|
फाइल फोटो

चितवन : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनले चाडवाडलाई केन्द्रित गरेर जिल्लामा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ। चितवनको नारायणगढमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको सहुलियत मूल्यको पसल आगामी कात्तिक २७ गतेसम्म चल्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए।

मुख्य चाडको दिनबाहेक शनिबार र बिदाको दिनमा पनि पसल खुल्ने निर्णयअनुसार शनिबार पनि पसलमा खाद्य सामग्रीहरू बिक्रीवितरण भइरहेको दाहालले बताए।

नेपाल सरकारको निणयअनुसार दशैं, तिहार र छठ पर्वका अवसरमा सर्वसाधारणलाई सहुलियतदरमा खाद्य सामग्री उपलब्ध गराउनका लागि पसल सञ्चालन गरिएको हो।

अहिले नारायणगढस्थित कार्यालयमै सहुलियत मूल्यको पसल सञ्चालन भएको जानकारी दिँदै दाहालले प्रतिव्यक्ति चिनी र नुन ६,६ केजीका दरले वितरण गरिएको बताए। यहाँ चिनीको मूल्य प्रतिकेजी ७० र नुन प्रतिकेजी १८ रुपैयामा बिक्री सुरु भएको छ। बजारमा नुनको २० देखि २२ रुपैयाँसम्म र चिनी बजारमा प्रतिकेजी ७५ रुपैयाँ भन्दामाथि बिक्री हुन्छ।

कर्पोरेसनले सहुलियत मूल्यमा नुन र चिनीका अतिरिक्त दाल, चामल, तेल, चियापत्ती, जिरा पाउडर, धनिया पाउडर, मिट मसलालगायत सामान समेत सहुलियत मूल्यमा बिक्री सुरु गरेको छ।

अहिले नुन, मसला, चिनी, दाल चामल, पिठो, तेललगायत ४८ खाद्य सामग्री बिक्री सुरु गरिएको र उक्त पसलमा बजार मूल्यभन्दा कम्तिमा दुईदेखि बढीमा २० रुपैयाँसम्म छुट पाइने कर्पोरेशनले जनाएको छ।

सहुलियत पसल बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालनमा रहने जनाइएको छ। सबै उपभोक्ताहरूको सहजीकरणका लागि खोलिएको सहुलियत मूल्यको पसलले बजार मूल्य नियन्त्रण तथा कालोबजारी रोक्न सहयोग पुग्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.