दोहोरो जिम्मेवारी लिएका लेखापाल आश्विनीकुमारमाथि मुद्दा दिने गाउँपालिकाको तयारी

|

सिमकोट : सिमकोट गाउँपालिकाका लागि छुट्याइएको आर्थिक वर्ष ०७४/७५ सालको विनियोजित बजेट बैंकका कर्मचारीका लापरबाहीका कारण खार्पुनाथ गाउँपालिकाको खातामा ट्रान्सर भएको तथ्य खुलेको छ। गाउँपालिका र बैंक कर्मचारीहरूको लापरबाहीकै कारण एक करोड ५७ लाख ५२ हजार ६६७ रुपैयाँ खार्पुनाथ गाउँपालिकाको खातामा ट्रान्सफर भएको पाइएको हो। 

जिल्लामा आएको महालेखापरीक्षण कार्यालयबाट खटिएका टोलीले गाउँपालिकाकै श्रेस्ता निरीक्षण गर्ने क्रममा डेढ करोडभन्दा बढीको रकमको खर्च  भएको विवरण नभेटिएपछि गाउँपालिकामा उक्त रकमबारे खोजी नीति भएको सिमकोट गाउँपालिका कार्यकारी प्रशासकीय अधिकृत अर्जुन दर्जीले स्वीकार गरे। 
सिमकोट गाउँपालिकाका युवाले गाउँपालिकाले ठूलो परिमाणको रकम हराएको बारेमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानासमक्ष कारबाहीको माग गरे।

हराएको रकमको बारेमा खोजी गरिदिनका लागि र दोषी कर्मचारीलाई समेत कारबाहीको माग गर्दै युवाहरूले जिल्ला प्रशासन कार्यालय हुम्लामा उजुरी दिएको जिल्ला युवा समिति हुम्लाका अध्यक्ष कमल बोहराले बताए। यो विषय सार्वजनिक भएपछि गाउँपालिका र बैंकबीच आरोप-प्रत्यारोप चलिरहेको छ। असार मसान्तको सुरुदेखि अन्तसम्म  सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बजेटको रकम खर्च गर्दागर्दै हराएको शंका लागेको खुलासा गरे।

अध्यक्ष लामाले हराएको रकमको बारेमा बारम्बार जिज्ञासा राख्दा सिमकोट गाउँपालिकाका लेखापाल आश्विनीकुमार देवकोटाको जवाफ नपाएपछि आफू झनै  चिन्तामा परेकाे अध्यक्ष लामाको भनाइ छ। असार मसान्तको सुरुदेखि अन्तसम्म सिमकोट गाउँपालिकाका अध्यक्ष लामाले कार्यालयमा यस बारेमा सोधेको बताए। तर, सिमकोट गाउँपालिकाको गाउँसभाले विनियोजन गरेका योजनामा रकमअनुसार काम नभएपछि गाउँपालिकाले योजनामा कम भुक्तानी दिएर रकम सञ्चित गरेको छ। 

खातामा हस्ताक्षर गर्ने अधिकार नभए पनि सामान्य हिसाबकिताब राख्ने गरेका अध्यक्ष लामाले उल्टै लेखापाल आश्विनी कुमारले असारको अन्तसम्मै खातामा रकम नभएको भन्ने जवाफ पाएपछि आफू चुप लाग्नुपरेको बताए। गाउँपालिकाको खातामा डेढ करोडभन्दा बढी रकम हुनुपर्ने हिसाब राखेका अध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले ठूलो परिणमाको पैसा कता गयो भनेर लेखापाल देवकोटालाई बारम्बार सोधेको बताए। 

बजेट रकमान्तरको रहस्य

सिमकोट गाउँपालिकाको हराएको रकमको बारेमा राष्ट्रिय बाणिज्य बैंक नै अचमित भएको छ। तर, सिमकोट गाउँपालिकाको खाता चेक गर्दा त रहस्य अर्कै भेटियो। गाउँपालिका अध्यक्ष लामा र कार्यकारी अधिकृतले हराएको भन्ने रकम अन्त कतै नभएर गएको जेठ २७ गते खार्पुनाथ गाउँपालिकाको खातामा ट्रान्सफर गरिएको वाणिज्य बैंक सिमकोटका प्रबन्धक ठोक्रे विष्टले बताए। 'बैंकको स्टेटमेट हेरेपछि हामीलाई थप रहस्य थाहा भयो।' बैंकले भूलवश सिमकोटको रकम खार्पुनाथमा पठाएको रहेछ' गाउँपालिका अध्यक्ष लामाले भने।

खार्पुनाथ गाउँपालिकाले मिति २०७५ जेठ २४ गते लेखेको बैंक आदेश नं. ७ उल्लेख भएको चिठीमा खार्पुनाथका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाही र लेखापाल आश्विनीकुमार देवकोटाको संयुक्त हस्ताक्षर गरेकाे भेटिएको छ। बैंकलाई पठाएको चिठीमा, खार्पुनाथका कार्यकारी र लेखापालले आफ्नाे गाउँपालिकाको सञ्चित कोषको खाता नम्बर ४१९०३०४०१८१०२ उल्लेख गर्नुपर्नेमा सिमकोट गाउँपालिकाको सञ्चित कोषको खाता नम्बर ४१९०३०४०१८१०३ उल्लेख गरेको छ।

