|

  •  'आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु पहिले पेट्रोल पम्पहरूलाई थाहा हुन्छ रे नि?', सांसद विमल श्रीवास्तवको प्रश्‍न थियो नेपाल आयल निगमलाई।
  • 'अनुगमनमा जानुभन्दा पहिले नै व्यापारीहरूलाई थाहा हुन्छरे नि?', सांसद नवराज राउतको प्रश्‍न थियो वाणिज्य आपूर्ति तथा संरक्षण विभागलाई।
  • 'अनुगमनमा जाँदा व्यापारीको समूह पनि मिसाउनुपर्छ भन्ने निर्णय संसदीय समितिबाट किन हुन्छ?', उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको जिज्ञासा थियो संसदीय समितिलाई।

काठमाडौं : बुधबार दिउँसो ११ बजेदेखि सिंहदरबारमा उपभोग्य सामानको मूल्य वृद्धिका सम्बन्धमा घनीभूत छलफल चलेको थियो। छलफल चलाउने समिति थियो- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति। कसैको फोन आयो वा कसैलाई खोकी लाग्यो भने बैठक कक्षसँग टाँसिएको अर्को हलमा जान्थे, जहाँ बैठकमा बोलिएका सबै कुरा सुनिन्छन्। समिति सभापति विमल श्रीवास्तव पनि दुई पटकसम्म त्यो हलमा गए।

बहस चलिरहेको थियो। सांसदले प्रश्‍न सोधिरहेका थिए। नेपाल आयल निगम, विभाग तथा मन्त्रालयका पदाधिकारीले सक्दो जवाफ दिने प्रयास गरिरहेका थिए। नेपाल आयल निगमका निर्देशक बोल्ने क्रममा मन्त्री यादवको फोनको घण्टी बज्यो।

उनी पनि सँगै जोडिएको अर्को कोठामा गए। फोन छिटो सक्ने प्रयास गरिरहेका थिए। ‘म अहिले समितिको बैठकमा छु पछि कुरा गरौँला’, ढोकाका छेउमै बसेर भनेको भएर बैठक हलमा उनको यो कुरा सुनिएको थियो।

कुरा महत्त्वपूर्ण थियो होला। फोन काटिएन। फेरि भित्र गएर कुरा सकेर उनी हलमा प्रवेश गरे। सबैको ध्यानाकर्षण गर्ने गरी फेव्रिकेटको भित्ता बजाएर ध्वनि निकाले। धेरैको ध्यान त्यतातर्फ पर्‍यो।

माइकमा बोलिरहेका गोइतले भने पत्तो पाएका थिएनन् अनि मन्त्री बोले- 'एकछिन है एक छिन।' त्यसपछि बोल्न छाडे गोइत।

त्यसपछि उनले समिति सभापतिसहित सचिवालयका कर्मचारीलाई सोधे- 'उता बसेको को हो?' 

सबै अचम्म परे- को हो? को हो?

'यसरी महत्त्वपूर्ण समितिको बैठक कोही बसेर एनजिओको मान्छेले सुराकी गरेजस्तो देखिन्छ। भएन नि यसरी', माइकबाहिर बोलिरहेका उनले भने, ‘तपाईंहरूले ध्यान दिनुपर्छ, संसदीय समिति भनेको शक्तिशाली हो, यहाँ विविध महत्त्वपूर्ण विषयमा छलफल हुन्छन्।' उनले थपे, 'प्रेसका मान्छेहरूलाई पनि फोटो खिच्न सुरुमा बोलाउने होइन भने छलफलमा राख्नु उचित छैन।' उनको यो कुरामा केही सदस्यले टेबुल बजाएर समर्थन जनाए भने सभापतिले अबदेखि नराख्ने संकेत गरे।

त्यसपछि भने उता कसलाई हो, हटाउन सभापतिले कर्मचारीलाई निर्देशन दिए। एक कर्मचारी गएर उता बस्नेहरूलाई बाहिर निस्कन आग्रह गरे। हलसँगै जोडिएको कोठामा बस्ने व्यक्ति भने सभापतिले नै बोलाएको बताइएको छ तर उनले भने आफूलाई थाहा नभएको संकेत गरे।

