'पार्टी र सरकारका कामबारे समीक्षा होस्'

|

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिका भ्रमणमा छन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिङ्गापुर गएका छन्। पार्टीका दुई अध्यक्ष विदेश भ्रमणमा रहेका बेला वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्रबार काठमाडौंमा स्थायी समिति सदस्यहरूको भेला बोलाए। भेलाको उद्देश्य चियापान बताइएको थियो। दशैं, तिहार, छठ लगायतका पर्वहरूका सन्दर्भमा आयोजना गरिएको चियापान कार्यक्रममा नेकपाका विदेशमा रहेकाबाहेक सबै सदस्यहरूलाई बोलाइए पनि सबैको उपस्थिति भएन। 

बानेश्वरको एउटा होटलमा आयोजना गरिएको चियापानमा काठमाडौंमै रहेका स्थायी समिति सदस्यहरूको पनि उपस्थिति भएन। नेकपामा ४५ जना स्थायी समितिका सबै सदस्य रहेका छन्। 

आफू विदेशमा रहेका बेला पार्टीका दुई अध्यक्ष ओली र दाहालले आफ्नो ढंगले प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव सिफारिस गरेको भन्दै रूष्ट भएका नेता नेपाल पार्टी सचिवालय निर्णय गर्ने निकाय नभएको बताउँदै आएका छन्। उनले सचिवालयले प्रस्ताव तयार पारेर स्थायी समितिमा पेस गर्नुपर्ने भएपनि सचिवालयले निर्णय गर्नु अवैधानिक भएको बताउँदै आएका छन्।

अध्यक्ष ओली अमेरिकाबाट फर्किएपछि प्रदेश नेतृत्वको टुंगो लगाउने सहमति गरेर आफू अफ्रिका भ्रमणमा गएको भएपनि सोही मौका छोपेर ओली अमेरिका नजाँदै दुई अध्यक्षले एकतर्फी निर्णय गरेको नेपालको दाबी छ। मुख्यतः दुई अध्यक्षले कार्यकारी भूमिकामा रहेका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई प्रदेश इञ्चार्ज दिएर दोहोरो जिम्मेवारी दिएर पार्टी नीति विपरीत काम गरेको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने नेता नेपालको माग छ।

चियापानमा नेता नेपालले सचिवालयले तोकेको प्रदेशको जिम्मेवारीमा आफ्नो असन्तुष्टी जाहेर गरेका थिए। उनले पार्टीभित्र चुनौती देखापरेको भन्दै गम्भीर भएर सामना गर्न उपस्थित स्थायी समिति सदस्यहरूलाई निर्देशन दिए। त्यसको सामना गर्दा विधि, पद्धति र प्रणालीलाई टेकेर गर्नुपर्ने नेता नेपालको भनाई थियो। ‘पार्टीलाई विधि, पद्धति, प्रणाली, प्रकृयाबाट अगाडि बढाऊँ। चुनौती धेरै छन्’, नेता नेपाललाई उद्धृत गर्दै नेकपा नेता घनश्याम भुषालले भने, ‘त्यत्रो धेरै आशा र अपेक्षाका साथ जनताले हामीलाई जिताएका छन्। मुलुक, जनता र राष्ट्रप्रति गम्भीर भएर हामीले त्यो दायित्व पूरा गर्नुपर्छ।’ उनले जनतासँग गरेका बाचा नभुल्न पनि आग्रह गरे।

पार्टीसँग भएका असहमतिहरू आफूले पार्टी नेताहरूसमक्ष दर्ज गरिसकेको भन्दै नेता नेपालले तत्काल स्थायी समिति बैठक बसेर यी समस्याहरूको समाधान गर्नुपर्ने बताए। तर, यसलाई अन्य अर्थमा नभएर पार्टीलाई एकताबद्ध कसरी बनाउने भन्ने प्रयासका रुपमा बुझ्न पनि उनले आग्रह गरे। नेपालले भने, ‘पार्टीका बैठकका निर्णयहरूप्रति मेरो असहमति पार्टी समक्ष मैले दर्ज गरिसकेको छु। त्यसबाट हामीले पार्टीलाई एकताबद्ध र बलियो बनाउन खोजेको हो।’

