|

काठमाडौं : नेपाल घुम्‍न आएका अस्ट्रेलियन नागरिक पैसा झिक्नको लागि ठमेलमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम काउन्टर छिरे। एटिएमबाट पैसा झिक्न गएका उनको एटिएम कार्ड मेसिनभित्रै अड्कियो। भोलीपल्टै फर्कनु पर्ने उनी बैंकमा गुनासो सुनाएर अस्ट्रेलिया लागे। 

अस्ट्रेलिया गएको ४–५ दिनपछि एक्कासी उनको मोबाइलमा एटिएम कार्डबाट छ हजार डलर झिकिएको म्यासेज आयो। उनी अचम्ममा परे। नेपालस्थित साथीहरुलाई भनेर बैंकमा सम्पर्क गर्न लगाए। जिन्दगीभर बुल्गेरिया नपुगेका उनको बुल्गेरियाबाट छ हजार डलर झिकेको पत्ता लाग्यो। 

बैंकले प्रहरीको सहयोगमा अनुसन्धान सुरु गर्‍यो। अनुसन्धान गर्दागर्दै फेरी ८० हजार रुपैयाँ झिकेको म्यासेज बैंकका अर्का ग्राहकको मोबाइलमा पुग्यो। तर उनले रकम झिकेका थिएनन्, अरु कसैले नै उनको पासवर्ड प्रयोग गरेर रकम झिकेको पत्ता लाग्‍यो। तर कसलै पैसा झिक्यो? यो पत्ता लगाउन प्रहरीलाई झन्डै १ महिना लाग्यो। 

एटिएमबाट पैसा चोरी भएका कारण यसअघि पनि प्रशस्तै थिए। तर यस्तो चलाखीपूर्ण ढंगबाट पैसा झिक्ने चोर पहिलोपटक फेला परेको प्रहरीले बताएको छ। अनुसन्धान गर्दै जाँदा अवैध कार्ड र विदेशी मुद्राहरुसहित एक बुल्गेरियन नागरिकलाई पक्राउ गरेपछि सबै रहस्य खुल्यो। 

कसरी पत्ता लाग्यो ?

बुल्गेरियन नागरिक डिमो अट्नासोभ स्टेफानोभ गत असोज २१ गते नेपाल आएर ठमेलस्थित होटल जगतमा बस्दै आएका थिए। उनले ठमेल क्षेत्रका एटिएम बुथमा पसेर गोप्य क्यामरा फिट गर्ने र कार्डबाट डाटा लिने गर्दै आएका थिए।  उनले डाटालाई स्किमरको माध्यमबाट आफ्नो कार्डमा हालेर एटिएम बुथमा गई रकम निकाल्दै आएका थिए। 

डिमोले हिडेन् क्यामराकै माध्यमबाट अष्ट्रेलियन नागरिकको डाटा लिई बुल्गेरियामा रहेका आफ्ना साथीमार्फत छ हजार डलर झिक्न लगाएको अनुसन्धानले देखाएको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डिआइजी नवराज सिलवालले जानकारी दिए। 

‘क्यामरा नै एटिएम बुथमा फिट गरेर डाटा लिएको यो पहिलोपटक हो, यसरी डाटा लिई आफ्नो कार्डमा डाटा हालेर रकम झिक्दै आएको अवस्थामा पक्राउ गरेका हौं’, उनले भने– ‘उनले पछिल्लो पटक निकालेको ८० हजार रुपैयाँ डलर र युरोमा साटेर जान लागेको अवस्थामा पक्राउ गरेका हौं।’ 

विभिन्‍न बैंकका ग्राहकले पैसा नझिकेपनि आफ्नो मोबाइलमा पैसा झिकेको एसएमएस अर्लटबाट थाहा पाएपछि ग्राहकले बैंकमा उजुरी गरेका थिए। त्यही उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। एटिएम बुथमा भएको सिसिटिभीको भिडियो हेरेर हुलियाका आधारमा प्रहरीले बुल्गेरियन नागरिकलाई पक्राउ गर्‍यो। 

उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइएको र उनलाई बढीमा पाँच वर्ष कैद, विगो जरिवाना हुने पनि डिआइजी सिलवालले जानकारी दिए। 

कसरी बच्‍ने ?

जो कसैको पनि कुनै पनि बेला एटिएम कार्डबाट पैसा झिकिने अवस्था भएपछि प्रहरीले एटिएम कार्डबाट बैंकिङ कारोबार गर्ने सबैलाई सचेत रहन आग्रह गरेको छ। निक्कै नै सानो ‘हिडन क्यामरा’बाट डाटाहरु खिचेर लिने गरेको पाइएकोले प्रहरीले सचेत रहन आग्रह गरेको हो। 

‘एटिएम बुथमा रकम झिक्न जाँदा हिडन क्यामरा भए नभएको चेक गरेर मात्र कार्ड हाल्नको लागि हामी अनुरोध गर्दछौं’, डिआइजी सिलवालले भने ‘कसैले नदेख्‍ने गरी छोपेर पिन कोर्ड हाल्नुपर्ने भएको छ।’

उनले समय समयमा पिन नम्बर परिवर्तन गर्न पनि आग्रह गरे। आफुले गर्दै नगरेको कारोबारका बारेमा एसएसएस अर्लट आएमा तत्काल बैंकमा खबर गर्न पनि उनको आग्रह छ। 

सबै इस्ट–युरोपका मानिस 

यसअघि पनि प्रहरीले तीन विदेशी नागरिकलाई एटिएम कार्डबाट झिकिएको रकम र अवैध एटिएमसहित पक्राउ गरेको थियो। ब्युरोको प्रहरी टोलीले २०७१ मंसीर १ गते टर्किस नागरिक म्येमेट गुलिनलाई ४२ वटा अवैध एटिएम कार्डसहित पक्राउ गरेको थियो। उनीबाट पाँच हजार अमेरिकी डलर, २६ लाख रुपैयाँसमेत बरामद गरेको थियो।

यसैगरी २०७१ चैत्र ५ गते बुल्गेरियन नागरिक पेट्रोस्लाभ हृस्टोभलाई एक सय ७९ अवैध एटिएम कार्ड, ४० हजार अमेरिकी डलर, ५७ हजार युरो र १८ लाख नेपाली रुपैयाँ सहित पक्राउ गरेको थियो।

पछिल्लो पटक २०७३ साउन १७ गते रोमानियाली नागरिक पेड्रा औरिनलाई ६० वटा अवैध एटिएम कार्ड र दुई लाख ६४ हजार रुपैयाँसहित पक्राउ गरेको थियो। 
एटिएम कार्ड अवैध रुपमा प्रयोग गर्ने सबै इस्ट युरोपका मानिसहरु रहेको यो घटनाक्रमले बताएको डिआइजी सिलवालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.