विचार

भारतको ‘ठूल्दाइ’लाई जवाफ
SHARES

असोज १२, २०७५

    भारतको नाम चलेको कुनै नेताले नेपालको बारेमा नकारात्मक कुरा गरे त्यो नेपाली संचारमा आतंकको ‘भाइरल’ हुन्छ। किन? बेलायतले टुक्राटुक्रामा बाँडिएको भारतलाई एकीकरण गरेपछि हामीले कुन दिन भारतीय नेताहरूको मुखबाट नेपालप्रति सद्भावको बोली सुन्न पाएका छौँ? बरु पछिल्लो दशकदेखि भारतको नेपालप्रतिको पुरानो दृष्टिकोण भारतभित्रै चर्को आलोचनाको विषय भएको छ यतिबेला। उनीहरूले भनेका छन्, ‘भारतले आफ्नो ठूल्दाइको अहम् छाडेन भने नेपाल झनझन टाढा जानेछ।’ तिनले नै भनेका छन्, ‘नेपाल कहिल्यै कसैको उपनिवेश भएन। त्यसैले नेपालीहरू आफ्नो निर्णय आफैँ गर्न सक्षम छन्। यदि नेपालसँग भारत राम्रो सम्बन्ध चाहन्छ भने नेपाल होइन, भारतले नै सच्चिनुपर्छ।’

    यस्तो भन्नेहरूसँग सत्ता छैन तर यिनीहरूको बौद्धिकतालाई भारतको एउटा ठूलो समुदायले मान्छ। 

    अहिलेको सन्दर्भ हो, भारतीय सेनाध्यक्ष विपीन रावतको ‘भूटान र नेपालले हामीलाई कहिल्यै छाड्न सक्दैनन्’ भनी दिएको प्रतिक्रिया। यो बेलायती भारतको चेतना हो। अहिले पनि भारतको ठूलो संख्यामा यो मनोरोेग बाँकी छ। ‘भूपरिवेष्ठित’ शब्द नै यी दुई मुलुकको पीडा हो। त्यसैले हामी नभए तिमीहरूको घरमा चुह्लो बल्दैन भन्ने औपनिवेशिक चेतना हो भारतीय नेताहरूको। तर भारतको संरक्षित मुलुक मानिएको भूटानमा नवजागरण सुरु भएको छ। झण्डैझण्डै भारतको उपनिवेश जस्तो भएर बाँचेको भूटानले मुक्तिको पखेटा फट्फटाउन थालेको छ। उसले पनि चीनतिरै अनुहार फर्काएको छ। भारतले जति पेल्छ, चीनतिर त्यति ढल्किन भूटान बाध्य हुन्छ।

    जहाँसम्म हाम्रो नेपालको कुरा छ, यो विश्वमा कहिल्यै कसैसामु नझुकेको बहादुर राष्ट्र हो। यो हिटलरको सातो खाने बहादुर योद्धाहरूको देश हो। जबकि भारत अहिले पनि बेलायत मातहतको एउटा राष्ट्र हो। भारतलाई आफ्नो मातहत राख्न, भारत पाकिस्तानलाई टुक्र्याएर घर फर्किनुअघि नै बेलायतले खेल खेलिसकेको थियो राष्ट्रमण्डलको। राष्ट्रमण्डलको ‘प्रोटोकल’मा सबैभन्दा माथि बेलायती सिंहासन हुन्छ। अर्को अचम्मको कुरो, बेलायतले नेपाल जस्तो सानो देशमा दूतावास राखेको छ र दिल्ली जस्तो विश्वशक्ति बनेको मुलुकमा हाई कमिसन।

    दिल्लीको हाई कमिसन आफ्नै कार्यालय भएकाले नेपालबाट बेलायत जाने जुनकुनै नागरिकले पनि बेलायत जानका लागि त्यही हाई कमिसनको ठप्पा लगाउनुपर्छ। सायद धेरैलाई थाहा छैन, आफ्नो पुरानो उपनिवेशमा जान बेलायतकी महारानीलाई भिसा चाहिँदैन। उनलाई दिल्ली ओर्लिन पनि भिसा चाहिँदैन। अहिलेसम्म भारतले हामी बेलायती सिंहासनबाट स्वतन्त्र छौँ। बेलायतले हामीसँग दूताबासीय सम्बन्ध राखोस् भन्न किन सकिरहेको छैन, त्यो कसैलाई थाहा छैन।

    यो पछिल्लो भनाइ मेरो कथा होइन। भारतकै भिन्नभिन्न संचार माध्यमको सूचनालाई मैले यहाँ एकत्रित गरेको मात्र हुँ। त्यसैले भारतीय अहंकारलाई सुन्ने बित्तिकै प्रतिकृया दिइहाल्नु जरुरी छैन। उनीहरू बोल्छन्, बोल्न दिनुपर्छ। हामीले अर्काको मुख किन थुन्ने!

