|

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले छापा सञ्चारमाध्यमलाई नयाँ मिडियाका कारण धेरै चुनौती रहेको बताएका छन्।

काभ्रेपलाञ्चोकको बनेपामा शनिबार प्रतिभा सम्मान प्रबन्ध गुठीद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ प्रविधिको सञ्चारले क्षण भरमा नै धेरै कुराहरूको जानकारी दिनेभएकाले छापा सञ्चारमाध्यमलाई चुनौती थपेको बताएका हुन्। नयाँ मिडिया(हातहातको मिडिया) शक्तिशाली भएर आएको कारणले अब छापा सञ्चारमाध्यम केही समयपछि विवरण राख्ने, विचार प्रस्तुत गर्ने माध्यम मात्रै हुने अवस्था आउन सक्ने बताए।

अहिले प्रविधिका कारण सबै चिजको सजिलो भएपछि प्रतिस्पर्धा ज्यादा रहेको र त्यसभित्र आफूलाई विश्वसनीय बनाउन जरुरी रहेको औँल्याउँदै मन्त्री बाँस्कोटाले थपे ‘विश्वसनीय नभईकन लोकप्रिय हुँदैन, लोकप्रिय नभईकन विज्ञापन नआउने भएकाले मिडिया हाउसहरू चल्ने सम्भावना नहुने भएकाले लागतको अवस्था बढ्ने परिस्थिति समेत रहेको छ।’

पत्रकारिता भोक, तिर्ख, पानी र जाडो कुनै पनि चिजको पर्वाह नगरी गर्ने चुनौतीको पेसा भएकाले युद्धकालको सेना जस्तो रहेको बताए। कतिपय अवस्थामा पत्रकारिता कर्म र धर्म कुन अवस्थाको हो भन्ने कुरा पत्रकार आफैँले छुट्याएर अगाडि बढेनुपर्ने अवस्थासमेत आएको उनको नभाई छ। ‘कर्म गरे अवश्य फल प्राप्त हुन्छ, तर धर्मले शान्ति मात्रै दिने भएकाले कुन अवस्थाको कर्म हो भन्ने कुरा आफैँले छुट्याएर अघि बढ्न आवश्यक छ’ उनले भने।

सो अवसरमा बोल्दै उनले सरकारले दीर्घकालीन विकासको कामलाई अगाडि बढाइसकेको हुनाले अब समाजमा स्थिरता छाएको उल्लेख गर्दै विस्तारै सामाजिक, राजनीतिक, सांस्कृतिक, कलाकारिता, साहित्य र पत्रकारिता क्षेत्रको विकासमा फड्को मार्दै जाने बताएका छन्। त्यसको लागि देश र माटोप्रति इमानदार बनेर काम गर्न सबैमा आग्रह गरे।

सो क्रममा मन्त्री बास्कोटाले कृष्णा ताम्राकारले लोकतन्त्र नभएको वेलाको सामान्ती ब्यहार र महिलामाथि हेर्न फरक दृष्टिकोणको अवस्थामा पनि गरेको पत्रकारिता सबैको लागि प्रेरणा बनेको बताए। ‘त्यो आफैँमा एउटा संघर्ष हो, उहाँको पत्रकारिताको ब्यहारिक अभ्यासले नयाँ अभ्यासकर्ताको रूपमा स्थापित गरेको छ’ बास्कोटाले भने।

गुठीका अध्यक्ष मोहन दुवालले समाजको लागि कम गर्नेहरूलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको र यस वर्ष पत्रकारिता जगतबाट समाजको लागि योगदान पुर्‍याएका ब्यक्तिहरूलाई सममान गरेको बताए। पत्रकार कृष्णा ताम्राकारले आफ्नो ईच्छा शक्ति र बोलीको शुद्धताकै आरण अहिलेसम्म पनि पत्रकारिता क्षेत्रमा टिक्न सकेको बताइन्।

कार्यक्रममा गुठीले समाजको काम गर्नेलाई सम्मान गर्ने उद्देश्यअनुरूप आयोजना भएको कार्यक्रममा तीन जना पत्रकारहरूलाई सममा गरिएको छ। सम्मानित हुनेहरूमा रेडियो नेपालका पत्रकार कृष्णा ताम्राकार, समाचारपत्र दैनिकका भगवती तिमल्सिना र नारी पत्रिकाका श्रृजना दुवाल श्रेष्ठ रहेका छन्। उनीहरूलाई नगद रु १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.