दुवै अध्यक्ष बाहिर भएको बेला यस्तो बैठक बोलाउदा कस्तो सन्देश जान्छ भन्ने पत्रकारको जिज्ञासामा नेता भुषालले त्यसले झनै गलत सन्देश नदिने नेकपा नेता वामदेव गौतमको भनाईले पुष्टि गर्ने जवाफ दिए। नेकपा नेता गौतमले दुई अध्यक्ष देशबाहिर रहेका बेलामा वरिष्ठताका आधारमा यस्तो बैठक बोलाउनु स्वभाविक रहेको बैठकमा बताएको नेकपा नेता रघुजी पन्ताले बताए। ‘दुवै अध्यक्ष देशमा नभएका बेला वरिष्ठ नेता नेपालले यसरी बैठकको आयोजना गर्नु सह्राहनीय रहेको छ। वरिस्ठताका हिसाबले पनि अनुभवका हिसाबले पनि यस्तो बैठक राख्नु ठिक छ’, नेता गौतमलाई उद्धृत गर्दै पन्तले भने, ‘छिटोभन्दा छिटो स्थायी समितिको बैठक राख्नुपर्छ। हामी पनि केही कुरा सुधार्छौं। पार्टीलाई कसरी जनतामा प्रभावकारी बनाउने र एकतावद्ध बनाउने? यसमा हामी चिन्तित छौँ।’

नेता नेपालले सरकार र पार्टी दुवैलाई कसरी प्रभावकारी बनाउने? पार्टीलाई कसरी एकतावद्ध बनाउने भन्ने निष्कर्ष निकाल्न छिटो स्थायी कमिटीको बैठक बस्नुपर्ने कुरा राखेका थिए। सहभागीहरूले उक्त कुरामा समर्थन समेत जनाएका थिए।

राय, सुझाव लिन चियापान

नेकपा नेता योगेश भट्टराईले पार्टी एकतापछि विकसित घटनाक्रमहरूका बारेमा पार्टीका निर्णय प्रकृयाहरू, पार्टीको हालको अवस्था, मुलुकको अवस्था, सरकारका सन्दर्भमा भएका टिकाटिप्पणीहरूका सन्दर्भमा वरिष्ठ नेता नेपालले स्थायी समितिका सदस्यहरूसँग राय, सल्लाह र सुझाव लिन जमघट राखिएको बताए।

केन्द्रमा दुई पार्टीबीच एकता भइसकेपछि प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनहरूबीचमा एकता गर्दा पार्टी प्रणाली कसरी स्थापित गर्ने?, केन्द्रीय निकाय, केन्द्रीय कमिटी, स्थायी कमिटीलाई कसरी प्रभावकारि बनाउने? भन्ने सन्दर्भको चिन्ता नै उक्त कार्यक्रम रहेको नेता भट्टराईले प्रतिक्रिया दिए।

पार्टी कमिटीहरूको नियमित बैठक कसरी बस्ने, नेताहरूबीचमा राम्रो समझदारीको वातावरण कसरी सिर्जना गर्ने भन्ने सन्दर्भको छलफलको रुपमा चियापान कार्यक्रमलाई उनले व्याख्यागरे। ‘नेताहरूबीच समझदारी भएन भने पार्टी चलाउन अप्ठ्यारो हुन्छ। सबैको आ-आफ्नो योगदान छ इतिहास छ’, नेता भट्टराईले भने ‘यस्तो अवस्थामा पार्टीलाई सामूहिक ढंगले अगाडि बढाउने सन्दर्भमा उहाँ (माधवकुमार नेपाल)ले राय, सल्लाह र सुझाव माग्नुभयो।’

नेता नेपालको कुरा सुनिसकेपछि अधिकांश स्थायी कमिटी सदस्यले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने, सरकारका कामकारबाही प्रभावकारी बनाउनुपर्ने, पार्टी नेताहरूबीचमा हार्दिकता हुनुपर्ने, स्थायी कमिटी, केन्द्रीय कमिटीलाई प्रभावकारी बनाएर लैजानुपर्ने लगायतका विषयमा सुझाव दिएका थिए। ‘अग्रज नेताका हिसाबले पनि माधव कमरेडलाई पहल गर्नका निम्ती पनि उहाँहरूले आग्रह गर्नुभएको छ’, भट्टराईले भने।

कस्ता आए सुझाव?