ती व्यक्ति उपभोक्ता अधिकारकर्मी विमला खनाललगायतका थिए। ‘हामीलाई सभापतिले नै उता राख्नुभएको थियो अनि जनताको मन्त्रीका कुरा सुन्दा के बिग्रन्छ’, खनालले थाहाखबरलाई भनिन्।

यस घटनापछि आयल निगम, विभाग र मन्त्रालयलाई सुराकी पहिले जान्छ भन्ने प्रश्‍नको उत्तर दिन पाए मन्त्री यादवले र भने, 'यसै गरी।' उनले थपे, 'अहिले जसरी नै कुरा बाहिर गएको हुन्छ। हामीले कन्ट्रोल गर्ने प्रयास गरेका छौँ।’ उनले सबै कुरा सुनिने गरी अर्को कोठामा मान्छे राखेको भन्दै समिति सभापतिसँगै असन्तुष्टिसमेत जनाए।

बैठकमा बोलाइएका अधिकारी बोल्ने क्रम सकियो। २ बजे प्रतिनिधिसभाको बैठक थियो। सबै केही सदस्य थप बोल्न खोजे। बैठक सक्नका लागि बोल्ने क्रम रोकेर आमन्त्रितहरूलाई पठाइयो। सँगै मिडियाकर्मीलाई पनि उनले पहिले मन्त्री यादवलाई दिएको प्रतिवद्धता पूरा गरेका थिए तर निर्णय सुनाउन बाहिर भएका मिडियाकर्मीलाई भित्र बोलाउनुको सट्टा सभापतिले बाहिर पठाए।

‘आज केही निर्णय हुँदैन र सभापतिज्यू’ पत्रकारको प्रश्‍नमा ‘के निर्णय हुन्छ वा हुँदैन हामी सल्लाह गर्छौं, तपाईंहरू बाहिर जानुपर्‍यो’ सभापति श्रीवास्तवले पुन: अनुरोध गरेपछि मिडियाकर्मी बाहिर निस्किए।

समितिका सचिव कृष्णहरि खड्काका अनुसार बैठकपछि निर्णय भने केही पनि भएन ‘निर्णय गर्नका लागि मैले थुप्रै बुँदा टिपोट गरेको थिएँ तर के गर्नु?’ सचिव खड्काले भने।

हावी मन्त्री

समिति सदस्यहरूले सोधेका प्रश्‍नको चित्तबुझ्दो उत्तर दिनका लागि मन्त्रीलाई समितिमा बोलाइए पनि बैठकका सभापति भने मन्त्री नै भएजस्तो अनुभूति गराएका थिए। समितिलाई कस्ता काम गर्ने नगर्नेदेखि सदस्यहरूलाई के बोल्नेसम्म सिकाउने प्रयास मन्त्रीले गरे।

नेपाल आयल निगम प्रतिनिधिले दिएको जवाफमा चित्त नबुझाएर सदस्य रामवीर मानन्धरले राखेको प्रतिप्रश्‍नमा मन्त्रीले हस्तक्षेप गरेर ‘त्यस्ता कुरा छोडिदिनुहोस् न’ भनेर आग्रह गरे। केही सदस्यले आफ्ना जिल्लामा संचालन गर्ने उद्योगका विषयमा प्रगति के भएको छ? दशैँमा घर जाँदा के उत्तर दिने? भन्ने विषयमा राखेको जिज्ञासा ‘निर्वाचनको बेला भोट माग्न जाने नेताहरूले अहिले उत्तर दिन सक्नुहुन्छ’ भन्दै हलुका जवाफ दिए।

सबै कार्यक्रममा तोकिएको समयभन्दा पहिले पुग्ने मन्त्री यादवले विषयवस्तुमा बसेर प्रभावकारी छलफल गर्नसमेत समिति सदस्यहरूलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.