|

अछाम : कमलबजार नगरपालिका–५ स्थित लोडिङ्गे भीरमा लगातार गइरहेको पहिरोका कारण यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्। मध्य पहाडी लोकमार्गअन्तर्गत लोडिङ्गेमा वर्षा सुरु भएदेखि लगातार पहिरो खसिरहेको छ।

छिनछिनमा खसिरहने पहिरो हरेक दिन पन्छाएर सडक बनाएर बर्खा कटे पनि पाँच दिनदेखि खसिरहेको सुख्खा पहिरोको कारण सडक ठप्प छ। सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि यात्रुहरु अलपत्र परेका हुन्।

सडक अवरुद्ध भएसँगै अछामको पूर्वी क्षेत्र हुँदै नेपालगञ्ज, सुर्खेत लगायतका क्षेत्रमा जाने सवारी साधन अलपत्र परेका छन्। पहिरोको कारण जिल्लाकोे पूर्वी क्षेत्रबाट शिक्षक सेवाको परीक्षा दिन डोटी जाने परिक्षार्थी  मारमा परेका छन्। परिक्षार्थी अमर धामीले भने ‘हिँडेर जान सकिएन। परीक्षा छुट्ने भो।’  सडकका कारण पूर्वी अछाम र जिल्ला सदरमुकामको सडक सम्पर्कसमेत टुटेको छ। 

साँघुरो बाटोमा माथिबाट पहिरो जान थालेपछि अछामबाट नेपालगञ्ज जाने सवारी साधन धनगढी हुँदै जाने गरेका छन्। सडकदेखि करिब दुई सय मिटर माथिबाट लगातार पहिरो खस्न थालेपछि पन्छाउन पनि अफ्ठ्यारो भएकाले सडक खोल्न नसकिएको सडक खण्ड निर्माण कम्पनी पीके निर्माण सेवा दाङका प्रतिनिधि तेजेन्द्र केसीको भनाइ छ। 

सडक अवरुद्ध हुँदा लामो दूरीका सवारी साधन जिल्लाको विनायक बजार र गैरीटाँड बजारमा बसिरहेका छन्। सडक खोल्ने प्रयास भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.