|

काठमाडौ : कंचनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज (बिहीबार) ठीक दुई महिना पूरा भएको छ तर प्रहरीले अझै अपराधी पत्ता लगाउन भने सकेको छैन। निर्मला गत साउन १० गते साथी रोशनी बमको घर जाने भन्दै घरबाट निस्केकी थिइन्। सोही दिनबाट घर नफर्किएकी उनी साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन्।

उनको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले २५ दिनपछि दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो तर दिलीप निर्दोष भएको र प्रहरीले वास्तविक अपराधी जोगाएर उनलाई फसाउन खोजेको भन्दै स्थानीयले विरोध गरेका थिए। विरोध प्रदर्शनकै क्रममा एक जनाको ज्यानसमेत गएको छ। तर निर्मलाका हत्यारा भने अझै पत्ता लागेका छैनन्। स्थानीको भनाइ र मागलाई पुष्टि गर्न पक्राउ परेका विष्ट पनि रिहा भएपछि निर्मला बलात्कार र हत्याले थप गम्भीर मोड लिएको छ।

उता, प्रहरीसँग निर्मलाको योनीभित्र रहेको पुरुषको शुक्रकिटबाहेक अरू कुनै प्रमाण छैन। डिएनए परिक्षणकै अाधारमा विष्ट छुटेका हुन्। निर्मला हत्याको प्रमाणको रूपमा अहिले एउटै मात्र प्रमाण त्यही हो। उनको योनीभित्र रहेको पुरुषको शुक्रकिटकै आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ तर प्रगति भने शून्य छ। निर्मलाका हत्यारा पत्ता लाग्ने आशामा रहेका उनका परिवारसमेत अब निराश हुँदै गएका छन्। प्रहरी भने ढिलो चाँडोको कुरा मात्रै भएको र अपराधी पत्ता लाग्नेमा आशावादी रहेको बताइरहेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रद्युम्न कार्की पनि अपराधी पत्ता लाग्नेमा आशावादी रहेको बताउँछन्। ‘यत्रो मेकानिज्म लागेर अनुसन्धान भइरहेको छ, पत्ता लाग्ला कुनै अपराधको अनुसन्धान प्रक्रिया लामो हुन्छ’, उनले थपे, ’रानीबारी हत्या काण्ड १२ वर्षपछि पत्ता लाग्यो, ललितपुरको झम्सिखेल फादर ग्याफ्नेको हत्या काण्डले १८ वर्षपछि पूर्णता पायो।’

तर निर्मलाको हत्यारा सजिलै पत्ता लागिहाल्छ भन्नेका समहत हुन सकिने अवस्था छैन। हत्या हुँदा भेटिएका सबै प्रमाणसमेत करिब नष्ट भएसकेका छन् वा गरिएको छ। उसो त निर्मला हत्याबारे स्थानीयले आरोप लगाउँदै आएका तत्कालीन कंचनपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टका छोरा किरण विष्ट, आयुष विष्ट र एसपी डिल्लीराज विष्टकै समेत डिएनए परीक्षण गरिएको छ। यसको नतिजा भने आउन बाँकी छ।

डिएनए नतिजा नेगेटिभ आए अनुसन्धानको पाटो कसरी बढ्ला?

निर्मला बलात्कारपछि हत्या प्रकरणमा भेटिएका सबै प्रमाण प्रहरीकै लापरवाहीले करिब नष्ट भइसकेका छन्। प्रमाणका नाममा रहेको एक मात्र योनीभित्र रहेको पुरुषको शुक्रकीट हो। हाल प्रहरी यही माध्यमबाट निर्मला हत्याको हत्यारा खोजिरहेको छ।

सोही क्रममा प्रहरी प्रमुखदेखि उनकै छोरासमेत अनुसन्धानको दायरामा परेका हुन्। बुबा डिल्लीराज विष्ट, उनका छोरा किरण र आयुष विष्टको डिएनए रिपोर्ट आउन बाँकी छ। उनीहरूमध्ये कसैको डिएनए परीक्षण नेगेटिभ आएमा निर्मला बलात्कार र हत्या प्रकरणको एउटा अर्को अध्याय पनि समाप्त हुनेछ। तर प्रश्न यहाँ गम्भीर छ- यदि तीन जनाकै डिएनए रिपोर्ट नेगेटिभ आयो भने अनुसन्धान कसरी बढ्छ? यसको उत्तर दिन प्रहरीलाई समेत सहज नहुने एसएसपी कार्की बताउँछन्। 

