मन्त्रालय र कार्यालय फरक-फरक जिल्लामा राखिने

|

धनकुटा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को राजधानी एकै ठाउँमा नहुने बताएका छन्। संघीयताको मर्म र भावनाको कदर गर्दै सबै मन्त्रालय, प्रदेशसभा, कार्यपालिकाका कार्यालयहरू फरकफरक जिल्लामा राख्ने बताएका हुन्।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा धनकुटामा भएको स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालय स्थापना तथा उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन्। ‘संघीयताको मर्मअनुसार प्रदेश १ सरकारको मन्त्रालय, प्रदेशसभा, कार्यपालिकाका सबै कार्यालय एउटै जिल्लामा हुँदैन,’ मुख्यमन्त्री राईले भने, ‘पायक पर्ने क्षेत्रअनुसार फरकफरक जिल्लामा प्रदेश सरकारका मन्त्रालय, कार्यपालिकाका कार्यालय राख्ने तयारी गरिएअनुसार धनकुटामा शिक्षा र स्वास्थ्यको निर्देशानालय खोलिएको हो।’

धनकुटामा शिक्षा र स्वास्थ्यको निर्देशानालय राख्ने छलफलमा निर्णयमा पुग्न प्रदेश सरकारलाई २ मिनेट पनि समय नलागेको भन्दै राईले भने, ‘प्रदेश १ का सबै जिल्लामा प्रदेश सरकारका कार्यालयहरु राख्ने प्रदेश सरकारको तयारी छ। ‘दशैंअगाडि प्रदेश सरकारका सबै कार्यालयहरू खुल्ने छन्,’ उनले भने, ‘त्यसको तयारीमा प्रदेश सरकार लागि परेको छ।’

‘धनकुटालाई प्रदेश सरकारले शिक्षा र स्वास्थ्य निर्देशनालयमा टार्ने खोजेको नसम्झनु होला यो त सुरुवात मात्रै हो’ राईले थपे ‘अरूपछि देख्दै जानुहुनेछ प्रदेशले धनकुटालाई के के दिँदो रहेछ।’ उनले सबैको सहमतिमा प्रदेशको नाम टुंग्याउने भएकाले छलफलमा रहेको बताए। प्रदेशको नाम पहिचान र प्राकृतिक कुन तरिकाले राख्ने भन्नेमा विवाद देखिएपनि त्यस्तो विवाद नरहेको केही दिनमै टुंगोमा पुग्ने राईले दाबी गरे।

सोही कार्यक्रममा बोल्ने धनकुटाका प्रदेशसभा सदस्यहरूले निरन राई, इन्द्रमणि पराजुली र कुशुम कुमारी श्रेष्ठ तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुहान र धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले प्रदेश १ को राजधानी धनकुटा बनाउन मुख्यमन्त्री राईसँग माग गरेका थिए। प्रदेशको भौगोलिक केन्द्र, हावापानी, पहाडी क्षेत्रको विकास सबै किसिमले धनकुटा प्रादेशिक राजधानी हुन अपरिहार्य रहेको  उनीहरूले बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.