सरकारी संयन्त्रबाट सूचना पाउनै सकिनँ : मन्त्री यादव

|

काठमाडौं : नेकपाका सांसदहरूले दुईतिहाइ मतसहितको ‘कम्युनिस्‍ट’ सरकार जनताले बनाए पनि पछुताउने स्थितिमा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संसदीय समितिहरूका बैठकमा सरकारको तीव्र आलोचना गरिरहेका छन्।

मंगलबार भएको संसदको अर्थसमिति र बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा सरकारको कारण पार्टी आलोचनामा परेको गुनासो गरेका हुन्।

 ‘२०१७ सालमा कसैलाई गाली गर्नु पर्दा तेरा घरमा कांग्रेस पसोस् भन्ने गरेको सुनिन्थ्यो, अहिले कम्युनिस्‍ट पसोस् भन्ने हुन् कि’ बुधबार  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा सदस्य तथा नेकपा सांसद रामबीर मानन्धरले भने ‘नेकपाबाट नै मैले जितेको कारण डर लागेको छ।’‘कुनै कारणविना नै मन्त्रीको उपस्थितिमा उद्योग अनुगमन गरेर बन्द गरिनु, चिनीको आयात रोकेर महँगी बढाउने जस्ता काम भएका छन्’ नेकपाका सांसद तथा अर्थ समिति सदस्य मोतिलाल दुगडले मंगलबारको अर्थसमिति बैठकमा भने, ‘उद्योगीलाई निरुत्साहित बनाउने र जनतालाई महँगी थुपार्ने काम गरेर कसरी हुन्छ? समृद्ध नेपाल सुखी नेपाली।’

‘उद्योगीलाई निरुत्साहित बनाउने र जनतालाई महँगी थुपार्ने काम गरेर कसरी हुन्छ? समृद्ध नेपाल सुखी नेपाली।’

उनले चिनीको आयात रोकेर मूल्य वृद्धि भएको प्रति सरकारको ध्यानकर्षण गराएको थिए। ‘कर बढेको बढै छ, उपभोग्य बस्तुमा मूल्य पनि  बढेको बढै छ’ मानन्धरले भने ‘दशैंको आशिर्वाद तेरा घरमा कम्युनिस्‍ट नपसोस् आउने हो कि!’

सदस्य मानन्धरले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई इंगित गर्दै गरेको प्रश्‍नमा समिति सदस्यका रूपमा पछिल्लो ‘रो’ मा बसेका कांग्रेस सांसद प्रकाश रसायलीले सानो स्वरमा भने, ‘भन्छन् कि हैन, भन्न थालिसके।’

चिनीको मूल्यलाई लिएर बैठकमा सदस्यहरू रसायली, मानन्धर तथा अमृतादेवी अग्रहरीले सरकार जिम्मेवार नभएको बताए। सदस्य मानन्धरले प्रतिबन्ध लगाउनुपर्ने कुरामा आयात बढाएको र चिनीको मूल्य बढाउनलाई आयात गरिएको दाबी गर्दै सरकारको आलोचना बढेको बताए।

यहाँ पहिले पाकिस्तानबाट चिनी आयात गरेर स्टक गरेको समेत बुझिएको छ, कहाँबाट कति चिनी आयात भएको छ भनेर बुझ्न खोज्दा कस्तो गोपनीयताको कुरा हो मैले संयन्त्रबाट सूचना पाइनँ।

समितिका सदस्यहरूले उठाएका प्रश्‍नको उत्तरसहित आफ्नो धारणा राख्न समितिमा बोलाइएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले राखेको धारणाले सदस्यहरूले थप प्रश्‍न तेर्साउन पाए। तथापि, सम्बन्धित विषयमा उठाइएका धेरै प्रश्‍नको उत्तर आएन।