 दुई महिनाको अवधिका यी घटना  

- साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मला ११ गते उखुबारीमा मृत फेला।

- साउन १२ गतेदेखी हत्याको विरोधमा अधिकारकर्मी सडकमा।  

- निर्मलाको हत्याको अनुसन्धानका लागि साउ १३ नमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी नायव उपरीक्षक अंगुर जिसी नेतृत्वको तीन सदस्यीय टोली कंचनपुर प्रस्थान।  

- निर्मलाको हत्या विरोधमा साउन १७ गते कंचनपुरका विभिन्न विद्यालय तथा कलेजमा अध्ययरत विद्यार्थीहरूबाट 'निर्मलालाई न्याय दे, हत्यारालाई पक्राउ गर'लगायतका प्ले कार्ड बोकेर जुलुस/विरोध प्रदर्शन।

- भदौ ४ गते सिआइबी र जिल्ला प्रहरी कार्यालय कंचनपुरको टोलीद्वारा निर्मला हत्याको आरोपमा दिलीपसिंह विष्टलाई सर्वजनिक।  

- भदौ ५ गते निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविक अपराधी बाहिर नल्याएको भन्दै स्थानीयद्वारा भीमदत्तनगर बजार बन्द।  

- भदौ ७ मा पनि बजार बन्द। हत्याको विरोधमा उत्रिएका स्थानीयबासी र प्रहरीबीच ठाउँठाउँमा झडप। २ बजे पछि प्रहरीद्वारा गोली प्रहार। आठ जना बढी स्थानीय र केही प्रहरी घाइते। प्रदेश ७ प्रहरी कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्द कंचनुर प्रस्थान।

गृह मन्त्रायद्वारा कंचनपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षक परिवर्तन गरिएको। जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डिएसपी ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाएर उनका ठाउँमा नयाँ सिडिओका रूपमा तारानाथ अधिकारी र नयाँ एसपीको रूपमा कुवेर कठायतलाई पठाइएको।

जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको। गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदिस्यीय छानविन समिति गठन। १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन।

- भदौ ८ मा फेरी प्रहरी र स्थानीयबीच झडप। प्रहरीको गोली लागी एक जनाको मृत्यु, दर्जनौँ घाइते। स्थिति तनावग्रस्त। कर्फ्यू जारी।

- भदौ १४ बाट कर्फ्यू पूर्ण रूपमा बन्द। स्थिति सामान्य बन्दै।

- भदौ १८ मा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको टोली अनुसन्धानका लागि कंचनपुर प्रस्थान।

- भदौ २६ मा निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका अभियुक्त दिलीपसिंह विष्ट रिहा। डिएनए रिपोर्ट नमिलेपछि विष्ट रिहा भएका थिए।

- भदौ ३० मा गृह मन्त्रलायका सहसचिव हरिप्रसाद मैनालीको समितिद्वारा गृह मन्त्रालयमा प्रतिवेदन पेस। सोही आधारमा एसपी डिल्लीराज विष्टसहित डिएसपी ज्ञानबहादुर सेटी, सिआइबीका डिएसपी अंगुर जिसीलगायत सात जना प्रहरी निलम्बित। समितिलाई एक साता म्याद थप। न्यायको माग गर्दै निर्मलाका बुबा यज्ञराज पन्त र आमा काठमाडौंमा।  

- भदौ ३१ मा प्रहरी प्रधानकार्यालयद्वारा तत्कालीन डिआइजी धीरु बस्नेतको नेतृत्वमा अर्को समिति गठन। समितिका सदस्यहरूमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरू रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकीसहित नौ जना।

- असोज ९ मा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिबाट गृहमन्त्रीलाई प्रतिवेदन पेस। छानविन समितिले बुझाएको प्रतिवेदनकै आधारमा अपराधी पत्ता लगाउने मन्त्री रामबहादुर थापाको भनाइ।

हालसम्म निर्मलाका हत्यारालाई पक्राउ गर्न प्रहरीले ५०० जना बढीलाई सोधपुछ गरेको जनाएको छ। तर हत्या कसले गर्‍यो, त्यो पत्ता लगाउन प्रहरी अझै अनुसन्धानमा रहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.