो। महिलासँग सम्बन्धित विभिन्न प्रकारका समस्याहरु दिन प्रतिदिन बढ्दै गएको बेला महिला प्रहरी नहुँदा कार्य सम्पादनमा समस्या भएको प्रहरी इन्चार्जहरुले बताएका छन्। 

पूर्वाधारविना महिला प्रहरी पठाउन सकिन्न : डिएसपी शाही

जिल्ला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले महिला प्रहरी नहुँदा काम गर्न समस्या भएको कुरा स्वीकार गर्दै समाधानका लागि तत्काल सम्भावना कम भएको बताएका छन्। जिल्लामा महिला प्रहरीको संख्या कम भएको तथा सदरमुकाम बाहिरका प्रहरी चौकीहरुमा भौतिक पूर्वाधारको व्यवस्थापन राम्रो नभएकाले तत्काल पठाउन नसकिने उनको भनाइ छ। ‘जिल्लामा महिला प्रहरी आउनै मान्दैनन् आइहाले पनि सदरमुकामबाहिर जान मान्दैनन्’ उनले भने, ‘पहिला-पहिला जुनसुकै स्थानमा जान्छु भने पनि पछि तराई नै गइहाल्छन्।’

महिला प्रहरी नै असुरक्षित

प्रहरी प्रमुख शाहीले भौतिक पूर्वाधारको अवस्था हेरिसकेपछि मात्र महिला प्रहरी पठाइने वा नपठाइनेबारे जानकारी दिने बताएका छन्। जनताको सुरक्षाका लागि जाने महिला प्रहरी नै सुरक्षित हुने वातावरण निर्माण गर्न स्थानीयलाई डिएसपी शाहीको अनुरोध छ। 

इलाका प्रहरी कार्यालय कमलबजार र विनायकमा महिला प्रहरीलाई बस्न कुनै पनि समस्या नभएको इलाका प्रहरी प्रमुखहरूको भनाइ छ। यी कार्यालयहरुमा यसभन्दा पहिले महिला प्रहरी वर्षौं बसेर गएकाले पनि बस्नका लागि उपयुक्त भएको प्रहरी नायब निरीक्षक धनबहादुर चन्दले बताएका छन्। 

पूर्वी क्षेत्रका प्रहरी कार्यालयहरुमा महिला प्रहरी नहुँदा खानतलासी लगायतका कार्यमा समस्या भइरहेको इलाका प्रशासन कार्यालय विनायकका प्रमुख शुभाष कार्कीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.