|

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको  अभियानतर्फ लागिसकेको अवस्थामा कुनै पनि बहानामा हुने हिंसा स्वीकार्य नहुने बताएका छन्।

काभ्रेपलाञ्चोकको मण्डन देउपुर–१२ ज्याम्दीमा नयाँ निर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गर्दै उनले पटकपटक अधिकारको लागि लडाइँ लडिसकेको र अब निर्माणको लडाइँमा लाग्नु पर्ने बेलामा हिंसाको कुरा स्वीकार्य नहुने बताएका हुन्। सरकारले शान्ति, समृद्धि र सुख चाहेकाले त्यसतर्फ दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गरे। उनले बढ्दै गएको हिंसाको घटनाप्रति इंगित गर्दै शान्ति र सुरक्षाको विषयमा घरभित्र नै राक्षसहरू पालेर परिवारको रक्षा हुन नसक्ने बताए। जहाँसुकै घटेका अप्रिय, दुःखद् र निन्दनीय घटनाको नेपाल सरकारले तीव्र विरोध, निन्दा र भर्त्सना गरेको बताए।

सो अवसरमा बोल्दै उनले स्वास्थ्य शिक्षा, खाद्य र आवासलगायतका मौलिक हकसँग सम्बन्धित कानुनको मस्यौदा संसदमा प्रस्ताव गरेको र त्यसको छिट्टै कार्यान्वयनमा आउने बताए। त्यससँगै स्वदेशी स्रोत र साधनलाई प्रयोग गरी विकासको काममा अगाडि बढ्न लाग्नु पर्ने सबैमा आग्रह गरे।

कार्यक्रममा नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले भवनसँगै आवश्यक पर्ने औषधि उपचारको ब्यवस्थापनको लागि कुनै पनि कुरामा कमी आउन नदिने प्रतिबद्धता ब्यक्त गरे। सो अवसरमा उनले स्वास्थ्य चौकीको लागि अभाव रहेको खानेपानी समस्या पूर्ति गर्न तत्काल आवश्यक सर्वे गरी लागत र योजनासहितको बजेट माग गर्न आग्रह गर्दै त्यसको कार्यान्वयन छिट्टै गरिनेसमेत बताए।

कोरिया रेडक्रसका नेपाल प्रतिनिधि सनि किमले भवन निर्माणबाट सो ठाउँका जनताले गुणस्तरीय सेवा प्राप्त गरी जीवनमा राम्रो सेवा र सुविधा उपभोग गर्न पाउनेमा विश्वास ब्यक्त गरे।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नन्दराज बस्तीले भूकम्पबाट ११४ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको र त्यसको निर्माण तथा पुनर्निर्माणका लागि विभिन्न संस्थाहरूले सहयोग गरेकाले सेवाग्राही र सेवा प्रदायक दुवैलाई हौसल्ला मिलेको बताए।

भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निर्माण गरिएको स्वास्थ्य चौकी भवन आवाससहितको रहेको छ। कुल ८३ लाख लागतमा सम्पन्न भवनको लागि स्थानीय रघुनाथ पराजुली, हरिप्रसाद पराजुली, नानीराम पराजुली, शिवराम पराजुली, निलकण्ठ पराजुली र मायादेवी पराजुलीले जग्गा दान गरेका थिए।

कोरियन रेडक्रसको सहयोगमा जिल्लाका विभिन्न स्थानमा १२ वटा निर्माण भइरहेकोमा ५ वटा निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिसकेको र बाँकी निर्माणाधीन अवस्थामा रहेको नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका अध्यक्ष रघुवर चौप्रधानले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.