प्रतिपक्षीको बहिस्कारपछि नाम र राजधानी घोषणा

|

धनगढी : सात महिनापछि प्रदेश ७ ले स्थायी राजधानी र नाम पाएको छ। शुक्रबारको प्रदेशसभा बैठकको दुई तिहाइ बहुमतले प्रदेश ७ को नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरीस्थित तेघरी क्षेत्र राख्ने विषय स्वीकृत गरेको हो। हालसम्म कैलालीको धनगढी अस्थायी राजधाीको रूपमा रहेको थियो भने यसले प्रदेश ७ का रूपमा परिचय पाएको थियो। प्रदेशसभा दोस्रो अधिवेसनको ४५औँ बैठकले प्रदेशको नाम र राजधानी पारित गरेको हो।

प्रतिपक्षीको विरोध र बहिस्कार

शुक्रबारको प्रदेशसभा बैठक प्रतिपक्षले बहिस्कार गरेका छन्। बिहान ११:३० बजे बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले संसदमा उभिएर विरोध जनाएका थिए। सभामुख अर्जुनबहादुर थापाले तीन पटकसम्म बस्न गरेको आग्रह पनि उनीहरू टेरेनन्। सभामुख थापाले असहमतिको कुरा राख्न दलको नेतालाई आग्रह गरे।

प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले विशेष सुझाव समितिले ल्याएको प्रस्ताव मान्य नहुने बताए। ‘जंगल फडानी गरेर राजधानी बनाउने विषयमा हामी सहमत छैनौँ’ रावलले आक्रोश पोखे। रावलले धारण राखेपछि कांग्रेसले रोस्टम घेराउ गरेको थियो। उनीहरूले संसद संसदीय अभ्यासविरुद्ध गएको भन्दै नाराबाजीसमेत गरेका थिए।

कांग्रेसको विरोधपछि दुई घण्टा संसद अवरुद्ध भएको थियो। १ बजे आह्वान गरेको बैठक १ घण्टा ढिलो सुरु भएको थियो। पुनः सञ्चालन भएको बैठक पनि प्रतिपक्षीले बहिष्कार गरे। बहिस्कार पूर्वराजपाकी सांसद मालामति कुमारी रानाले विशेष सुझाव समितिले बुझाएको प्रतिवेदन मान्य नहुँने बताइन्। ‘राजपालाई समावेश नगराइएको समिति आधिकारिक छैन, यस्तो समितिले गरेको निर्णयमा हामी सहभागि हुन्नौँ, हामी बहिस्कार गछौँ’ रानाले भनिन्। रानाले बहिस्कार गर्ने बताए पनि काग्रेस र राजपा बाहिर निस्किएका थिए।

मतदानमा सत्तापक्ष मात्रै सहभागि

प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले संसद बहिस्कार गरेपछि सत्तारुढ दलका सांसदहरू भने मदतान प्रकृया सहभागि भएका थिए। सभामुखसहित ५३ जना प्रदेशसभा सदस्य रहेको यस प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका ३९ जना, कांग्रेसका १२ र राजपाका दुई जना सांसद रहेका रहेका छन्।

विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले पेस गरेको नाम र राजधानीको प्रस्तावमा नेकपाका वीरमान चौधरी र शान्ती नेपालीले समर्थन गरेका थिए। सुदूरपश्चिम प्रदेशको नाम र स्थायी राजधानी तेघरीमा हुनु पर्नेमा ३८ जना प्रदेशसभा सदस्यको मत परेको थियो।

विपक्षमा शून्य मत परेको थियो। ३६ जना पुगे दुई तिहाइ मानिन्छ। दुई तिहाइभन्दा बढीको मतले राजधानी र नाम स्वीकृत गरिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताए। ‘स्पष्ट दुई तिहाइ बहुमतले राजधानी र नाम पारित गरेका छौँ, मन्त्री शाहले भने 'अब कार्यान्वयन गर्छौँ।’

धनगढीमा आन्दोलन, अत्तरियामा दीप प्रज्वलन

प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने प्रदेश सरकारको निर्णयपछि अत्तरीयामा दीप प्रजोलन गरिएको छ। स्थानियले प्रदेशको स्थायी मुकाम गोदवरीमा भएको खुशीयालीमा दीप प्रज्वलन गरेका हुन्। दीप प्रज्वलनमा स्थानीय राजनीतिक दलका अगुवालगायत विभिन्न पेसा र सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो।

सांसद कृष्णराज सुवेदीले सदनबाट निर्णय भएको कुरा कुनै पनि आन्दोलनले रोक्न नसक्ने बताए। गोदाबरी नगरपालिकाको २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय भएको भन्दै शनिबार गोदावरी नगरपालिकाले विशेष कार्यक्रमको आयोजना गर्ने नगर प्रमुख हरि सिं साँउदले जानकारी दिए।

यता अस्थायी राजधानी रहेको क्षेत्रबाट स्थायी राजधानी सारिएको भन्दै धनगढीमा आन्दोलन चर्किने देखिएको छ। केही दिनदेखि प्रदेशसभा भवनअघि धर्ना र प्रर्द्धशन गर्दै आएकाहरूले शनिबारदेखि आन्दोलन चर्किने बताएका हुन्।

शुक्रबार एक बिज्ञप्ति जारी गर्दै आन्दोलनको आह्वान गरेको छ। संघर्ष समितीले जारी गरेको विज्ञप्तीमा बहुमतको आडमा जनभावनाविपरीत काम भइरहेको उल्लेख गरेको छ। संघर्ष समितिले राजधानीका लागि धनगढीमा धेरै खर्च भइसकेकाले गोदावरी सार्न नहुने बताउँदै आएको छ। हाल अस्थायी राजधानी रहेको धनगढीबाट स्थायी राजधानी परित गरिएको गोदावरी क्षेत्र २० किलोमिटरको दूरीमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.