|

दार्चुला : व्यास ६ बसेडीका स्थानीय अम्बादत्त भट्ट सपरिवार बिहान ५ बजे नै घरको उत्तरतिर रहेको धानखेतमा पुग्छन्, धान काटेर धानको बोटमा रहेको पानी सुकाउन खेत (गह्रा) मै फैलाउँदै जान्छन्। 

गनेर पाँच गह्राको धान काटेर दिउँसोका खाना खान घर जान्छन्। खानेबित्तिकै खेतमा पुग्छन् र सुकाउन राखिएको धान बटुल्दै अँगालोमा हाल्दै कुन्यु बनाउँछन्। यतिबेलासम्म दिसँसोको करिब ४ बजिसकेको हुन्छ। आकाशमा बादल मडारिँदैछ, हतार हतार कुन्यु बनाउँछन् र दुई कुन्युका बीचमा धान माड्ने खलो बनाउँछन्।

तीन दिन अगाडि बनाइएको कुन्युको धान माड्न ७० काटेका सोही गाउँका जंगबहादुर बम नाति लिएर खेतमा पुग्छन्। पैतालाले धान माड्न थाल्छन् नातिसँगै। धानको तिखोपनले घोच्दाघोच्दा जंगबहादुरको पैतला त दुख्दैन तर नाति जितेन्द्र भने सहन सक्दैनन्। धान माड्ने अर्को तरिका छैन, बिहानैबाट धान माड्न सुरु गरे पनि बेलुकीसम्म पनि उनले धान कुन्यु लगाउन सकेका हुँदैनन्। आकाशबाट पानी पर्ने डर छ। त्यसैले दुवै सरासर धान माड्छन्।

बिहान करिब ४ बजे नै उठ्छिन् सोही वडाका ४५ वर्षीया कलसा कुवँर। गोठपात गर्ने, दुध दुहुने, मोही पार्ने र चुल्हो लिपेर चियासँगै बिहानको खाना बनाउँछिन्। यी सबै काम उनी उज्यालो नहुँदै भ्याउँछिन्। उज्यालो हुनेबित्तिकै उनले धान काट्न खेतसम्म पुग्नुपर्छ। खेतको काम नसक्दै दिउँसोका खाना बनाउने र एक दिनको काम भ्याएर बेलुकीको खाना बनाउने र गोठपात गर्ने जिम्मेवारी पनि कलसाको नै हो। 

असोजको मध्य हुन लाग्दा पनि झरीले छोडेको छैन। धान पाकेर खेल पहेँलपुर भएको छ, नभित्र्याए सुख छैन त्यसैले बिहान ४ बजेदेखि बेलुकी ९ बजेसम्म खेत कै काम गर्न गाउँलेहरु व्यस्त रहने स्थानीय शिक्षक देवदत्त भट्ट बताउँछन्। उनी बिहान साढे ९ बजेसम्म र बेलुकी ५ बजेदेखि खेतमै हुन्छन्। काम गर्ने सक्ने उमेरका बालबालिकासमेत बिहान बेलुकी खेतमै भेटिन्छन्।

पोहोरदेखि बृद्धभत्ता लिन सुरु गरेको जंगबहादुर बंम भन्छन्,‘अच्याल मर्या मान्सु भाड राख्द्या बेला हो (यो समय मरेको मान्छै घरमै लुकाएर राख्ने बेला हो)।’ सबैको दैनन्दिन एउटै हो, धान काट्ने, सुकाउने, कुन्यु बनाउने र कुन्यु बनाएको ३ दिनपछि माड्ने।

झण्डै १८ सय देखि दुई हजार मिटरको पहाड भए पनि अन्य ठाउँको तुलनामा अलि बसेको खेत भएकाले व्यास ६ बसेडिका स्थानीयले आधा वर्षसम्म खान धान उत्पादन गर्दछन्। खेतअनुसार तीन महिनादेखि वर्षदिनसम्म धान हुने स्थानीय बताउँछन्। कम्तीमा पनि तीन महिनासम्म पुग्ने धान फल्ने भए पनि खेती गर्न निकै दु:ख भएको किसानहरू बताउँछन्। धानको बिउ छर्ने बेलादेखि नै दु:ख शुरु हुने उनीहरूको भनाइ छ।

मकैभन्दा धानमा बढी मिहिनेत गर्नुपर्ने किसानहरू बताउँछन्। खेत बनाउने, छर्ने, गोडमेल गर्ने, छान्ने काम धान नपाक्ने बेलासम्म रेखदेख गरिराख्नुपर्छ। आधुनिक खेती प्रणाली त परै जाओस् धान भित्र्याउने तरिकासमेत परम्परागत भएकाले धान माडेर निफन्ने बेलासमेत दुख हुने स्थानीय धीरेन्द्र कुवँर बताउँछन्।

दुख गरेर लगाएको धान नपाक्दै सुक्दै जाने गरेको पनि किसानहरू दुखेसो गर्छन्। वर्षैपछि यसरी खेतमै धान सुक्ने रोग लाग्ने गरेकोले स्थानीय स्तरमै रहेको कृषि सेवा केन्द्रमा पनि किसानहरू बिरलै जाने गरेको कुवँर बताउँछन्। ‘यो वर्ष त झन् वर्षा पनि निरन्तर भइरहेकाले किसानलाई थप दुख भएको छ’, कुवँरले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.