|

पोखरा : पोखरा २२ पुम्दीभूम्दीकी १० वर्षीया बालिका श्रेया सुनारलाई स्थानीय कुसुम पौडेलले चक्लेट किन्ने पैसा दिएर बलात्कार गरी हत्या गरेको खुलेको छ।  जिल्ला प्रहरी कास्कीले बुधबार प्रहरी कार्यालय परिसरमै पत्रकार सम्मेलन गरेर आरोपी पौडेललाई सार्वजनिक गरेको हो।  पौडेलले पत्रकार सम्मेलनमै बलात्कारपछि हत्या गरेको स्वीकारे। ‘हो मैले बलात्कार गरेर हत्या गरेको हुँ।’

जाँडले मातेका कुसुम सोमबार बिहान ११ बजेदेखि नै हेमबहादुर विकको भट्टीमा रक्सीले टिल परेर बसेर साथीहरुसँगै १२ बजे घर गएका थिए। उनीहरुले त्यति बेला नै भट्टीबाट रक्सी बोकेर उदय केसीको घरमा थप रक्सी पिएका थिए।

यसरी भयो बलत्कार र हत्या

रक्सीले टिल परेका कुसुम मध्यान्न पौने पाँच बजे मात्रै चुरोट किन्न भन्दै केसीको घरबाट निस्केका थिए। चुरोट किन्न हिँडेका कुसुमले बिस्कुट किन्न हिँडेकी श्रेयालाई भेटेका थिए। मामा घरमा बस्ने श्रेया मामाघरबाट करिब ७० मिटर तलको मन्दिरनजिकै कुसुमले चक्लेट खाऊ भन्दै पाँच रुपैयाँ पैसा दिएका थिए। पाँच रुपैयाँ पाएर मक्ख परेकी श्रेयालाई पुन १० रुपैयाँ दिएर प्रलोभनमा पार्ने कोसिस गरे। श्रेया भाग्न खोजेपछि कुसुमले झाडीमा धकेलिदिए।

श्रेया लडेकै ठाउँमा पुगेर कुसुमले जबरजस्ती कपडा खोले। जबरजस्ती गर्न खोजेपछि बालिका चिच्याइन्। चिच्याएपछि कुसुमले श्रेयाको घाँटी थिचे। 

श्रेया बेहोस भएपछि अब मरिसकी भन्दै उनले त्यहीँ रहेको ढुंगाले अनुहार, टाउकोमा हान्ने र टाउको थिच्ने गरे र नजिकै रहेको बाँसघारीको बाटो कुसुम सडकमा निस्के। सडकमा निस्केका कुसुमले त्यहीँ रहेको पानीको मूलमा हातखुट्टा धोइपखाली निरज खाजा घरमा चुरोट किनेर खाए।

बिस्कुट किन्न गएकी श्रेया फर्किनन्

सोमबार साँझ आफ्नै हजुरआमासँग पैसा मागेर घर नजिककैको पसलमा बिस्कुट किन्न गएकी श्रेया मंगलबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्।  

मंगलबार आठ बजे श्रेयालाई मृत अवस्थामा फेला पार्नेबित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  गाउँलेले उनलाई पसलतर्फ जाने बीचको खोल्सी छेउको झाडीमा मृत भेटाएका हुन् त्यस्तै बालिकाको तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्म सोरिएको स्थानीय राजन मिजारले जानकारी दिए। शवनजिकै रगत लतपतिएको तीखो ढुंगासमेत भेटिएको छ।  डिएसपी रवीन्द्रमान गुरुङले दोषीलाई हदैसम्मको कारबाही हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.