उपभोग्य वस्तुको मूल्यवृद्धिका सम्बन्धमा भएको छलफलमा यादवले भने, ‘यहाँ पहिले पाकिस्तानबाट चिनी आयात गरेर स्टक गरेको समेत बुझिएको छ, कहाँबाट कति चिनी आयात भएको छ भनेर बुझ्न खोज्दा कस्तो गोपनीयताको कुरा हो मैले संयन्त्रबाट सूचनै पाइनँ।’ उनले प्रधानमन्त्रीको  चासोमा अहिले चिनीको आयातमा प्रतिबन्ध लगाइएको बताए। चिनीको आयात रोक्ने सवालमा मूल्यवृद्धि गर्न नपाइने सर्त रहेको मन्त्री यादवको दाबी छ।

मन्त्री यादवको यो गुनासोले सरकार निरीह रहेको देखिएको समिति सदस्य देवेन्द्र पौडेल र रसायलीले बताए। ‘पहिले आयात बढाउने स्टक गर्ने र आयात रोक्न दबाब दिने अनि मूल्य बढाउने यो कस्तो शैली हो’ रसायलीले भने। मन्त्रीले चाहेको सूचना पाउनका लागि समितिले के गर्नुपर्छ, प्रधानमन्त्रीसँग डेलिगेसन जानुपर्छ भने पनि हामी जाउँला’ समितिका सभापति विमल श्रीवास्तवले भने।

गत महिनासम्म सर्वसाधरणको ७५ रुपैयाँ प्रतिकेजी आउने चिनीको मूल्य अहिले खुद्रा पसलमा ९५ रुपैयाँसम्म पर्न थालेको छ । मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले संसारभर अहिले उखुको उत्पादन बढेको र उखुको उत्पादन बढ्दा स्टक चिनीको कारण उखुले बजार नपाउन सक्ने अवस्था देखिएको बताए। ‘उखु नै खरिद नहुने हो कि भन्ने डरले संसारभर कर छुट दिएर अन्य देशमा पठाउने नीति अबलम्वन भयो हाम्रा आयातकर्ताले पनि सस्तोमा पाउँदा आयात बढाएका हुन्’ घिमिरेले भने ‘यसरी आयात बढेपछि अब किसानको उखु नै खरिद नहुने डर आयातमा रोक लगाइएको हो।’ उनले यस्तै अवस्थालाई हरेर विश्‍व व्यापार संगठन ‘डब्लुटिओ’ले बनाएको ग्यापको सिद्धान्तमा बसेर परिणात्मक बन्देज लगाइएको बताए।

प्रतिस्पर्धा बढ्ने र उत्पादन बढ्दा सामानको मूल्य घट्छ कि बढ्छ?, मलाई लाग्छ मूल्य घट्नुपर्ने हो किन बढ्यो?

सचिवले यही भनाइ राख्दा नराख्दै सदस्य मानन्धरले कुरा राखे  ‘प्रतिस्पर्धा बढ्ने र उत्पादन बढ्दा सामानको मूल्य घट्छ कि बढ्छ?, मलाई लाग्छ मूल्य घट्नुपर्ने हो किन बढ्यो?’ सचिवले जवाफ दिए ‘तपाईंको मतसँग सोह्रै आना सहमत छु, तर यस विषयमा मन्त्रीले नै जिज्ञासा मेटाउनुहुनेछ।’ यस विषयमा मन्त्रीले भने थप स्पष्ट गर्न चाहेनन् उनले चिनीको मूल्यवृद्धिको सम्‍बन्धमा उद्योगीसँग बसेर छलफल गर्ने प्रतिबद्धता जनाएका छन्।

सदस्य मानन्धरले पञ्‍चायत ढालेर प्रजातन्त्र आउँदा राज्‍यले घाटा खाएर पनि सर्वसाधरणको समस्या समधानमा लागिएको तर बल्लतल्‍ल आएको कम्युनिस्‍ट सरकारले यस्तो समस्या नबुझेको गुनासो गरे।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले सबै वस्तुको मूल्य घटाउने गरी उद्योगी, व्यापारी तथा व्यवसायीसँग छलफल भएको बताएका छन्। सामान्य पसलदेखि डिपार्टमेन्ट स्टोरहरूमा समेत उपभोग्य सामानको मूल्य दशैंको समयमा घटाउने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.