    विपीन रावतको दम्भले हामीलाई शिक्षा देओस्। विपीन रावतको भनाइको सार भनेको भारतको इच्छाविरुद्ध नेपालले केही गर्न सक्दैन किनभने उनीहरू इन्धन र दालभात मात्र होइन, माछा–मासुमा समेत हामीमाथि आश्रित छन् भन्ने हो। माने नेपालीहरू परजीवी हुन् र यिनीहरू काम गरेर स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्दैनन् भन्ने हो। हाम्रो अल्छीपना, हाम्रो मरेको राष्ट्रिय संवेदनामाथि प्रहार हो। विपीन रावतलाई गाली गरेर हामी केही पाउँदैनौँ। हाम्रो व्यवहारले विपीन रावतहरूलाई जवाफ दिनुपर्छ, भारतले नेपालसँगको स्थलमार्ग बन्द गरे पनि हामी नेपाली मर्दैनौँ भनेर देखाउन सक्नुपर्छ।

    आधुनिक र व्यावसायिक खेती गरेरै सात रोपनी जग्गा भएको परिवारले वर्षको २५ लाख बढी कमाउन सक्छ। बाँच्नु भनेको खानु र लाउनु न हो। पेट भरिएपछि मानवअधिकार र ज्ञानगुनका कुरा उठ्न थाल्छन्। समाजमा ज्ञानको रेखो कोरिन्छ।

    काम गर्ने हिम्मत गर्ने हो भने त्यसो गर्न हामी समर्थ छौँ। हाम्रा सातै प्रदेश नेपालका बासिन्दाका लागि सुनखानी हुन्। मज्जैले मिहिनेत गर्ने हो भने हीरा खानी हुन्। म कुनै विषयविज्ञ होइन तर लगातार गरेको अध्ययनले मलाई यो निष्कर्षमा पुर्‍याएको हो। 

    त्यसैले संघीय सरकारले बिजुली उत्पादन गरेर भारतलाई बेचेर धनी हुने भ्रमबाट मुक्त हुनुपर्छ। इन्धनको आयात घटाउन भारतीय तेल ल्याउनुहँुदैन भनेर आपूर्ति मन्त्रालयले अठोट गर्‍यो भने अहिलेको स्थितिमा पनि हामी जताततै फ्याँकिएका तेलजन्य पदार्थका खानी उत्खनन् गर्न सक्छौँ। संघीय राजधानी ग्यासको खानीमा बसेको छ। हामी जेस्ट्रोफा खेती गरेर कम्तीमा पनि बस चलाउन सक्छौँ भन्ने सत्य प्रमाणित भइसकेको छ। 

    हिजो चामललाई अन्न र कोदोलाई कुअन्न भन्ने चेतना अहिले उल्टिएको छ। ठूलठूला मानिसहरू पनि स्वस्थ रहनका लागि कोदो र फापरको ढिँडो खान थालेका छन्। यी दुवै उत्पादन चुरेदेखि हिमाली बस्तीसम्म हुन्छन्। कर्णालीको चिनो र संखुवासभा, ताप्लेजुङको चिराइतो, अन्यान्य जंगलमा पाइने जडिबुटीले हाम्रो आवश्यकता पुर्ति गर्ने आधार जताततै भेटिएको छ। सिंगो तराई क्षेत्रमा धान र गहुँका बाला झुलाउन नसकिने छैन।

    आधुनिक र व्यावसायिक खेती गरेरै सात रोपनी जग्गा भएको परिवारले वर्षको २५ लाख बढी कमाउन सक्छ। बाँच्नु भनेको खानु र लाउनु न हो। पेट भरिएपछि मानवअधिकार र ज्ञानगुनका कुरा उठ्न थाल्छन्। समाजमा ज्ञानको रेखो कोरिन्छ।

    सबैभन्दा ठूलो भनेको कर्म हो। काम नगरी केही खान पाइँदैन भन्ने सत्यलाई जीवनको शिक्षा मान्ने हो भने हामी नेपालीले जति भूपरिवेष्ठित भए पनि भोेकै मर्नुपर्दैन, नांगै हिँड्नुपर्दैन।

    नेपालको सबैभन्दा दुःखद पक्ष के हो भने आफ्नो निकम्मापनप्रति ९० प्रतिशत नेपालीलाई लाज लाग्दैन। एक प्रतिशत मानिसहरू बन्दुकबाट सत्ता बदल्ने र स्वतन्त्र तराई राजको निर्माण गर्ने जस्ता बहुलठ्ठीपूर्ण काममा लागेका छन्। एक प्रतिशत मान्छे, वैदेशिक दलालीबाट बाँचेका छन्। सानो संख्या छ नेपालका इमान्दार नागरिकको तर तिनले नै आफूलाई अमरसिंह थापा बनाउनुपर्छ। तिनले कप्तान किनलक र जिलेस्पीलाई पराजित गर्नुपर्छ। नेपालका जयचन्दलाई नेपालीले नै चिन्नुपर्छ र तिनको उछितो काढ्नुपर्छ।

    मर्नु त छ नै एकदिन तर हाम्रो मृत्यु यस्तो होस्, जसप्रति सबैले सम्मान गरून्। हो, यसले त देशका लागि केही गरेको थियो भनून्।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]