उक्त खाताबाट खार्पुनाथको ग–२–१–चालुको ४१९०३०२०१६१०२ मा ८७ लाख ५९ हजार ३३४ र ग–२–२–पुँजीगत ४१९०३०२०२६२०२ मा ६९ लाख ९३ हजार ३३३ गरी सिमकोटको एक करोड ५७ लाख ५२ हजार ६६७ रुपैयाँ खार्पुनाथ गाउँपालिकाको खातामा ट्रान्सफर गरिएको रहेछ। जुन कुरा आफ्नाेभन्दा पनि राष्ट्रिय वाणिज्य बैंकको कर्मचारीकै कमजोरी भएको खार्पुनाथ गाउँपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले आरोप लगाए। 

भुलवश गल्ती भयो : वाणिज्‍य बैंक 

एउटा गाउँपालिकाको रकम अर्को गाउँपालिकाको खातामा भुलवश ट्रान्सफर भएको  वाणिज्य बैंक हुम्ला शाखाका कर्मचारीले स्वीकार गरेका छन्। खार्पुनाथ गाउँपालिकाले सिमिकोट गाउँपालिको खातालाई आफ्नो भनेर पत्र पठाउँदा बैंकले नहेरी ट्रान्सफर भएर भुलवश काम भएको वाणिज्य बैंक हुम्ला शाखाका प्रबन्धक ठोक्रे विष्टले बताए। रकम पोस्टिङमा गलत भएको भए तत्काल खार्पुनाथ गाउँपालिकाको रकमबाट सिमिकोट गाउँपालिकाको खातामा रकम फिर्ता गराउनको लागि पनि सम्बधित निकायाले समयमै खबर नगरेकोले पनि समस्या भएको वाणिज्य बैंक हुम्ला शाखाका प्रबन्धक विष्टले बताए। उनले गाउँपालिकाका कार्यकारी अधिकृत र लेखापालले ठूलो गल्ती गरेको र उल्टै बैंकलाई दोष लगाएर उनीहरूको गैरजिम्मेवारी बनेको आरोप लगाए।  

दुवै गाउँपालिकाका जनप्रतिनिधि बेखबर

आफ्नै गाउँपालिकामा ठूलो रकमको लेनदेन हुँदासमेत दुवै गाउँपालिकाका जनप्रतिनिधिसमेत असार मसान्त सकिए पनि बेखबरमा रहे। 'गाउँपालिकाले आन्तरिक लेखापरीक्षण गरेपछि मात्र हराएको रकमबारे खोजीनीति भयो। सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले भने,'आफ्नै लेखापालकै कमजोरीले गर्दा अहिलेसम्म यो ठूलो रकम कता गयो भन्दा पनि आफू चुप लाग्नुबाहेक अरू विकल्प भएन।' 

कर्मचारीकै लापरबाहीले रकमकै खोजीमा गएको असारको सुरुदेखि नै तड्पिएका सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले खार्पुनाथ र सिमकोट गाउँपालिकाको लेखापालको दोहोरो जिम्मेवारी लिएका आश्विनीकुमार देवकोटाकै नाममा मुद्दा दिने नीतिगत निर्णय  गर्ने बताए। उता, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल भने यो रकम कता गयो आयो आफूलाई थाहा नभएको बताउँछन्। यसबारे अनविज्ञता प्रकट गर्दै उनी भन्छन्, 'यदि सिमकोट गाउँपालिकाको रकम आएको छ भने यो वर्ष रकम फिर्ता गर्न सकिँदैन।' सरकारले स्थानीय निकाय सञ्‍चालनका लागि स्थानीय तहकै कर्मचारीलाई जिम्मा लगायको यता पनि  गाउँमा भने कर्मचारीबाटै दुरुपयोग हुने गरेको छ। 

हराएको रकमको खोजीका लागि युवाद्वार प्रशासन कार्यालयमा उजुरी 

सिमकोट गाउँपालिकाबाटै नै ठूलो परिमाणको बजेट हराएपछि सिमकोट गाउँपालिकाका युवाले खोजीका लागि जिल्ला प्रशासन कार्यालय हुम्लामा उजुरी दिएका छन्। आफ्नाे गाउँपालिकाको ठूलो रकम हराएको बारेमा सिमकोटका युवाले छनबिनका लागि अख्तियारप्राप्त प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानासमक्ष लिखित उजुरी दिएका हुन्। युवाको दिएको उजुरी पत्रमार्फत मात्रै घटनाको जानकारी थाहा पाएको  र सम्बन्धित गाउँपालिकाबाट तीन दिनको म्यादसहित यथार्थ जानकारीको लागि विवरण माग गरेको प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.