पार्टीका पछिल्ला निर्णयहरूले पार्टीले तय गरेको प्रणालीलाई स्थापित गर्न सकेन। सचिवालय भनेको प्राविधिक काम गर्ने, होमवर्क गरेर विषयवस्तु स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने भएपनि त्यसलाई तोड्दै सचिवालयले निर्णय गरेकाले पार्टी एकता गर्दाखेरि कार्यकर्ताको भावना, हिजोको पार्टीको अवस्था सबै कुरा ख्याल गरेर अगाडि बढ्न सहभागी नेताले सुझाव दिएको नेता भट्टराईले जानकारी दिए। ‘केन्द्रमा एकता भइसकेपछि बाँकी एकता भनेको कसैलाई पनि निषेध गर्नका निम्ती होइन। यसलाई अझ ठूलो शक्ति बनाउनुपर्छ’, चियापानमा भएका छलफलबारे जानकारी दिँदै उनले भने, ‘पार्टीलाई लोकप्रिय बनाउनुपर्छ। सरकारका काम कारबाहीका बारे समीक्षा गरेर प्रभावकारी काम गर्ने।’

त्यस क्रममा पार्टीका अध्यक्षहरूसँग राय परामर्श गरेर छिट्टै स्थायी कमिटी बैठक बस्नका निम्ती पहलकदमी लिने नेता नेपालले प्रतिवद्धता जनाएका थिए।

को-को आए चियापानमा?

बिहीबार संसदमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारबाहीप्रति चर्को असन्तुष्टी जनाए। सरकारले काम गर्न नसकेको भन्दै नेता नेपालले चर्को आलोचना गरे। गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायतका मन्त्रीहरूको नामै किटेर नेपालले उनीहरूले काम नगरेर के गरिरहेका छन् भन्दै प्रश्न गरे।

संसदमा निकै चर्किएका नेता नेपालले शुक्रबार पार्टीका स्थायी कमिटीका सदस्यहरूका लागि आयोजना गरेको चियापान कार्यक्रमलाई निकै महत्वका साथ हेरिएको छ। शुक्रबारको भेलामा पत्रकारलाई बोलाइएको थिएन। तर बानेश्वरस्थित इन्द्रेणी फूडल्याण्डमा आयोजना गरिएको चियापानमा पत्रकारहरू तोकिएको समय दिउँसो ३ बजे नै कार्यक्रमस्थल पुगिसकेका थिए। कार्यक्रममा नबोलाइएको भन्दै पत्रकारलाई प्रवेश भने दिइएन।

चियापान कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम,नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, भीम रावल, छविलाल विश्वकर्मा, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, देव गुरुङ, अग्नि सापकोटा, देवेन्द्र पौडेल, अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, गणेश शाह, रघुजी पन्त, गोकर्ण विष्ट, गिरीराजमणि पोखरेल, वर्षमान पुन लगायतका नेताहरू सहभागी थिए।

यी हार्डलाइनर, जो सहभागी भएनन्

चियापान कार्यक्रममा सबैलाई बोलाइएको भएपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाईनका 'हार्डलाइनर' मानिने केही नेताहरू भने सहभागी भएनन्।

सहभागीताका लागि निम्ता सबैलाई पठाइएको थियो तर ओली लाइनका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल वरिष्ठ नेता नेपालको चीया खान पुगेनन्। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यक्षेत्रमा भएका कारण आएनन् भने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल अहिले विदेशमा छन्।

यसैगरी अध्यक्ष प्रचण्डको 'हार्डलाइनर' मानिने नेताहरू गृहमन्त्री रामबहादुर थापा, जनार्दन शर्मा, वनमन्त्री शक्ति बस्नेत कार्यक्रममा देखिएनन्। मन्त्री वर्षमान पुन पनि कार्यक्रमको अन्तिमतिर आएर लगत्तै फर्किएका थिए।

नेता खनाल पनि आएनन्

कार्यक्रममा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएनन्। उनले काठमाडौंमा नै रहेर पनि आफू चियापानमा सहभागी नहुने प्रतिक्रिया दिएका थिए। नेता नेपालले आयोजना गरेको चियापानका सन्दर्भमा उनले अहिले आफ्नो गुट भनेको नेकपा रहेको र आवश्यक पर्दा आफ्नै गुट बनाउने प्रतिक्रिया दिएका थिए।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.